काठमाडौँ — चारदिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल हालै स्वदेश फर्किइसकेका छन् । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएपछि सन् १९९० यता नेपालबाट भारतको द्विपक्षीय औपचारिक भ्रमण गर्ने दाहाल १८ औं प्रधानमन्त्री बनेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई शपथ ग्रहणमा नेपालका प्रधानमन्त्रीको सहभागितालाई समेत जोड्ने हो भने, ३३ वर्षमा दाहालको यो भ्रमण २० औं हुन्छ ।
सन् १९९० यता नेपालमा २९ पटक सरकार परिवर्तन भए र यसबीच राजा ज्ञानेन्द्र शाहको १५ महिने प्रत्यक्ष शासनकालबाहेक १३ प्रधानमन्त्री रहे । नेपालमा प्रधानमन्त्री हुनेबित्तिकै दक्षिणी छिमेक भारतको द्विपक्षीय भ्रमण गर्ने एक किसिमको परम्परा नै भइसकेको छ । केही अपवादबाहेक सिंहदरबार पुग्नेबित्तिकै प्रधानमन्त्रीको भ्रमणको पहिलो प्राथमिकतामा भारत हुन्छ ।
सन् २००८ मा पहिलो पटक प्रधानमन्त्री हुँदा दाहालले बेइजिङको भ्रमण गरे । उनी त्यसबेला बेइजिङ ओलम्पिकको समापन समारोहमा गएका थिए । फर्कनेबित्तिकै भारत चिढिन्छ भन्दै संकेत बुझेर उनले पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिए । रोचक कुरा त, सन् १९९० मा प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईदेखि नेपालबाट भारतमा १८ वटा द्विपक्षीय भ्रमण गर्दा नयाँदिल्लीबाट भने नेपालतर्फ ६ पटक मात्र द्विपक्षीय औपचारिक भ्रमण भए । त्यसमा पनि सन् २०१४ यता मोदी सरकारमा आएपछि मात्र ३ द्विपक्षीय भ्रमण भए । मोदीले ३ द्विपक्षीय भ्रमणबाहेक एक पटक १८ औं सार्क शिखर सम्मेलन र अर्को चौथो बिमस्टेक शिखर सम्मेलनमा नेपाल भ्रमण गरेका थिए ।
नेपालमा ११ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका अटलविहारी बाजपेयीपछि काठमाडौं उत्रिने मोदी नै बने । आफू प्रधानमन्त्री बनेपछि छिमेक पहिलो नीति अवलम्बन गरेका मोदी सन् १९९७ मा इन्द्रकुमार गुजरालले नेपाल भ्रमण गरेपछि नेपाल आउने पहिलो प्रधानमन्त्री बने । उनी सन् २०१४ मा पहिलो औपचारिक भ्रमणमा नेपाल आएका हुन् । मोदीअघि १० वर्ष प्रधानमन्त्री बनेका मनमोहन सिंह कहिल्यै नेपाल आएनन् ।
भूराजनीतिक जानकार चन्द्रदेव भट्ट मोदी सरकारमा आएपछि उच्च तहमा द्विपक्षीय भ्रमणले गति लिएको मान्छन् । त्यसअघि भारतबाट कम भ्रमण हुने गरेको र नेपालस्थित भारतीय दूतावासबाटै काम हुने गरेको उनले बताए । ‘हाम्रा मान्छे नै उता बढी गइदिन्छन् । हामीले त्यसलाई पारस्परिक भ्रमणको रूपमा विकास गर्न सकेनौं,’ उनले भने, ‘समान सार्वभौमसत्ता भएको मुलुक भएपछि उताबाट पनि बोलाउनुपर्यो नि । भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा सरकार हुँदा नेपाल मामिलामा ‘सब कन्ट्याक्ट’ जस्तो गरियो । उनीहरूले नेपाल मामिला हेर्ने जिम्मा यहाँ आएका राजदूतहरूलाई दिए ।’ मोदी सरकारमा आएपछि छिमेकी पहिलो नीति ल्याएर छिमेकी मुलुकसँग सिधै सम्बन्ध विस्तार गर्न थालेको उनले बताए । ‘अहिले भारत यति व्यस्त भयो कि नेपालमा चाहेर पनि आउन नसक्ने भयो । नयाँदिल्ली अहिले न्युयोर्क र लन्डनजस्तै भइसक्यो । भारतमा हरेक दिनजसो कुनै न कुनै मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख वा अन्य भ्रमण भइरहेका हुन्छन् । भारतको पनि अन्य मुलुकमा भ्रमण हुन्छ । यसरी भारत अहिले विश्वकै भूराजनीतिक केन्द्र बनेको छ ।’
दुई मुलुकबीचको उच्च तहको भ्रमणका रूपमा नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले सन् २०११ जनवरी २७ देखि फेब्रुअरी ५ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भारतबाट पनि राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१६ को नोभेम्बर २–४ सम्म नेपालको तीनदिने राजकीय भ्रमण गरे । सन् २००२ को जुन २३ देखि २८ सम्म राजाको रूपमा ज्ञानेन्द्र शाहले नयाँदिल्ली भ्रमण गरेका थिए । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ को अप्रिल १७–२१ सम्म भारतको राजकीय भ्रमण गरेकी थिइन् ।
सन् १९९० पछि फेरि प्रधानमन्त्री बन्ने अवसर पाए पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले भारत भ्रमण गरेनन् । उनीहरूको कार्यकाल पनि छोटो रह्यो । यस्तै, बाबुराम भट्टराईपछि चुनावी सरकारको नेतृत्व गरेका मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मी भारत गएनन् । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई भारत भ्रमणको निम्तो नआउँदै कार्यकाल सकियो ।
पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई नेपालमा सरकार परिवर्तन भइरहने र भारतमा त्यस्तो अस्थिरता नदेखिँदा नेपालकै तर्फबाट बढी भ्रमण भइरहेको हुन सक्ने बताउँछन् । ‘भारतको व्यस्तता पनि बढी भयो । मनमोहनजी नआएपछि मोदी आउँदासम्म लामो ग्याप नै भइसकेको थियो,’ उनले भने, ‘नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा गइरहनुको पछाडि हाम्रो आवश्यकता पनि हो । छिमेकी मुलुकसँग सम्बन्ध राम्रो गर्नुपर्नेछ ।’ नेपालले भारत, चीन र अरू महत्त्वपूर्ण मुलुकमा वर्षको एउटा उच्च तहको भ्रमण आदान–प्रदान गर्दा राम्रो हुने उनको भनाइ छ । ‘भारत र जापानबीच हरेक वर्ष आउजाउ हुन्छ । तर भ्रमणमा भीड मात्र गरेर मात्रै हुन्न, सरकार प्रमुख वा राष्ट्र प्रमुखको भ्रमणचाहिँ कुनै समस्या समाधानका लागि गर्नुपर्छ,’ उनले भने ।
सन् १९९० अघि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू (दुई पटक), इन्दिरा गान्धी, लालबहादुर शास्त्री र मोरार्जी देसाईले नेपालको भ्रमण गरेका थिए । तर, त्यसपछि नेपालमा भारतबाट उच्च तहको भ्रमण घट्दै गयो । भारत मामिलामा नेपाल हेर्न साउथ ब्लक (भारतीय विदेश मन्त्रालयको नेपाल हेर्ने जिम्मेवारी पाएको विभाग) र लैनचौर (नेपालस्थित भारतीय दूतावास) नै हाबी हुन थाल्यो । भारतीय कंग्रेसको नेतृत्वमा रहेको युनाइटेड प्रोग्रेसिभ एलायन्स (यूपीए) को पालामा नेपाललाई राजनीतिकभन्दा पनि कर्मचारीतन्त्रबाट हेरियो । त्यसबेला नेपालमा रहेका राकेश सुद, जयन्त प्रसाद, श्याम शरणजस्ता राजदूत राजनीतिक मामिलामा सक्रिय रहे । मोदी सत्तामा आएपछि राजनीतिक तहमा प्रधानमन्त्रीको भ्रमण भए पनि आन्तरिक राजनीतिक अस्थिरताका कारण नेपाल कूटनीतिक रूपमा बलियो गरी प्रस्तुत हुन सकेको छैन ।
भारतका भूराजनीतिक जानकार प्राध्यापक महेन्द्र पी. लामाले भारतमा प्रधानमन्त्री मोदी नै नौ वर्षदेखि सरकारको प्रमुख रहँदा सोही अवधिमा नेपालमा सन् २०१४ देखि २०२३ भित्र सात प्रधानमन्त्री फेरिएको उल्लेख गरेका छन् । ‘कोही प्रधानमन्त्री २५३ दिन कुर्सीमा बसे भने कोही १,१८२ दिन । कुर्सीमा को छिटो बस्ने भनी तीन जना प्रधानमन्त्रीहरू त वरिपरि घुमी नै रहे, र तीनै जनाले दुईदुई पटक कुर्सी हत्याए गत नौ वर्षमा । ‘तिमीपछि म, मपछि उनी र उनीपछि तिमी र फेरि म’ भन्ने प्रथा–व्यवस्था नेपाली प्रजातन्त्रमा मात्रै चरितार्थ हुन सक्छ,’ लामाले मंगलबारको कान्तिपुरमा लेखेका छन् ।
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य नयाँदिल्लीबाट नेपाल भ्रमण कम हुनुलाई स्वाभाविक ठान्छन् । स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा नेपाल र भारतको हैसियत एउटै रहे पनि दुई देशको व्यस्तता फरक–फरक भएको उनको बुझाइ छ । ‘हामीलाई समान व्यवहार गर्छन् र मागहरू पूरा हुन्छन् भने उताबाट पनि पारस्परिक भ्रमण हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘उताबाट आएनन्, हामी मात्र गयौं भन्न पनि हुन्न । दुवै देशको व्यस्तता फरक–फरक छ नि ।’