नेभिगेसन मेनु

कस्तो छ मेटाले ३०० मिलियन डलर लगानी गरेको ट्विटरको प्रतिस्पर्धी एप ?
सम्पादक:南亚网络电视
समय:2023-06-10 18:05

thumb (19)

काठमाडौँ — अमेरिकी अर्बपति इलन मस्कले ट्विटर खरीद गरेयता विज्ञापन बजार र प्लाटफर्मको गुणस्तर मात्रै नभएर कम्पनीको समग्र बजार मूल्यमा पनि भारी गिरावट आएको छ । यसबाट सबैभन्दा उत्साहित कोही छ भने त्यो हो, फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटा । मेटाले ट्विटरजस्तै टेक्स्ट शेयर गर्ने एप बनाउने तयारी मात्रै गरेको छैन, सिलिकन भ्यालीका पछिल्ला रिपोर्टहरूलाई पत्याउने हो भने यस वर्षभित्रमा नै त्यसलाई सार्वजनिक गर्ने योजनामा रहेको छ ।

ट्विटरको प्रतिस्पर्धी मानिएको यो एपलाई अहिलेसम्म 'प्रोजेक्ट ९२' नाम दिइएको छ । इन्स्टाग्रामसँग सिंक हुनुका साथै अन्य एप पनि चल्ने भनिएको यो एपमा मेटाले लगभग ३०० मिलियन अमेरिकी डलर लगानी गरेको अनुमान छ ।

यस विषयका जानकारहरूलाई उदृत गर्दै वालस्ट्रीट जर्नलले प्रकाशित गरेको समाचारका अनुसार बिहीबार आयोजित मेटाका कर्मचारीहरूको एक बैठकमा मेटाका प्रमुख उत्पादन अधिकृत क्रिश क्रक्सले प्रोजेक्ट ९२ लाई ट्विटरको प्रतिस्पर्धी नै भनेर परिचित गराएका थिए ।

कर्मचारीहरूसँगको कुराकानीमा क्रक्सले थुप्रै प्रभावशाली व्यक्तिहरूले आफूलाई एउटा राम्ररी सञ्चालित हुने वा अझै लोकतान्त्रिक प्लाटफर्मको आवश्यकता महसुस भएको बताउने गरेका छन् । दलाई लामा, ओप्रा विन्फ्रीजस्ता सेलेब्रिटीहरूले मेटाको उक्त एप प्रयोग गर्ने वचन दिइसकेको पनि क्रक्सको भनाइ थियो ।

मेटाका उच्च अधिकारीहरूले यो एपलाई जतिसक्दो छिटो सार्वजनिक गर्न चाहेको पनि सो अवसरमा उनले उल्लेख गरेका थिए । उक्त बैठकमा उपस्थित मेटाका प्रमुख मार्क जुकरबर्गले भने प्रोजेक्ट ९२ बारे कुनै कुरा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनले त बरु एप्पलले हालै सार्वजनिक गरेको भिजन प्रो मिक्स्ड रियालिटी हेडसेट र आर्टिफिसियल इन्टेलिजेन्सको पछिल्लो प्रगतिबारे बोल्नमा समय खर्चिएका थिए । केही समयअघिका अन्तर्वार्तामा जुकरबर्गले प्रोजेक्ट ९२ परीक्षणको रूपमा सुरूआती चरणमै रहेको र यसमा धेरै काम गर्न बाँकी रहेको तर आफूहरू सो एपबारे अत्यन्तै उत्साहित रहेको बताएका थिए ।

उनले सो क्रममा आफूहरूले कुराकानीका लागि एउटा लोकतान्त्रिक प्लाटफर्म चाहेको जसमा एकदमै उच्च गुणस्तरका कन्टेन्ट सेयर होस् भन्ने योजना रहेको बताएका थिए ।

द भर्जले प्रकाशित गरेको प्रोजेक्ट ९२ को स्क्रीनग्य्राबमा पनि यो एप ट्विटरका धेरै फिचरसँग अत्यन्तै मिल्दोजुल्दो देखिएको छ । युजर इन्टरफेस (युआई) मा केन्द्रीकृत रूपमा ट्विटरको जस्टै टेक्स्ट-बेस्ड कन्टेन्ट शेयर भएको देखिने यो एपमा लाइक, शेयर, फेभरेटजस्ता बटनहरू पनि देखिन्छन् ।

साथै विभिन्न रिपोर्टहरूका अनुसार यो एपले रेडिटको शैलीमा प्रयोगकर्ताहरूलाई आफ्नो कन्टेन्ट सच्याउने सुविधा र फेसबुकको जस्तै आफ्नो रूचीअनुसारको कम्युनिटी निर्माणको अवसर पनि दिनेछ । इन्स्टाग्राममा आधारित एप हुने हुनाले यो प्लाटफर्ममा इन्स्टाग्रामकै जस्तो भेरिफिकेसन र आफ्नो इन्स्टाग्राम एकाउन्टको कन्ट्याक्ट र कम्युनिटी इम्पोर्ट गर्ने सुविधा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

मेटा आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्मको उचाइ र बजारमा एकपछि अर्को प्रतिस्पर्धीको प्रवेशले दबाबमा छ । सन् २०२३ को पहिलो त्रैमासिक आम्दानी र सेयर मूल्यमा बजार विश्लेषकहरूले आशा गरेभन्दा केही राम्रो गरेको मेटाको प्रयोगकर्ता बढ्ने क्रम रोकिएको छ ।

यो वर्ष मार्क जुकरबर्गको आम्दानीमा केही सुधार भएपनि २०२१ सम्म विश्वका ५ धनाढ्यमा पर्ने उनी अहिले फोर्ब्सको धनाढ्य लिस्टमा १२ औं स्थानमा झरेका छन् । यी लगायतका प्रतिस्पर्धाले ल्याएको दबाब कम गर्न मेटाले सन् २०२० यता आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा उल्लेख्य लगानी बढाएको छ ।

कम्पनीले १६ अर्ब डलरभन्दा बढी राशी एआईको शोध र विकासमा लगानी गरिसकेको छ । जेनेरेटिभ एआई प्लाटफर्महरूको सफलताले उत्साहित मेटाले आफ्नै जेनेरेटिभ एआई प्लाटफर्म बनाउने मात्रै नभइ आफ्ना कर्मचारीहरूको उत्पादकत्व बढाउन छुट्टै एआई च्याटबाट निर्माण सुरू गरेको छ ।

मेटाले आफ्ना प्लाटफर्महरूमा कन्टेन्ट सिफारिश, विज्ञापन, सुरक्षासँगै भर्चुअल रियालिटीको क्षेत्रमा एआईको भरपुर प्रयोग गर्ने नीति लिएको जुकरबर्गले उल्लेख गरेका छन् । एप्पलको ३५०० डलर पर्ने भिजन प्रोको प्रतिस्पर्धी मानिने मेटाको भर्चुअल हेडसेट ५०० डलरमै आउने र आफू आफ्ना उत्पादन प्रयोगकर्तामैत्री भएकोमा ढुक्क भएको दाबी जकरवर्गले बैठकमा गरेका थिए ।

प्रोजेक्ट ९२ ले मेटाको रोकिएको प्रयोगकर्ता वृद्धि फेरि बढाउन र ट्विटरसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन भन्ने विषय वर्ष २०२३ को हेर्न लायक प्रतिस्पर्धा हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर