गत साउन १३ गतेको गोरखापत्रमा प्रकाशित ‘नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा’ सम्बन्धी समाचारको प्रभाव परेको छ।
समाचार प्रकाशित भएसँगै लुम्बिनी विकास कोषद्वारा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, निपनियामा दानव नदीले कटान गरेको पुरातात्त्विक स्थलको अनुगमन गरेको हो। उक्त स्थलको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यसहितको टोलीले अनुगमन गरेको छ।
कोषका पुरातत्व शाखाका प्रमुख हिमाल उप्रेतीका अनुसार सो स्थलको आकस्मिक उत्खनन गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दानव नदीले कटान गरेको पुरातात्त्विक स्थलको आकस्मिक उत्खननका लागि पुरातत्व विभागमा चिठी पठाइसकेको र सहमति आउनेबित्तिकै उत्खनन गर्ने बताउनुभयो। नदीको कटानका कारण किनारमा देखिएको कुषाणकालीन इनारलाई उत्खनन गरी भेटिएका संरचनालाई लुम्बिनीस्थित सङ्ग्रहालयमा राखिने प्रमुख उप्रेतीले बताउनुभयो।
नदीले कटान गरेको स्थलको सतहमा नै कालो रङका माटाका भाँडा, खैरो रङका माटाका भाँडा प्रशस्त मात्रामा भेटिने गरेकाले सो ठाउँ धेरै महत्वपूर्ण रहेको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो। केही वर्षयतादेखि दानव नदीले नगरपालिकाको सो क्षेत्रमा कटान सुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेषहरू एकपछि अर्को देखिँदै दानव नदीमा विलय हुँदै जान थालेका छन्। सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर नदीको धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्त्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेका छन्।
सन् १९६४ पछि सो स्थलमा कुनै पनि पुरातात्त्विक गतिविधि भएको छैन। सन् १९६४ मा भारतीय पुरातत्वशास्त्री एसबी देवले यस क्षेत्रको अध्ययन गरेका थिए। उत्खननको क्रममा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाको कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएको घैँटो, हातबाट बनाइएको भूदेवीको मुखौटो, साँढे, हात्ती, थाल, आरीलगायतका सामग्री पाइएको थियो।