नेभिगेसन मेनु

'भारतीय पर्यटकले मन खोलेर खर्च गरे तर नोट नै चलेन'
सम्पादक:南亚网络电视
समय:2023-07-08 12:52

indian tourist muktinath1688624544

नेपालको पर्यटनमा दोस्रो सिजन मानिएको फागुन, चैत र वैशाखमा पोखराभरि भारतीय पर्यटक देखिए। नेपालीजस्तै भारतीय पनि मुस्ताङको मुक्तिनाथ यात्रामा पुगे। भारतीय गाडी र मोटरसाइकल पनि मुस्ताङमा देखिए।

भारतीय पर्यटक बढ्दा पोखरासहित अन्नपूर्ण क्षेत्रका व्यवसायी उत्साही थिए। अन्य देशका पर्यटकले भन्दा पछिल्लो समय भारतीय पर्यटकले धेरै खर्च गर्ने भन्दै व्यवसायीले पनि भारतमा पर्यटन प्रवर्द्धनका कार्यक्रम चलाए।

वर्षा सुरू हुनुअघि पोखरा र मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकको संख्या बाँकी विश्वबाट आएका भन्दा धेरै थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले राखेको तथ्यांकअनुसार गत पुस १७ देखि असार ५ सम्म मात्र ५० हजार ६ सय ८४ जना भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्र प्रवेशको अनुमति लिएका थिए। उनीहरूमध्ये अधिकांश मुक्तिनाथ यात्रामा गए।

जबकि यही अवधिमा भारतबाहेक अन्य देशबाट जम्मा ११ हजार ५३० जना पर्यटकले अन्नपूर्ण क्षेत्र प्रवेशको अनुमति लिएका थिए। अन्नपूर्ण क्षेत्र प्रवेश गर्दा विदेशी नागरिकले शुल्क तिरेर अनुमति लिनुपर्छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा विदेशी नागरिकले अनुमति लिए/नलिएको जाँच हुन्छ। जाँचमा अनुमति नलिएको पाइएमा जरिवाना तिर्नुपर्ने एक्यापले जनाएको छ।

अन्नपूर्ण क्षेत्र घुम्न आउने भारतीयको तथ्यांक रहे पनि पोखरा घुमेर फर्किनेको कुनै तथ्यांक छैन। मोटर बाटो भएर पोखरा आउने पर्यटकको संख्या पनि उत्तिकै रहेको व्यवसायीहरू बताउँछन्।

पोखरा घुम्न आएका भारतीयहरूले नेपालमा उनीहरूको आफ्नै देशको रूपैयाँ बोकेर आउने गरेको होटल स्नोल्यान्डका सञ्चालक गणेशबहादुर थापाले बताए।

'नेपालमा भारतीय रूपैयाँ चल्छ भनेर नेपाली रूपैयाँ बोकेका हुँदैनन्,' उनले भने, 'नेपालमा सय रूपैयाँको नोटबाहेक अरू चल्दैन। यसले हामीलाई समस्या परेको छ।'

कतिपय भारतीयहरू नेपालमा भारतको एटिएम कार्ड चल्ने विश्वासमा नोटसमेत नबोकी आउने गरेका छन्। गत साता मात्र होटल स्नोल्यान्डमा दुई जना भारतीय नागरिक नोट नबोकी आए। उनीहरूले ल्याएको कार्ड नेपालमा चलेन।

नेपालमा एटिएम नचलेपछि उनीहरूले क्यानडामा रहेका आफन्तलाई पैसा पठाइदिन अनुरोध गरे। क्यानडाबाट थापाको बैंक खातामा पैसा आउन ८ घन्टा लाग्यो। उनीहरूले पठाएको नेपाली ५० हजार रूपैयाँ आफूले निकालेर भारतीय पर्यटकलाई दिएको थापाले बताए।

'एटिएम चल्छ भनेर आउनेहरू पनि अहिले समस्यामा छन्। भारू बोकेर आउँदा हामीलाई समस्या छ,' उनले भने, 'भारतीय पर्यटक बढ्यो भनेर हामी हौसियौं। तर नोट नचल्दा समस्या भयो।'

थापाका अनुसार उनीसँग अहिले प्रशस्त भारतीय नोट छ। पाँच सय र दुई हजारका नोट धेरै भएकाले नेपालमा चलाउन समस्या भएको उनले बताए। यसअघि भारतीय पर्यटकले ल्याएको नोट पेट्रोल पम्पमार्फत साटफेर गर्ने गरेको थापाले बताए। अचेल पेट्रोल पम्पले पनि नोट लिन छाडेको उनको भनाइ छ।

होटल एसोसिएसन अफ नेपाल (हान) गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा मात्र व्यवसायीको हातमा करोडौं भारतीय रूपैयाँ रहेको बताए। यसबारे आफूले पोखराका मेयर धनराज आचार्यसहित विभिन्न फोरममा कुरा उठाउने गरेको बताए।

'पोखरा आएका हजारौं भारतीय पर्यटकले ल्याएको करोडौं भारू हामीसँग छ। साट्ने सुविधा भएन,' उनले भने, 'यसबारे सरकारले केही उपाय दियोस्।'

भारतीय पर्यटकले अन्य देशका नागरिकले भन्दा धेरै रकम खर्च गर्ने भएकाले पर्यटनमा सकारात्मक भए पनि नोटले समस्या परेको उनले बताए।

'भारतीय पर्यटक भारू बोकेर आउँछन्, नोट नचलाउँदा बस्न खान पाउँदैनन्,' उनले भने, 'एक्यापले प्रवेश अनुमति दिँदा लिने शुल्क पनि भारूमा लिँदैन, समस्या हामीलाई भयो।'

भारतीय पर्यटकले पोखरामा गरेको खर्चबाट जम्मा भएको नोट बैंकले किस्ता तिर्दासमेत नलिएको उनले बताए। नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय सय रूपैयाँको नोट मात्र चलाउन अनुमति दिएको छ। भारतीय पर्यटक भने भारू पाँच सय र दुई हजारका नोट लिएर आउने गरेको व्यवसायीहरूले बताए।

केही वाणिज्य बैंकले भारू सयको नोट पनि नसाटेपछि सुवेदी राष्ट्र बैंकको पोखरास्थित कार्यालय पुगेर गुनासो गरेका थिए। वाणिज्य बैंकले सयको नोट नसाटे कारबाही गर्ने चेतावनी दिएपछि मात्र बैंकले नोट लिएको उनले बताए। सय रूपैयाँबाहेक अन्य नोट भने व्यवसायीले साट्न पाएका छैनन्।

हानका अध्यक्ष सुवेदीले पोखराका व्यवसायीसँग पाँच लाखदेखि ५० लाखसम्म भारू जम्मा भएर बसेको बताए जुन सय रूपैयाँका भन्दा ठूला नोट छन्। यी नोट राष्ट्र बैंकले पनि साट्न नमानेको उनले बताए।

नेपाल राष्ट्र बैंकका सहायक निर्देशक धनञ्जय पराजुलीले नेपालको नियमका कारण भारू साट्न समस्या नभएको बताए। भारतीय रिजर्भ बैंकले नै नेपालमा सयको नोट मात्र चलाउन दिएकाले अन्य नोट सटही गर्न नसकेको उनले बताए।

'हामीले भारतबाट ल्याउने र भारतलाई बुझाउने भारू सयको नोट मात्र हो। त्यही भएर ठूलो नोट साट्न सक्दैनौं,' उनले भने, 'सय रूपैयाँको नोट जति पनि साट्छौं। भारतको नीतिका कारण अन्य नोट सटही गर्न हामीले मिल्दैन।'

पोखराका व्यवसायीसँग भएको भारतीय नोट नेपाल–भारत सीमा क्षेत्रमा सटही गर्न सकिने उनले बताए। नेपाल आउने पर्यटकले एसबिआई बैंकमार्फत डिजिटल भुक्तानीलाई जोड दिने र व्यवसायीले पनि भारतीय पर्यटकलाई नेपाली रूपैयाँ लिन अनुरोध गर्नुपर्ने उनको सुझाव छ।

भारतले दुई हजारका नोट आगामी सेप्टेम्बरदेखि नचल्ने घोषणा गरेकाले उक्त नोट छिटो साट्न पनि उनले सुझाव दिएका छन्।

पोखराका उद्यमी सिरोज विजय कोइरालाले भारतीय रूपैयाँ नेपालमा चलाउन नेपाल र भारत सरकारबीच समझदारी गर्न आवश्यक रहेको बताए। यसो गर्दा नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने उनको भनाइ छ।

'नेपालमा भारू चल्छ भनेर भारतीय पर्यटक त्यही बोकेर आउँछन्। उनीहरूलाई सीमामै नेपाली रूपैयाँ लिन लगाउनुपर्‍यो,' उनले भने, 'भारतीय कार्ड नेपालमा चलाउन सरकारले सहयोग गर्नुपर्छ। नेपालमा भारू चलाउँदा समस्या पर्ला जस्तो लाग्दैन।'

भारतको पञ्जाब बैंकसँग सहकार्य गरेको एभरेस्ट बैंक र भारतकै एसबिआई बैंकमार्फत कार्ड र डिजिटल भुक्तानी गर्न सके पारदर्शी पनि हुने उनले बताए।

होटल स्नोल्यान्डका सञ्चालक थापाले पनि नेपाल आउने भारतीय पर्यटकलाई नोट सटही गर्न सरकारले सहयोग गर्नुपर्ने बताए।

'भारतीय पर्यटक आउँदा खुसी हुने कि दुःखी,' उनले भने, 'भारतीयले मन खोलेर खर्च गर्छन्, तर नोट नै चलेन, समस्या हामीलाई भयो।'

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर