नेभिगेसन मेनु

अलिबाबा ग्रुपका मालिक ज्याक मा काठमाडौंमा
सम्पादक:南亚网络电视
समय:2023-06-28 12:55

thumb

काठमाडौँ — चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ धनाढ्य ज्याक मा नेपाल भ्रमणमा आएका छन् । हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौं विमानस्थलमा अवतरण गरेका हुन् । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका उनको जेटमा ६ जना चालक दलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

ज्याक माको काठमाडौं भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन । ‘उनी बिहीबार फर्कने कार्यक्रम छ,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘कहाँ–कहाँ घुम्ने र के–के कार्यक्रममा सहभागी हुने भन्नेबारेमा केही खुलाइएको छैन ।’ ज्याक माले मंगलबार द्वारिका, गोकर्ण र ह्यात होटल आसपास दिन बिताएका थिए । बिहीबार उनी काठमाडौंबाट पाकिस्तान जाने कार्यक्रम छ ।

ज्याकले टोकियो विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा हालै अध्यापन सुरु गरेको खबर सार्वजनिक भएको थियो । जुन १२ मा उनले जापान, चीन, भारत, मलेसिया लगायत देशका विद्यार्थर्मीाझ व्यवस्थापन सिद्धान्त र सफलता प्राप्ति विषयमा आफ्ना अनुभवमा आधारित ज्ञान साटासाट गरेका थिए । गत मेमा यस विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा नियुक्त भएका ज्याक अक्टोबर ३१ सम्म आबद्ध रहनेछन् ।

सन् २०१९ मा अलिबाबाको अध्यक्ष पद छाडेयता शिक्षणमा यो उनको पहिलो संलग्नता हो । उनले करिअरको सुरुवात अंग्रेजी शिक्षककै रूपमा गरेका थिए ।सन् १९६४ को सेप्टेम्बर १० मा एक परम्परागत संगीतकर्मी परिवारमा जन्मिएका उनको वास्तविक नाम मा युन हो । १२ वर्षको उमेरसम्म अंग्रेजी भाषाको स्वःअध्ययन गरेका उनले पर्यटकहरूलाई निःशुल्क गाइडेड टुर दिने गर्थे । पछि हाङझोउको टिचर्स कलेजबाट अंग्रेजी विषयमा स्नातक गरेपछि उनले मासिक १५ सय डलर बराबरको शिक्षकको जागिर पनि पाएका थिए । सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा उनले जागिरका लागि दर्जन पटक असफल भएको र हार्बर्ड विश्वविद्यालयमा १० पटक आवेदन दिँदा पनि भर्ना नपाएको बताएका थिए ।

सन् २०२० यताको झन्डै तीन वर्षपछि सार्वजनिक जीवनमा देखापरेका ज्याक पछिल्लो समय अनुसन्धान, शिक्षण, भ्रमण र नयाँ व्यवसाय विस्तारमा बढी केन्द्रित छन् । ज्याक मा फाउन्डेसनका प्रवक्ताले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई दिएको अभिव्यक्तिअनुसार ज्याक अबका केही समय चीन र विदेशमा प्रायः यात्रा गरिरहनेछन् । टोकियो विश्वविद्यालय जानुअघि चीनको दक्षिणपूर्वी सहर हाङझोउको युंगु विद्यालयका शिक्षकसँग उनले शिक्षा क्षेत्रबारे गफगाफ गरेका थिए । लगत्तै विश्व गणित प्रतियोगितामा सहभागी भई उनले प्रतिस्पर्धीलाई हौसला बढाएका थिए ।

ज्याकलाई हङकङ विश्वविद्यालयले पनि आगामी तीन वर्षसम्म आफ्नो बिजनेस स्कुलमा अध्यापनका लागि आमन्त्रित गरेको छ । गत मेमा उनले एक चिनियाँ शिक्षा–प्रविधि कम्पनीमा १ अर्ब डलर लगानी गरेका थिए । उक्त कम्पनीले यस्तो अनलाइन प्लाटफर्म विकास गर्दै छ, जसमार्फत विद्यार्थीहरूले विश्वका ठूला विश्वविद्यालयबाट पढ्न पाउनेछन् । लामै समय सार्वजनिक जीवनबाट हराए पनि उनको सम्पत्ति र वित्तीय अवस्थामा खासै धेरै परिवर्तन आएको छैन । उनको कुल सम्पत्ति ५० अर्ब डलरभन्दा माथि छ । सम्पत्ति व्यवस्थापनमा उनको भूमिका र व्यक्तिगत स्वभावमा भने पछिल्लो समय केही परिवर्तन देखिएको सञ्चारमाध्यमले जनाएका छन् ।

निर्धक्क बोल्ने व्यवसायीका रूपमा प्रख्यात ज्याक आजभोलि खासैकुनै अभिव्यक्ति दिइरहेका छैनन् । सन् २०२० मा चिनियाँ सरकारले सुरु गरेको प्रविधि क्षेत्रमाथिको नियमनको प्रयासको आलोचना गरेपछि उनी रहस्यमय रूपमा सार्वजनिक जीवनबाट हराएका थिए । त्योसँगै उनले स्थापना गरेर अमेरिकी कम्पनी अमेजनको हाराहारीमा पु‍र्‍याएको चिनियाँ एन्ट ग्रुप (अलिबाबालगायत १३ कम्पनी) मा पनि धेरै अधिकार गुमाउनुप‍र्‍यो । पहिले ५० प्रतिशत भोटिङ अधिकार रहेकामा हाल उनीसँग ६.२ प्रतिशत अधिकार मात्रै छ ।

सन् २०२० को अक्टोबरबाट सार्वजनिक कार्यक्रममा देखापर्न छाडेका ज्याक सन् २०२२ को नोभेम्बरतिर बल्ल जापानको राजधानी टोकियोमा देखापरेका थिए । त्यसयता आक्कलझुक्कल सार्वजनिक रूपमा देखिने गरेका छन् । उनी केही समयपछि थाइल्यान्डको राजधानी बैंककस्थित एक बक्सिङ म्याचमा झुल्किएका थिए  । २०२३ को मार्चमा भने उनी पहिलो पटक चीनको होङझोउमा भेटिए । अप्रिलमा अलिबाबा ६ वटा फरक निकायमा टुक्रिएको खबर आयो ।

विभिन्न रिपोर्टका अनुसार सार्वजनिक जीवनबाट गायब भएदेखि नै ज्याक मा परिवार र एक व्यक्तिगत सेफका साथ टोकियो बस्दै आएका छन् । सन् २०२० को सुरुका महिनादेखि चीन सरकारले प्रविधि क्षेत्रमा लागू गरेको नियमनको प्रयासबाट ज्याक समस्यामा पर्न थालेका थिए । त्यस वर्षको अक्टोबरमा एन्ट ग्रुप विश्व इतिहासकै सबैभन्दा ठूलो (३७ अर्ब डलर बराबरको) आईपीओ निष्कासन गर्ने तयारीमा थियो । त्यसअघि केही उच्च वित्तीय व्यक्तिसँगको बैठकमा ज्याकले विवादास्पद अभिव्यक्ति दिएका थिए । जसमा उनले चीनको वित्तीय प्रणालीको आलोचना गरेका थिए ।

ज्याक चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हुन् । एकदमै सावधानीपूर्वक पटक–पटक राष्ट्रपति सीका भनाइ समेत साभार गर्दै उनले आफ्ना भनाइलाई ‘अपरिपक्व, त्रुटिपूर्ण र हाँसउठ्दो’ भन्दै चीनका राज्य नियन्त्रित बैंकहरूलाई ‘कबाडी पसलेको मानसिकता भएको’ भनेर कडा प्रतिवाद गरेका थिए । उनको ‘चिनियाँ अधिकारीहरूको डिजिटल अर्थतन्त्र व्यवस्थापन एयरपोर्ट व्यवस्थापन गर्न रेलवे व्यवस्थापनको तरिका अपनाएको जस्तो’ भन्ने समेतका अभिव्यक्तिलाई कतिपयले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको तिक्तताका रूपमा पनि परिभाषित गरेका थिए ।

बीबीसी रेडियो फोरको एक अध्ययनका अनुसार उक्त भनाइलगत्तै ज्याकसहित उच्च अधिकारीलाई सरकारी उच्च नियमनकर्ताले डाकेका थिए । त्यसपछि चीन सरकारले एन्ट ग्रुपको उक्त आईपीओ निष्कासन नै रोकिदियो । ज्याकको व्यावसायिक साम्राज्यमाथिको कडाइ पनि बढाउँदै झन्डै २.८ अर्ब डलर बराबरको जरिवानासमेत लगाइदियो । यो भनाइपछि उनी २०२१ जनवरी अन्त्यसम्म कतै देखिएनन् ।

अलिबाबा र टान्सेन्टजस्ता प्रविधि कम्पनीहरू चीनमा असाध्यै शक्तिशाली हुँदै गएकोलगायत विविध कारणले चीनले प्रविधि कम्पनीहरूमा नियमन र कारबाही थालेको थियो । कोभिड महामारीलाई देखाएर चीनले विदेशी कम्पनीहरूलाई पनि कडाइ ग‍र्‍यो । हाल आर्थिक मन्दी र बेरोजगारी बढ्दै गएपछि चीनले आफू पहिलाजस्तै खुला र व्यवसायीहरूका लागि उदार रहेको संकेत दिन खोजिरहेको छ । यही कारण पनि ज्याकलाई सार्वजनिक जीवनमा फर्किन दिएर चीनले प्रविधि कम्पनीहरूप्रति आफू सकारात्मक रहेको जनाउ दिन खोजेको बताइन्छ । यो वर्ष चीनमा अमेरिकाका ठूला प्रविधि कम्पनीका प्रमुखहरूको भ्रमण बाक्लिनुलाई यो सन्दर्भसँग पनि जोडेर हेर्ने गरिएको छ ।

गत अप्रिलमा सन् २०१६ पछि पहिलो पटक अलिबाबाको १० करोड कित्ता सेयर बेचेर १० अर्ब डलर आम्दानी गरेका ज्याक त्यसलाई अहिलेका नवीनतम प्रविधिमा आधारित उद्यम र स्टार्टअपहरूमा लगाइरहेका छन् । उनले नेपालमा पनि लगानीको वातावरणबारे बुझ्ने र केही रणनीतिक साझेदारीका योजना बनाएको हुन सक्ने अपेक्षा गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर