नेभिगेसन मेनु

मन्दीकै बीचमा खुलेका ठूला उद्योग
सम्पादक:南亚网络电视
समय:2023-07-22 12:52

Artha~Samachar2023-07-22-07-40-24

गएको आर्थिक वर्ष सामान्यतः नेपालीका लागि सन्तोषजनक रहेन । आर्थिक मन्दीले सानादेखि ठूला उद्योगी–व्यापारीलगायत सर्वसाधारणसम्म सबैले कुनै न कुनै रूपमा आर्थिक संकटको सामना गरे । तर, ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ’ भनेझैँ मन्दीकै बीचमा पनि देशमा ठूला–ठूला उद्योग खुले वा सञ्चालनमा आए । एक आर्थिक वर्षमै देशमा कुल १ खर्ब ४३ अर्ब रुपैयाँ लागतका उत्पादन तथा सेवामूलक उद्योग–कलकारखाना स्थापना भए । 

व्यावसायिक घराना चौधरी ग्रुपले मन्दीकै बीचमा पाल्पाको सर्देवामा क्लिंकरबेस सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । गोल्छा ग्रुपले ०८० वैशाखमा नवलपरासीको रामग्राममा सामसङ टेलिभिजनको अत्याधुनिक कारखाना सञ्चालनमा ल्याएको छ । युवामाझ लोकप्रिय रोयल इन्फिल्डका बाइकहरू वीरगन्जमै एसेम्बल गर्न सुरु भएको छ । कतिपय व्यवसायीले मन्दीका कारण सञ्चालनमा रहेकै उद्योग पनि बन्द गर्नुपर्ने गुनासो गरिरहँदा देशमा ठूला–ठूला उद्योग स्थापना हुने वा सञ्चालनमा आउने काम पनि रोकिएको थिएन ।

१५ अर्ब लगानीको सिजी पाल्पा सिमेन्ट

चौधरी ग्रुपले हालै पाल्पाको सर्देवामा क्लिंकर उत्पादनसहितको सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । करिब १५ अर्ब रुपैयाँ लगानी गरिएको सिजी पाल्पा सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता चार हजार मेट्रिकटन छ । कोभिड महामारीका कारण उद्योग केही ढिलो सञ्चालनमा आएको हो । यस उद्योगले नवलपरासी दुम्किवासमा रहेको ग्रुपअन्तर्गतकै सिजी सिमेन्ट उद्योगलाई  क्लिंकर सप्लाई गर्ने बताइएको छ । 

दुई अर्ब लगानीको प्राइम सेरामिक्स

रौतहतको वृन्दावन नगरपालिका–६ मा प्राइम सेरामिक्स प्रालिले टायल उत्पादन सुरु गरेको छ । १४ असारदेखि बजारमा आएको ‘प्राइम टायल’ पूर्ण स्वचालित इटालियन प्रविधिबाट उत्पादन हुन्छ । यो देशकै दोस्रो टायल उद्योग हो । अघिल्लो वर्ष बारामा ‘नेपोभिट’ ब्रान्डमा टायल उत्पादन सुरु भएको थियो । प्राइम टायल उद्योगमा दुई अर्ब रुपैयाँ लगानी भएको छ । 

उद्योगले टायल उत्पादनमा ५० प्रतिशत स्वदेशी कच्चा पदार्थ (माटो) प्रयोग गरिरहेको प्राइम सेरामिक्सका अध्यक्ष आशिष गर्गले बताए । उद्योगबाट घरायसी, व्यापारिक, पूर्वाधार तथा सार्वजनिक स्थलमा प्रयोग हुने दुई सय ५० डिजाइनभन्दा बढीका वाल एवं फ्लोर टायल उत्पादन हुने बताइएको छ । यस उद्योगको दैनिक उत्पादन क्षमता डेढ लाख वर्गफिट रहेको छ । 

५० करोडमा रोयल इन्फिल्ड एसेम्बल

रोयल इन्फिल्डले त्रिवेणी समूहसँगको सहकार्यमा वीरगन्जमा एसेम्बली प्लान्ट स्थापना गरेको छ । आधुनिक प्रविधिले सुसज्जित एक लाख स्क्वायर फिटको सिकेडी प्लान्ट रोयल इन्फिल्डको पाँचौँ प्लान्ट हो । करिब ५० करोड रुपैयाँ लगानी भएको एसेम्बल प्लान्टबाट वार्षिक २० हजार युनिट बाइक एसेम्बल गर्न सकिन्छ । कम्पनीले पहिलो लटमै एसेम्बल गरेको क्लासिक ३५० र स्क्र्याम ४११ बजारमा ल्याइसकेको छ । 

६० करोड लगानीमा सामसङको कारखाना

कोरियन कम्पनी सामसङले गोल्छा समूहसँगको सहकार्यमा नेपालमै टेलिभिजन एसेम्बल सुरु गरेको छ । १३ वैशाखदेखि सञ्चालनमा आएको अत्याधुनिक फ्याक्ट्रीबाट ३२ देखि ८५ इन्चसम्मका टिभी उत्पादन हुन्छन् । विगत ११ वर्षदेखि सामसङका उत्पादन बिक्री गर्दै आइरहेका शेखर गोल्छाले करिब ६० करोड रुपैयाँ लगानीमा कारखाना स्थापना गरेका हुन् । 

सात अर्बमा दुईवटा केबलकार

आइएमई समूहले गत आर्थिक वर्षमा एकैपटक दुई ठाउँमा केबलकार सञ्चालनमा ल्याएको छ । बुटवलदेखि पाल्पाको वसन्तपुर र नवलपुरको गैँडाकोटदेखि मौलाकालिका जोड्ने केबलकार सञ्चालनमा आएका हुन् । बुटवलको २.६ किमि लामो केबलकारसँगै वसन्तपुरमा एक सय ५० कोठाको पाँचतारे रिसोर्ट, क्यासिनो पनि सञ्चालनमा आउने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । केबलकारमा डेढ अर्ब लगानी भएको छ भने अन्य संरचनामा साढे तीन अर्ब लगानी हुने अनुमान छ । यस्तै, मौलाकालिकामा पनि ५० कोठाको होटेल  निर्माण भइरहेको छ । त्यहाँ १.२ किमि लामो केबलकार र होटेलमा सहित दुई अर्ब लगानी हुने अनुमान छ ।

साढे १४ अर्बमा आठवटा ठूला होटेल

यसै वर्ष देशभरमा कुल सातवटा ठूला होटेल सञ्चालनमा आएका छन् । गत महिना पोखराको सेदीमा लक्जरी सेगमेन्टको दोर्जे रिसोर्ट एन्ड स्पा सञ्चालनमा आएको हो । २३ कोठा रहेको रिसोर्टमा कुल एक अर्ब लगानी भएको छ, जसमा चारवटा स्विट र १९ वटा डिलक्स रुम छन् । २५ वर्षदेखि पोखराको लेकसाइडमा ‘मुन डान्स रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका दोर्जे लामाले हाई एन्ड रिसोर्ट खोलेका हुन् ।  

काभ्रेको नमोबुद्धमा हालै लक्जरी रिसोर्ट दुसित थानी हिमालयन रिसोर्ट सञ्चालनमा आएको छ । साढे दुई अर्ब लगानी रहेको रिसोर्टमा भिल्लासहित ८५ कोठा छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको अगुवाइमा खुलेको रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ । इटहरीमा ८५ कोठाको पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी भीम पौडेल र बलराम आचार्यको डेढ अर्ब लगानी रहेको होटेलको व्यवस्थापन सोल्टी समूहले सम्हालेको हो । 

भैरहवाको अञ्चलापुरमा पाँचतारे सिद्धार्थ भिलासा खुलेको छ । साढे दुई अर्ब लगानी भएको होटेलमा ८५ कोठा छन् । गत वर्ष नै नगरकोटमा बैंकर पृथ्वीबहादुर पाँडे, विशाल ग्रुप र गोल्छा परिवारको करिब तीन अर्ब लगानीमा काव्य रिसोर्ट एन्ड स्पा सञ्चालनमा आएको छ । रिसोर्टमा विभिन्न प्रकारका २० वटा भिल्ला छन् । यस्तै, सुगतरत्न कंसाकारको परिवारले नगरकोटमा एक अर्ब १६ करोड लगानीमा तायो इको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । ३० रोपनी क्षेत्रफलमा रहेको रिसोर्टमा दुईवटा स्विटसहित ४२ कोठा छन् । बाराही हस्पिटालिटी ग्रुपले काठमाडौंको कान्तिपथमा सवा अर्ब लगानीमा चारतारे बाराही होटेल सञ्चालनमा ल्याएको छ । 

पाँच अर्बका दुई स्टिल उद्योग 

पुस ०७९ मा सुनसरीको दुहबीमा नयाँ रोलिङ मिल सञ्चालनमा आएको छ । पाँचजना व्यवसायी मिलेर साढे दुई अर्ब रुपैयाँ लगानीमा बजरंग ब्रान्डको टिएमटी छड उत्पादन गर्ने उद्योग खोलेका हुन् । उद्योगले दैनिक पाँच सय टन डन्डी तथा फलामजन्य सामग्री उत्पादन गर्छ ।  

गत वर्ष नै सारडा ग्रुप र राठी ग्रुपले संयुक्त लगानीमा मोरङमा प्रिमियर स्टिल बिलेट उद्योग सञ्चालनमा ल्याएका छन् । ९ माघदेखि उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको हो । १४ महिनामै तयार पारेको फर्नेस प्लान्टको दैनिक बिलेट उत्पादन क्षमता पाँच सय मेट्रिकटन छ । बिलेट उत्पादन गर्ने प्लान्टमा साढे दुई अर्ब लगानी भएको बताइएको छ । यसअघि दैनिक तीन सय मेट्रिक टन टिएमटी डन्डी बनाउने प्रिमियरको कारखानामा डेढ अर्ब लगानी भइसकेको छ ।

४० करोडको आरजु राइस मिल

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले मोरङको बेलबारीमा आरजु राइस मिल सञ्चालनमा ल्याएका छन् । उनले करिब ४० करोड रुपैयाँ लगानीमा अत्याधुनिक राइस मिल सञ्चालनमा ल्याएका हुन् । उद्योगमा ठूला चारवटा भण्डारणगृहसमेत बनाइएको छ । आरजु ब्रान्डको लङग्रेन चामल बजारमा उपलब्ध भइसकेको छ ।

थपियो करिब खर्ब लगानीको चार सय ९१ मेगावाट विद्युत्

गत आर्थिक वर्षमा चार सय ९१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २१ वटा जलविद्युत् र ६ वटा सोलार पावर प्लान्टको विद्युत् प्रसारण लाइनमा जोडिएको हो । नेपालमा विद्युत् उत्पादन लागत औसतमा प्रतिमेगावाट २० करोड रुपैयाँ मान्ने गरिन्छ । त्यसै आधारमा सो वर्ष सञ्चालनमा आएका जविद्युत् आयोजनाको लगानी एक खर्ब अनुमान गरिएको छ । हाल नेपालको कुल विद्युत् जडित क्षमता दुई हजार सात सय ५९ मेगावट पुगेको छ । गत वर्ष ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । १७ फागुनबाट व्यावसायिक उत्पादन थालेको यस आयोजनामा करिब १४ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै, एमभी दुगड ग्रुपले बनाएको ५५ मेगावाट क्षमताको लिखु टु को पनि अहिले परीक्षण सञ्चालनमा छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर