नेभिगेसन मेनु

एक महिनादेखि हिउँको बास
सम्पादक:南亚网络电视
समय:2023-05-31 13:05

thumb (1)

रुकुम पूर्व — यार्चा टिप्न लेकमा पुगेका पुथा उत्तरगंगा–१ स्थित पूर्वाङ क्याम्पमा मैकोट र आसपासका बासिन्दा एक महिनायता बुकीमा बसेका छन् । हिउँ नपग्लँदा यार्चा संकलन सुरु गर्न पाएका छैनन् ।

बुकीमा बसेको २२ औं दिन अर्थात् जेठ ८ मा ५ वर्षीय एक बालकको मृत्यु भयो । समूहमा रहेका कोटका धनीप्रसाद र शीतल नेपाली ५, १० र १२ वर्षका छोराछोरी लिएर बुकीमा थिए । चिसोले सिकिस्त भएका ५ वर्षीय कान्छो छोराको मृत्यु भएको हो ।

बुकी उक्लिएको केही दिनपछि अत्यधिक चिसो बढेका बेला बिरामी छोराको ज्यान गएको शीतलले बताइन् । ‘दुई दिनदेखि पानी र हिउँ परेको पर्‍यै थियो,’ उनले भनिन्, ‘बिरामीले छोराको प्राण गयो ।’

यार्चागुम्बु संकलन र बिक्री गरेर रोजीरोटी चलाउने पुथा उत्तरगंगा–१, २ र ३ का बासिन्दा बर्सेनि बुकी उक्लिन्छन् । यस पटक यार्चा पाइने क्षेत्र नजिकका बुकीमा गएर बसेको एक महिना भएको छ । ‘हिउँ कम हुने र यार्चा टिप्ने दिनको पर्खाइमा छौं,’ स्थानीय किरण बुढामगरले भने, ‘चैतको निगल्त (अन्तिमतिर) बुकी उक्लिएर यार्चा टिप्न सुरु हुन्थ्यो । यस पटक हिउँ परेर सिजन सुरु नै भएको छैन ।’ यसरी चिसोमा बसेका कोही बिरामी परे औषधोपचार केही छैन । ज्यान जोखिममा राखेर हिउँ पग्लिने दिन पर्खिरहेको पुथा उत्तरगंगा–१ का वडाध्यक्ष वीरमान विकले बताए । उनका अनुसार बुकीमा रहेको पुलाल क्याम्पमा पुथा उत्तरगंगा–२ का ३ सय ५० जना छन् । ‘हत्तपत्त फर्किन पनि गाह्रो भनेर सबै त्यतै बसेका छन्,’ उनले भने । सन्तान गुमाएका धनीप्रसाद दम्पतीलाई गाउँपालिकाले १० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यार्चा संकलन गर्ने याममा यस भेगका विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाका शिक्षा शाखा संयोजक रामप्रसाद खड्काका अनुसार बर्खे र दसैं बिदाबाट कट्टी हुने गरी वडा १, २ र ३ का जम्मा ८ वटा विद्यालय १० दिनका लागि बिदा गरिएको छ । यसकारण पनि यहाँका प्रायःजसो विद्यालय उमेरका बालबालिकासमेत अभिभावकसँग बुकी उक्लिएका छन् ।

वडाध्यक्ष विकका अनुसार १ नम्बर वडाका बासिन्दा पूर्वाङ र २ का बासिन्दाले पुपालमा क्याम्प बनाएका छन् । पुपाल क्याम्पअन्तर्गत पानीढलो आसपासको बुकीपाटन, निम्खु, फूलबारी, गुर्घाटको शिरलगायतका ठाउँमा यार्चागुम्बु पाइन्छ ।

पूर्वाङ क्याम्पअन्तर्गत रमण धुरी, सिस्नेरी, माझिलाको झारी आसपास, भित्रिवन, कुण्डला क्षेत्र र अर्विजाको आसपासमा यार्चागुम्बु पाइन्छ । वडा ३ रन्माको साङ्ग्रे, चौरीखर्क र चुनदह पनि यार्चागुम्बु पाइने क्षेत्र हो । ‘सबैजसो घरका गाउँले बुकी उक्लिएका छौं,’ पुथा उत्तरगंगा–२ का जसबहादुर सिर्पालीले भने, ‘गाउँमा बूढाबूढी र केही बालबालिका मात्रै छन् । हिउँ घटेपछि पटन फुकुवा हुन्छ अनि यार्चा लिएर फर्कन्छौं ।’

वर्षमा एकचोटि यार्चागुम्बु टिप्न बुकी उक्लिने यहाँको चलन नै भएको बताउँदै मैकोटका भरत पुन स्वास्थ्य सुरक्षामा भने गम्भीर लापरबाही हुने गरेको बताउँछन् । ‘हाम्रा लागि आम्दानीको मूल स्रोत नै यही हो । यार्चा संकलन यहाँको संस्कृति पनि हो ।’ कुल देवता र सिमे–भुमे पुजेर बुकी उक्लिएको बताउँदै मैकोटकी सिर्जला कामीले साह्रोगाह्रो बेहोरेर बर्सेनि बुकी आउनु बाध्यता भएको बताइन् । ‘सबै भगवान्कै भरोसा चल्याको छ । क्यै गरी परानै गैगए पनि यहीँसम्मको चोला रहेछ भनेर मान्ने हो । अरू त उपाय छैन ।’ हिउँ कम हुने र यार्चा संकलन सुरु हुने आसमा क्याम्पमा बसिरहेकाहरू गाउँबाट खच्चडमा बोकाएर ल्याइएको महँगो खाद्यान्न किनेर खाइरहेका छन् । नांगो पाटनमा दाउरासमेत पाइँदैन । उनीहरूले खच्चडको एक भारी दाउरालाई १४ सय पर्ने बताए । पूर्वाङ क्याम्प बसिरहेका जितराज कमीले भने, ‘हामी नाउरे खोलाबाट खच्चडले बोकेर ल्याएका दाउरा किन्छौं । पुपाल क्याम्पमा रहेकाले दुलेबाट ल्याएका दाउरा किन्छन् । सबै महँगो छ तर नकिनी उपाय छैन ।’

स्थानीय व्यापारी वीरेन्द्र बुढामगरले गाउँबाट घोडा–खच्चडमार्फत सामान ढुवानी गरिरहेको बताए । सडक पुगेकोबाट करिब २ दिन खच्चडमा बोकाएर क्याम्पसम्म पुर्‍याउने गरेको बताउँदै उनले ढुवानीकै कारण पनि महँगो नै पर्ने गरेको सुनाए । उनका अनुसार पुपाल र पूर्वाङ क्याम्पसम्म पुग्दा चामलको प्रतिकिलो १२८ देखि १६०, दाल ३ सय, नुन प्रतिप्याकेट ८० देखि १००, तेल प्रतिलिटर ४ सय ४०, बेसार प्रतिप्याकेट ८०, खुर्सानी प्रतिप्याकेट ८०, चाउचाउ प्रतिप्याकेट ३०, बिस्कुट प्रतिप्याकेट ३० देखि १५० र अन्डा प्रतिपिस ५० रुपैयाँ पर्छ ।

यार्चागुम्बु सिजन व्यवस्थापन समितिका अध्यक्ष गोविन्द रोकाले अब बिस्तारै हिउँ कम हुन लागेको बताए । उनका अनुसार जेठको २० देखि २५ गतेसम्ममा यार्चा संकलन सुरु हुने अनुमान छ । उनले भने, ‘यो सिजनमा स्थानीयबाहेकलाई यार्चा संकलनका लागि अहिलेसम्म आउन दिएका छैनौं,’ उनले भने । हिमाली जिल्ला पूर्वी रुकुमको बुकीपाटनमा पाइने यार्चागुम्बु कम भए प्रतिगोटा र धेरै भए किलोका हिसाबले बिक्री हुने गरेको छ । संकलकसँग पुथा उत्तरगंगा गाउँपालिकाले प्रवेश शुल्क लिने गरेको छ । यस पटक प्रवेश शुल्क जनही ३ हजार लिने निर्णय भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए । ‘यार्चा संकलन नै सुरु नभएकाले कारोबार कस्तो होला भनेर अनुमान गर्न गाह्रो छ,’ उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर