नेभिगेसन मेनु

असार सकिन लाग्दा देशभर २७ प्रतिशत मात्रै रोपाइँ
सम्पादक:南亚网络电视
समय:2023-07-08 12:36

Artha_Main-Asar-232023-07-08-08-39-43

मौसम विभागले गरेको यस वर्ष कम पानी पर्ने आकलनकै बीच धान रोपाइँ गत वर्षको तुलनामा कम भइरहेको छ । ढिलो गरी भित्रिएको मनसुनका कारण धान रोपाइँ गत वर्षको तुलनामा करिब १४ प्रतिशतले कम भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार असारको लगभग अन्त्यतिर आइपुग्दासमेत करिब २७ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही समयमा करिब ४० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । 

यही गतिमा भएको रोपाइँका कारण गत वर्ष साउनको दोस्रो हप्तासम्म देशभरमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । तर, यस वर्ष करिब २७ प्रतिशत रोपाइँ यो समयमा हुँदा सरकारले अनुमान गरेको १३ लाख ५७ हजार हेक्टर जमिनमा रोपाइँ सम्पन्न हुने सक्ने अवस्था देखिँदैन । हालसम्म तीन लाख ६२ हजार हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयको भनाइ छ । गत वर्ष ९२ प्रतिशत रोपाइँ हुँदा आर्थिक वर्ष ०७८/७९ को तुलनामा चालू आर्थिक वर्षमा चार लाख ३९ हजार मेट्रिकटन धान बढी फलेको थियो ।  

मनसुन अवधिभरको २५ प्रतिशत पानी एक महिनामा परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १८ जेठदेखि शुक्रबारसम्म मनसुन अवधिको कुल वर्षाको २५.२ प्रतिशत अर्थात् ३७०.४ मिलिमिटर पानी परेको हो । मनसुनका चार महिनामा एक हजार चार सय ७२ मिलिमिटर वर्षालाई औसत मानिन्छ । 

गत वर्ष पहिलो महिना ४०१.७ मिलिमिटर पानी परेको थियो । १८ जेठदेखिकै अवधिलाई मनसुन मानिने गरिए पनि यस वर्ष ३१ जेठमा मात्र मनसुन भित्रिएको थियो । ढिलो गरी मनसुन भित्रिएकामा अहिलेसम्म कोसी प्रदेशको मध्य र पहाडी क्षेत्र र बागमतीको पहाडी भेगबाहेक देशभर औसतभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए । ‘यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने आकलन नै गरिएको छ, अहिलेसम्मको अवस्थाले पनि त्यही देखाएको छ,’ मौसमविद् हुमागाईंले भने, ‘जुलाईमा अझ कम पानी पर्ने आकलन विभिन्न प्रारूपहरूले देखाएको छ ।’ जुलाईमा विशेष गरी नेपालका तराई र भारतको उत्तरप्रदेश, बिहार क्षेत्रमा सुक्खा हुन सक्ने चेतावनी दिइएको छ । 

यसपटक देशमा मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि मात्र देशभर मनसुनी वर्षा सुरु भएको थियो । मधेसको पश्चिमी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ढिलो गरी बर्खे झरी भएको थियो । साथै, पर्याप्त मात्रामा पानी नपर्दा यसपटक धान रोपाइँ विगतका वर्षहरूको तुलनामा कम हुने अनुमान कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार हालसम्म भइसकेको रोपाइँमा सबैभन्दा कम मधेस प्रदेशमा छ ।  उक्त प्रदेशमा ९ दशमलव ५३ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्ष सोही समयमा मधेसमा ३० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । 

सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा जेठको दोस्रोे सातादेखि नै रोपाइँ सुरु हुने हुँदा धान रोपाइँको प्रतिशत केही बढेको छ । तैपनि, अघिल्लो वर्षको तुलनामा २३ दशमलव ७३ प्रतिशतले कम रोपाइँ भएको छ । मधेस प्रदेश, गण्डकी र लुम्बनीमा मनसुन ढिलो गरी सक्रिय हुँदा रोपाइँ कम भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनले भने, ‘तराईमा साउनभरि रोपाइँ हुने हुँदा यसको प्रतिशत बढ्छ, कम पानी पर्ने अनुमान हुँदा विगतजस्तो रोपाइँ नहुन पनि सक्छ, अहिले नै भन्न सकिँदैन ।’ 

मल आपूर्तिमा सरकारको खेलाँची

मल अभावकै बीच किसानहरूले धान रोपाइँ गर्न बाध्य भएको नेपाल किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । सरकारले मल मौज्दात छ भन्दै आए पनि किसानले विनामल यसपटक पनि धान रोप्न बाध्य भएको उनको भनाइ छ ।

उनले भने, ‘किसानका गुनासोहरू आइरहेका छन्, मल पाइएन भन्छन्, हामीले सरकारलाई पटक–पटक भेटेर ध्यानाकर्षण गराए पनि सुनुवाइ हुन सकेको छैन ।’ कृषि मन्त्रालयका अनुसार हाल देशभरिको डिपोमा ७८ हजार मेट्रिकटन मल मौज्दात रहेको छ । 

जसमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया, पोटास र डिएपी गरी ३४ हजार मेट्रिकटन रहेको छ भने  कृषि सामग्री कम्पनी लिमिटेडसँग ४३ हजार नौ सय मेट्रिकटन मल रहेको छ । टेन्डर भएकोमध्येबाट एक लाख २७ हजार मेट्रिकटन रहेको छ । जसमा यसै साता पाँच सय २५ मेट्रिकटन डिएपी भित्रिएको छ । कृषि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रले मलको हाहाकार नभएको, तर केही स्थानमा आपूर्तिमा समस्या हुँदा अभाव भए पनि सम्बोधन हुने क्रममा रहेको बताए । उनले भने, केही स्थानमा आपूर्तिको कारणले अभाव भएको हुन सक्छ, तर समग्रमा मल अभाव छैन ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर