नेभिगेसन मेनु

लोकगीत युवामाझ पुर्‍याउने पशुपति
सम्पादक:南亚网络电视
समय:2023-06-13 17:56

thumb (25)

काठमाडौँ — गीतसंगीतमा रमाउनु एउटा कुरा हो, कमाउनु अर्कै । रमाउनका लागि दर्शक–श्रोता भए भइहाल्यो । कमाउनका लागि भने चाहिन्छ, मिहिनेत, त्याग र निरन्तरता । अनि कमाउन सकिने पनि मुख्य दुई चीज छन्, दर्शक–श्रोताको माया र पैसा ।

दुवै हिसाबले माथिल्लै स्थानमा पुग्नेमध्येका गायक हुन्– पशुपति शर्मा । तर त्यसका लागि उनले लामो समय मात्रै खर्चेका छैनन्, लगाव र मिहिनेत पनि उस्तै छ । यिनै पशुपति पछिल्लो समय फेरि चर्चामा छन् । कारण हो, उनको आफ्नै शब्द, संगीत र लयको गीत, ‘आफ्नो आफ्नो दुःख ।’

गीतको कथा भने भिन्न छ । खासमा रेकर्ड भइसकेर पनि लामो समय स्टुडियोमै अड्केको गीत हो यो । गतवर्षको तिजको माहोल थियो । पशुपति पनि तीजकै गीतमा व्यस्त थिए । बनाउन अनि गाउन । त्यसै मेसोमा झट्ट फुरेको गीत हो यो ।

गीत रेकर्ड पनि भयो । तर, तीजको रमझम चलिरहेकै थियो । दुःख साट्ने एकल गीत बजारमा अलिक पछि ल्याउँदा राम्रो हुन्छ भन्ने सल्लाह दिए रेकर्डिस्टले । त्यतिबेला रेकर्डिस्टको भनाइमा सहमत पशुपतिले पछि त्यत्तिकै बिर्सिए । ३/४ महिना बितिसकेको थियो । एक दिन पशुपतिलाई स्टुडियोबाट फोन आयो । ‘दाइ, तपाईंको एउटा रेकर्ड भइसकेको गीत बाँकी छ नि । बिर्सनुभयो कि क्या हो ?’

पशुपति आफैंलाई भने औधि मन परेको मध्येको गीत थियो यो । राम्रै भिडियो बनाउँला र सार्वजनिक गरौंला भन्ने थियो । तर धेरै समयसम्म यसै रहेको गीतका लागि पछि भने मिहिनेत गर्न खासै जागर चलेन । खासै पैसा खर्चन पनि मन लागेन उनलाई । त्यसैले हो ‘एउटा गीत छ, छिटो र सस्तोमा भिडियो बनाइहाल्नुपर्ने भयो’ भन्दै निर्देशक दुर्गा पौडेलसँग कुरा गरे । अनि एकै दिन बनाइएको थियो भिडियो ।

‘यसरी बजारमा आएको गीत हो यो,’ कान्तिपुरसँगको कुराकानीमा पशुपतिले उतिबेलाको कुरा सम्झिए, ‘कार्यक्रमको चाप पनि बढी नै थियो । अनि अरू गीतको पनि काम भइरहेको थियो । त्यसैले त्यसमा खासै समय दिइएन ।’ खासमा निकै छोटो समयमा बनेको गीत हो यो । भिडियो बनाउन पनि २०/२२ हजार जति खर्च लागेको बताउँछन् पशुपति ।

मिहिनेत कम परेको गीत नै किन नहोस् सार्वजनिक भएपछि भने बजार ततायो । दर्शकले मन पराए । युट्युब ट्रेन्डिडमा परेपछि त झन् चर्चा बटुल्यो । करिब ७ महिनाअघि रिलिज भएको गीतले हालसम्म ९७ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । गीतले राम्रै प्रतिक्रिया पाएपछि पशुपतिले फिमेल भर्सन निकाल्नेबारे सोचे । शब्द लेखे, ट्र्याक पुरानै भइहाल्यो । गाउन पो कसलाई लगाउने ?

निजी जीवनसँग सम्बन्धित घटना भुल्दै बिस्तारै सार्वजनिक जीवनमा आउन थालेकी थिइन्, गायिका समीक्षा अधिकारी । पशुपतिले मनमनै सोचे, समीक्षालाई पो गाउन लगाउनुपर्‍यो । त्यतिबेला पोखरामा रहेकी समीक्षासँग फोनमा कुरा भयो । शब्द निकै मन पराएकी उनी गाउन तयार भइन् । अनि, समीक्षा केही दिनपछि काठमाडौं फर्केपछि रेकर्ड भयो फिमेल भर्सनमा ‘आफ्ना आफ्ना दुःख ।’

पशुपतिको आफ्नै युट्युब च्यानलबाट दुई साताअघि रिलिज भएको गीत करिब २३ लाख पटक हेरिसकिएको छ । रिलिज भएको दिनदेखि नै ट्रेन्डिङमा एक नम्बरमा आएको गीतलाई दोस्रोमा झार्न सक्ने गीत अझै आएको छैन बजारमा ।

गीतका कारण पशुपतिले सम्भवतः जीवनकै धेरै बधाई र शुभकामना पाए । विशेषतः समीक्षालाई पुनः सांगीतिक दुनियाँमा स्थापित हुन् सहयोग गरेको भनेर । सामाजिक सञ्जालमा पहिलो पटक होला मैले यति धेरै बधाई पाएको, उनी भन्छन् ।

‘मेरो कुरा काट्नेको त मनै रुँदैन कि

तिम्रो पीर मेरो पीर एउटै हुँदैन कि

कति चासो हुने होला कहाँ जान्छे के खान्छे

एक दिन मर्न पर्छ भन्ने किन भुल्छ मान्छे’

सायद गीतका यिनै शब्दलाई दर्शक–श्रोताले समीक्षाको जीवनका घटनासँग जोडेर हेरे कि ? पशुपति भन्छन्, ‘हुन सक्छ, तर मैले शब्द कोर्दा भने त्यसतर्फ ध्यान दिएको थिइनँ । समीक्षालाई नै गाउन लगाउने भनेर लेखेको पनि होइन ।’ आखिर दुःख नहुने मान्छे यो संसारमा को नै छ र ? गीतको मर्म यही हो । ‘त्यसैले यसलाई प्रत्येक श्रोता–दर्शकले आफ्नो जीवन, संघर्ष र दुःखसँग जोडेर हेरेको जस्तो लाग्छ मलाई,’ पशुपति भन्छन् ।

खासमा रहरै रहरमा गीतसंगीतमा लागेका हुन् पशुपति । स्कुले जीवनदेखि नै मौका पाउनासाथ गाउन अघि सरिहाल्थे । क्याम्पस पढ्न स्याङ्जाबाट काठमाडौं पसेपछि भने उनको जीवनमा फरक मोड आयो । घरपरिवारले गीतसंगीतमा लागेको मन पराउँदैनथे । उनलाई भने अन्यमा क्षेत्रमा ध्यान थिएन ।

दोहोरीसाँझमा गाउने र प्रतियोगिता तथा कार्यक्रममा डुल्न थालेपछि एकताका त घरपरिवारसँग सम्बन्ध बिग्रिएको थियो उनको ।त्यही बखत केही गीत रेकर्ड पनि गराए । सरसापट गरेर गीति एल्बम बजारमा पनि ल्याए । तर निकै कोसिस गर्दा पनि चलेनन् गीत । एकपटक त मन नै टुटेको थियो उनको । तर तीजका गीत चलेपछि भने विस्तारै आशाको सञ्चार भयो मनमा । तर अन्य गीत नचले पनि उनले ट्याग पाए ‘तीजे गायक’ को । मौकामा आएको थियो होला सायद, तीजे गायक भन्नेलाई ‘क्याम्पस पढ्न आउनी’ गीतबाटै गतिलो जवाफ दिए ।

ईश्वर दाहिना भएको भनिन्छ नि, हो, त्यही भयो पशुपतिलाई । ‘क्याप्सन पढ्न आउनी’ बाट लोकसंगीतमा स्थान पाएका उनका गीतले विस्तारै चर्चा बटुल्न थाले । दर्शक–श्रोताको मन तान्न थाले । त्यसैक्रममा अर्को गीत आयो, ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ । ‘सायद यो गीतबाट म लोकगीत नसुन्ने दर्शकमाफ पनि पुगें,’ पशुपतिका बुझाइ छ । खासमा यही गीतबाट उनले युवा पुस्तालाई लोकसंगीततर्फ तान्न सफल भए ।

सुखदुःखका मात्र होइन, सामाजिक परिवेश र शासकसत्ताका विषयमा पनि उनले उत्तिकै दमदार गीत गाएका छन् । ‘लुट्न सके लुट’ गीतमार्फत त उनले कुशासनविरुद्ध ‘आगो नै ओकले’ भन्दा हुन्छ । फलस्वरूप गीत विवादमा पर्‍यो । ‘विवादमा पर्‍योभन्दा पनि पारियो,’ पशुपति भन्छन्, ‘सायद शासनसत्तामा रहेर राज्यकोषको हालिमुहाली गर्ने र रमाउनेहरूलाई यो गीत मन परेन ।’

देशको राजनीतिबारे राम्रै जानकार पशुपतिलाई केही समयअघि लागेको थियो, ‘अब राजनीतिमै छिर्नुपर्छ भनेर ।’ तर नेताको चाकडी गर्ने प्रवृत्ति र आफ्नो दलका नेताले जेभन्दा पनि ताली बजाउनुपर्ने कार्यकर्ताको बाध्यता देखेर दिक्क लाग्यो । अनि, त्यागिदिए हिँड्न सोचेको बाटो । तर आफू जुन क्षेत्रमा छु त्यसमार्फत नै केही गर्न सकिन्छ कि भन्ने हुटहुटी भने सधैं मनमै रहेको बताउँछन् उनी । त्यसैले त हो, पछिल्लो समय फेरि देशको समसामयिक राजनीतिमाथि व्यंग्य गर्दै गीत ल्याएका छन् । मुख्य राजनीतिक दलका कार्यकर्तालाई आफ्ना दल सुधार्ने सन्देशसहितको गीत आज मात्रै रिलिज गरेका हुन उनले ।

पशुपति युवा पुस्ताका लागि प्रेरणाका स्रोत हुन् । चाहे गीतसंगीत क्षेत्रमा होस् वा अन्य । ‘मलाई अमेरिका यही, जापान पनि यही’ गीतबाटै उनले गजबको सन्देश दिएका छन्, बिदेसिने होइन, आफ्नै देशमा स्वाबलम्बी र आत्मनिर्भर बन्ने भनेर ।

गीतमा मात्र होइन, व्यवहारमा पनि देखाएका छन् उनले । त्यसैले त सहरको संघर्षमा कमाएको धन खर्चेर गाउँमै घर ठडाए । युवाहरू भासिएसँगै गाउँ रित्तो हुँदै गएकाले पनि गाउँ फर्कनुपर्छ भन्ने सन्देश दिन खोजेका उनका भनाइ छ । ‘सहरमा संघर्ष गर्ने हो । जीवन त गाउँकै रमाइलो छ नि,’ पशुपति भन्छन् ।

गीतसंगीतमा सफलता पाउन के चाहिन्छ ? ‘धेरै कुरा छन् । तर मिहिनेत र निरन्तरता नै मुख्य हुन्,’ उनको अनुभवले भन्छ । गीतसंगीतमा लागेर के कति कमाउनुभयो त ? शर्माको उत्तर भने सीधा छ, ‘निकै धेरै, तर दर्शक–श्रोताको माया । अनि, यही क्षेत्रमा लागेरै जीवन आर्थिक रूपमा चलाउन सकिने रहेछ भन्ने अवस्थामा आइयो ।’ पछिल्लो समय गीतसंगीतमा प्रतिस्पर्धा र चुनौती थपिएको स्विकार्छन् उनी । तर पनि सकुन्जेल यसमै रमाउने प्रण छ उनको । भन्छन्, ‘अब धेरै कमाउन त नसकिएला तर जीवनभर लोकसंगीतमै रमाउन भने मन छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर