पछिल्ला ६ वर्षमा वेभ सिरिज र डकुमेन्ट्रीसहित २४३ विदेशी फिल्म छायांकन, हलिउड–बलिउडका ठुल्ठूला ब्यानरको रोजाइमा पनि नेपाली ‘लोकेसन’
फिल्म सुटिङका लागि नेपाली निर्माता/निर्देशकले विदेशी भूमि ताकिरहँदा विदेशी सिनेकर्मी भने नेपालतर्फ आकर्षित हुने क्रम बढिरहेको छ । केही वर्षयता हलिउड–बलिउडका ठुल्ठूला ब्यानरका सिनेमा नेपालमा सुटिङ भएका छन् । प्राकृतिक सौन्दर्य, अग्ला हिमाल, ऐतिहासिक सम्पदा र सुन्दर हिमशृंखलका कारण नेपाल विश्वसिनेकर्मीमाझ ‘सुटिङ हब’का रूपमा परिचित हुन थालेको छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ विदेशी फिल्म सुटिङ भएका छन् । पछिल्ला ६ वर्षमा दुई सय ४३ विदेशी फिचर फिल्म, वेभ सिरिज र डकुमेन्ट्री छायांकन गरिएका छन् ।
भारत, बेलायत, अमेरिका, आइल्यान्ड, फ्रान्स, पोल्यान्ड, जर्मनी, जापान, नेदरल्यान्ड, डेनमार्क, स्विडेन, जापान, साउथ अफ्रिकालगायत देशबाट फिल्म छायांकनका लागि टिम आइरहेको बोर्डले जनाएको छ । उनीहरूले हिन्दी, अंग्रेजी, जापानी, डच, फ्रेन्चलगायतका भाषामा फिल्म बनाइरहेका छन् ।
छायांकनका लागि आउने अधिकांश टोली कम्तीमा ३० देखि ३५ दिन नेपाल बस्ने गरेको बोर्डको तथ्यांक छ । चालू आवमा फ्रान्समा बनेको हिन्दी फिल्म ‘द सेमलेस’ छायांकनका क्रममा सबैभन्दा बढी ८ फेब्रुअरीदेखि १० अप्रिलसम्म ६२ दिन नेपाल बसेको थियो ।
दुई दिनअघि मात्रै बलिउडका चर्चित निर्देशक अनुभव सिन्हाको ‘फिफ’ नामक वेभ सिरिजको नेपालमा सुटिङ सकिएको छ । बोर्डबाट ९ देखि २८ अप्रिलसम्म १९ दिनको छायांकन अनुमति लिएको यो सिरिजको ठमेल, पनौती, त्रिभुवन विमानस्थल, पोखरालगायतका क्षेत्रमा सुटिङ गरिएको छ । भारतीय अभिनेता अरविन्द स्वामीसँगै यो सिरिजमा नेपाली अभिनेता माओत्से गुरुङसहित थुप्रै नेपाली थियटर कलाकारहरूले पनि अभिनय गरेको नेपाल छायांकनको व्यवस्थापन जिम्मा लिएका लाइन प्रोड्युसर सुरज आचार्यले बताए ।
आर्थिक वर्ष ०७८/७९ मा नेपालमा २६ विदेशी फिल्म छायांकन भएका थिए । जसमध्ये चर्चित बलिउड कलाकारहरू अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेनजोङ्पा, परिणति चोपडालगायतले अभिनय गरेको ‘उचाइ’ पनि हो । सुरज बडजात्यको निर्देशनमा मित्रताको कथामाथि बनेको यो फिल्म २६ डिसेम्बरदेखि २ नोभेम्बरसम्म ३७ दिन नेपालमा सुटिङ भएको थियो । काठमाडौंका स्वयम्भू, विमानस्थल, हायात होटेलसहित मनाङ, लुक्ला, नाम्चेलगायतका स्थानमा छायांकन गरिएको थियो । यो सिनेमाबाटै बलिउड कलाकारहरू अनुपम, बोमन र परिणतिले पहिलोपटक नेपाली भूमिमा अभिनय गरेका थिए ।
सन् २०२२ को ११ नोभेम्बरमा ‘उचाइ’ रिलिज भएपछि नेपालमा सुटिङ हुने विदेशी फिल्मको संख्या बढिरहेको नेपाल लाइन प्रोड्युसर सुरज आचार्यले बताए । बोर्डको तथ्यांकले पनि त्यस्तै देखाउँछ । आव ०७८/७९ भन्दा यो वर्ष नेपालमा विदेशी फिल्म छायांकनको संख्या दोब्बर देखिन्छ । यो वर्ष ४५ फिल्म सुटिङ भइसकेका छन् । आर्थिक वर्ष सकिन अझै तीन महिना बाँकी रहेकाले त्यतिन्जेल यो संख्या अझै बढ्ने अपेक्षा छ ।
आव ०७७/७८ मा भने १३ विदेशी फिल्म मात्रै छायांकन भए । कोभिड महामारीका कारण यो वर्ष नेपालमा फिल्म निर्माण ठप्पजस्तै थियो । सुटिङ गर्न आउँदा भन्सारबाट उपकरण आयात गराउन चलचित्र विकास बोर्डमा सिफारिस लिन आउने विदेशी चलचित्रको तथ्यांक हेर्दा आव ०७६/७७ मा ५५ विदेशी सिनेमा सुटिङ भएका छन् । त्यस्तै, आव ०७५/७६ मा त्योभन्दा बढी ६९ विदेशी फिल्म सुटिङ भए । त्यही वर्ष हिन्दी फिल्म ‘सुकुन्तला’ ३२ दिन नेपालमा सुटिङ भएको थियो भने स्विडेनको ‘दि एक्सपेडिसन’ले १९ दिनको छायांकन अनुमति लिएको थियो । हिन्दी फिल्म ‘सुप्रवत’ भने सबैभन्दा बढी ६२ दिनसम्म नेपालमा सुटिङ गरिएकोे थियो । आव ०७४/७५ मा भने ५३ विदेशी फिल्म नेपालमा सुटिङ भएको सरकारी तथ्यांक छ ।
तस्बिर : फिल्मइननेपाल.कम
नेपालमा विदेशी चलचित्र छायांकन गर्नुअघि सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाबाट निर्माण इजाजत लिनुपर्छ । इजाजत लिने क्रममा चलचित्रको कथासार, छायांकन टोलीको सदस्यको व्यक्तिगत विवरण र पासपोर्टको फोटोकपी, सिनेमाका लागि आयात गरिने उपकरणको मूल्यसहितको विवरण निवेदनसँगै दिनुपर्छ । त्यस्तै, छायांकन तालिका र छायांकन गरिने स्थलको आधारमा सम्बन्धित निकायको सहमतिपत्रसमेत मन्त्रालयमा बुझाउनुपर्छ । विदेशी सिनेमा निर्माण इजाजतका लागि मन्त्रालयले १५ हजार रुपैयाँ शुल्क तोकेको छ ।
इजाजत लिएपछि छायांकनका लागि आवश्यक क्यामेरालगायतका उपकरणहरू भिœयाउन चलचित्र विकास बोर्डसँग उपकरण आयात सिफारिस लिनुपर्छ । सम्बन्धित भन्सार कार्यालयले उक्त सिफारिसका आधारमा मात्रै उपकरण आयात गर्न दिन्छ । निर्माण इजाजत लिएपछि सञ्चार मन्त्रालयले छायांकन अवलोकन र समन्वयका लागि एकजना सम्पर्क अधिकृतसमेत खटाउने गर्छ । जसको खाने, बस्नेसहित सम्पूर्ण खर्च फिल्म युनिटले नै व्यहोर्नुपर्छ । त्यस्तै, सम्पदा, राष्ट्रिय निकुञ्जजस्ता महत्वपूर्ण लोकेसनमा छायांकन गर्दा छुट्टै रकम तिर्नुपर्छ ।
विदेशी सिनेकर्मीले नेपालमा कस्तो लोकेसन खोज्छन् ?
विदेशी फिल्मको नेपाल प्रोडक्सन हेरिरहेका लाइन प्रोड्युसर सुरज आचार्य विदेशी सिनेकर्मीहरू सुटिङ गर्न आउँदा ‘टिपिकल नेपाल’ खोज्ने बताउँछन् । ‘पोखराको लेकसाइड, दरबारमार्गजस्ता ठाउँहरू त जुनसुकै देशमा पनि भेटिन्छ,’ उनी भन्छन्, ‘तर, हामीकहाँ तराईका सहरहरूबाट हिमाल देखिन्छन् । यो विविधता कमै देशमा पाइन्छ । आठ हजार मिटरमाथिका अग्लाहरू हिमाल हामीसँग प्रशस्तै छन् । यस्तै, लाइभ लोकेसनहरू विदेशी फिल्मकर्मीहरू मन पराउँछन् ।’
पछिल्लो समय नेपाल आइरहेका विदेशी फिल्मकर्मी जंगल र जनावर खिच्न रुचाउँछन् । बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज उनीहरूको रोजाइमा परेको छ । कारण हो– सहजता र सुलभता । ‘अहिले भारत सरकारको कडाइका कारण त्यहाँ जंगल र हात्ती खिच्न सकस हुने गरेको छ,’ आचार्यले भने, ‘त्यहाँ बढी कर लाग्छ । त्यही भएर उनीहरू बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज आइरहेका छन् । अझ नेपाल सरकारले सार्क देशहरूलाई अरू देशको तुलनामा सस्तो पनि गरेको छ । अरूलाई १५ सय डलर लाग्छ भने सार्क देशहरूले ५० हजार नेपाली रुपैयाँमै यहाँका निकुञ्जमा सुटिङ गर्न सक्छन् ।’
पछिल्ला ६ वर्ष नेपालमा सुटिङ भएका विदेशी सिनेमा हेर्दा काठमाडौं उपत्यका, पोखरा, चितवन, खुम्बु क्षेत्र, एभरेस्ट क्षेत्र, मनाङ, मुस्ताङलगायत हिमाली भूभागमा धेरैजसो सुटिङ हुने गरेको पाइन्छ ।
नेपालमा ३० भन्दा बढी विदेशी फिल्मको सुटिङ गराइसकेको अन्तर्राष्ट्रिय फिल्म प्रोडक्सन कम्पनी लोकेसन नेपालका प्रोड्युसर सबिन बस्नेत पनि सहरी क्षेत्रमा काठमाडौं र पोखराबाहेक धेरैजसो विदेशी फिल्म हिमाली क्षेत्रमै सुटिङ भइरहेको बताउँछन् । ‘नेपालमा सुटिङ गर्न चाहने विदेशी फिल्ममेकरहरू सुरुमा हामीलाई स्क्रिप्ट पठाउँछन्,’ उनले भने, ‘स्क्रिप्टको आवश्यकताअनुसार हामी उनीहरूलाई सम्भावित लोकेसनहरू पठाउँछौँ । त्यसपछि उनीहरू लोकेसन हेर्न आउँछन् र फिल्म छायांकनको प्रक्रिया अघि बढ्छ । अहिले धेरैजसो विदेशी डकुमेन्ट्री फिल्महरू हिमाली भूभागमै बनिरहेका छन् ।’
कति गर्छन् खर्च ? कतिलाई रोजगारी ?
नेटफ्लिक्सका लागि अहिले नेपालमा छायांकन भइरहेको अनुभव सिन्हाको ‘फिफ’ नामक सिरिजका लागि भारतबाट एक सय ३७ जनाको टोली आएको छ । यो फिल्मबाट हरेक दिन करिब दुई सय नेपालीले रोजगारी पाइरहेको लाइन प्रोड्युसर सुरज आचार्यले बताए । ‘स्पटब्वायले पनि खाना, बस्न सबै सुविधासहित न्यूनतम दुई हजार पाँच सय पारिश्रमिक पाइरहेका छन् । २०–२५ वटा नेपालका गाडी प्रयोग भइरहेका छन् । यो टोली करिब १० दिन सुटिङ गर्दा चार करोड खर्च गरेर नेपालबाट फर्कँदै छ,’ उनले भने ।
अमिताभ बच्चन अभिनीत फिल्म ‘उचाइ’को प्रोडक्सन पनि आचार्यले नै हेरेका थिए । त्यसको छायांकन हुँदा नेपालमा करिब १८ करोड हाराहारी खर्च भएको उनले बताए । ‘त्यतिवेला भारतबाट एक सय ५० जनाको टोली आएको थियो । उनीहरू ३४ दिन नेपाल बसे । त्यतिखेर तीन सय नेपालीले रोजगारी पाए । फिल्मका लागि नेपाली माउन्टेरिङ गाइड, भरिया, प्राविधिक राखिएका थिए । नेपालका हेलिकोप्टर र प्लेनहरू पनि प्रशस्तै प्रयोग भए,’ उनले भने । त्यस्तै, अमेजन प्राइममा रिलिज भएको ‘फर्जी’ नामक हिन्दी सिरिजको नेपालमा जम्मा चार दिन मात्रै सुटिङ भएको थियो । उनीहरूले करिब तीन करोड नेपालमा खर्च गरेर गए ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा ठूलो विदेशी फिचर फिल्म छायांकनका लागि आउँदा धेरै नेपाली प्राविधिकले रोजगारी पाउने गरेको बताउँछन् । ‘एउटै फिल्ममा स्पटब्वाय, लाइटम्यान, प्रोडक्सन म्यानेजरलगायतका प्राविधिक गरेर एक सयभन्दा बढीले रोजगारी पाइरहेका छन्, यो सुखद पक्ष हो,’ उनले भने ।
सगरमाथामाथि धेरै छायांकन : पछिल्लो समय जंगल र जनावर खिच्नमा पनि रुचि
नेपालमा छायांकन गर्न आउने धेरैजसो विदेशी फिल्मकर्मीले सगरमाथामाथि डकुमेन्ट्री या फिचर फिल्म बनाउने गरेका छन् । त्यहाँ गएर डकुमेन्ट्री बनाउनेहरूले छायांकनका लागि सबैभन्दा बढी समय खर्चिएको देखिन्छ । अघिल्लो वर्ष सन् २०२२ को अप्रिल २ मा छायांकनका लागि नेपाल आएको अमेरिकी फिल्म ‘फुल सर्कल एभरेस्ट’ले ६७ दिन छायांकन गरेको थियो । त्यस्तै, ‘एलिट एक्सपेड एभरेस्ट ल्होत्से’ले ७ अप्रिलदेखि १० जुनसम्म ६४ दिन छायांकन गरेको थियो । सन् २०२१ को १ मार्चमा नेपाल आएको क्यानडाको टोलीले ‘एभरेस्ट डन’ नामक अंग्रेजी फिल्मका लागि ९० दिन बिताएको देखिन्छ । ०७५ मा बनेको ‘लाइफ एट दी एक्सिट्रिम एभरेस्ट’ले पनि छायांकनका लागि ७५ दिनको अनुमति लिएको देखिन्छ ।
विदेशी फिल्मको नेपाल प्रोडक्सन हेरिरहेका लाइन प्रोड्युसर सुरज आचार्य विदेशी सिनेकर्मीहरू सुटिङ गर्न आउँदा ‘टिपिकल नेपाल’ खोज्ने बताउँछन् । यस्तै, लाइभ लोकेसनहरू विदेशी फिल्मकर्मीहरू मन पराउँछन् । पछिल्लो समय नेपाल आइरहेका विदेशी फिल्मकर्मी जंगल र जनावर खिच्न रुचाउँछन् । बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज उनीहरूको रोजाइमा परेको छ ।
यी हुन् नेपालमा सुटिङ भएका केही ठूला सिनेमा
केही वर्षयता नेपालमा ठुल्ठूला ब्यानरका हलिउड र बलिउडका सिनेमा सुटिङ हुने क्रम बढेको छ । यद्यपि, सन् १९७० को दशकदेखि नै नेपालमा फाट्टफुट्ट विदेशी सिनेमाको छायांकन हुने गरेको देखिन्छ ।
सन् १९७२ मा भारतीय अभिनेता देवानन्दको फिल्म ‘हरे राम हरे कृष्ण’को छायांकन काठमाडौंमै भएको थियो । त्यस्तै, सन् १९८३ मा अमिताभ बच्चन अभिनीत फिल्म ‘महान्’को छायांकन पनि काठमाडौं, ललितपुर र भक्तपुरमा भएको थियो ।
त्यस्तै, आठ वर्षअघि चर्चित सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’को काठमाडौं उपत्यकाभित्रका न्युरोड, पाटन, ठमेल, असन, स्वयम्भूलगायतका स्थानमा करिब एक हप्ता सुटिङ भएको थियो । यो फिल्मको सुटिङका लागि लोकप्रिय हलिउड अभिनेता बेनेडिक्ट कम्बरब्याच नेपाल आएका थिए । त्यतिवेला उनीसँगै ओस्कार विजेता फिल्म ‘टुवेल्भ इयर्स अ स्लेभ’का अभिनेता चिउटेल इजिफोर पनि छायांकनमा उपस्थित थिए ।
०७० सालमा हलिउडको अर्को ठूलो फिल्म ‘एभरेस्ट’को सुटिङ पनि नेपालमै भएको थियो । सन् १९८६ मा सगरमाथा आरोहणका क्रममा निधन भएका आरोहीको कथामा वाल्टसमर कोर्माकुरले निर्देशन गरेकोे यो फिल्मको सुटिङकै लागि हलिउडका लोकप्रिय कलाकारहरू जोस बर्लिन, ज्यासन क्लार्कलगायत नेपाल आएका थिए । त्यतिवेला नेपाली कलाकार विजय लामासहित केही शेर्पाले फिल्ममा अभिनय पनि गरेका छन् । यो फिल्म काठमाडौंमा केही भाग र सगरमाथा आधार शिविरमा सुटिङ गरिएको थियो । सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा पनि राम्रै कमाइ गर्न सफल भयो । ५५ मिलियन डलरमा बनेको यो फिल्मले दुई सय तीन मिलियन अमेरिकी डलर कमाएको बक्स अफिसको रिपोर्ट छ ।
त्यस्तै, बलिउड स्टार अक्षयकुमार अभिनीत फिल्म ‘बेबी’ पनि काठमाडौं उपत्यकामा छायांकन भएको थियो । भारतीय जासुसीको कथामा आधारित यो फिल्ममा भक्तपुर दरबार क्षेत्रदेखि हायात होटेलसम्मका दृश्य देख्न सकिन्छ । यो फिल्म सन् २०१५ को जनवरी २३ मा विश्वभर रिलिज भएको थियो ।
दक्षिण भारतीय सिनेस्टार विक्रम अभिनीत ‘दश गिन्ने से पहले’को सुटिङ पनि नेपालमै भएको थियो । यो फिल्म काठमाडौं उपत्यकाभित्र भक्तपुर, भैँसेपाटी, स्वयम्भू, मुडेलगायत क्षेत्रमा करिब तीन साता लगाएर सुटिङ भएको थियो । भारतबाट करिब एक सय कलाकार र प्राविधिक आएका थिए । नेपाली अभिनेता सुनिल थापाले समेत यो फिल्ममा अभिनय गरेका छन् ।
त्यस्तै, अंग्रेजी फिल्महरू ‘सोल्ड’, ‘हाइवे टु धम्पुस’, ‘लर्ड बुद्ध’ र ‘अ नाइट ट्रेन टु काठमाडौं’, ‘द गोल्डन चाइल्ड’, ‘बराक’, ‘सेभेन एअर्स इन तिब्बत’, ‘द फल’, ‘वियोन्ड दी एज’लगायतको सुटिङ पनि नेपालमै भएको छ । देवानन्दको ‘हरे राम हरे कृष्ण’, अमिताभ बच्चनको ‘खुदा गवाह’ र ‘महान्’, अनिल कपुरको ‘युद्ध’ र गोविन्दाका ‘घरवाली बाहरवाली’ र ‘एक हसिना एक दिवाना’लगायतका चर्चित हिन्दी फिल्म पनि नेपालमा खिचिएका थिए । त्यस्तै, सगरमाथा आरोही एडमन्ड हिलारीको जीवनीमा आधारित न्युजिल्यान्डको एउटा टेलिभिजन ड्रामा ‘हिलारी’को छायांकन पनि नेपालमै भएको हो ।
राज्यको नीतिले प्रोत्साहित होइन, दुःखी भएर फर्किन्छन्
नेपालमा फिल्म सुटिङका लागि आउने करिब ७० प्रतिशत विदेशी घर फर्किँदा भने पूर्ण सन्तुष्ट नहुने गरेको जानकारहरू बताउँछन् । प्राविधिक कठिनाइ र फिल्म मेकिङ नबुझेकाहरूले प्रोडक्सनको जिम्मा लिने गरेकाले पनि नकारात्मक प्रभाव परिरहेको उनीहरूको विश्लेषण छ ।
सञ्चार मन्त्रालयको तथ्यांक हेर्दा नेपालमा हुने धेरैजसो विदेशी फिल्म छायांकनको जिम्मा ट्राभल एन्ड टुर्स र ट्रेकिङ एजेन्सीले लिइरहेको देखिन्छ । यहीकारण व्यावसायिक ढंगले फिल्म प्रोडक्सनको काम हुन नसक्दा फर्कने वेला विदेशी फिल्मकर्मी दुःखी हुने गरेको लोकेसन नेपालका प्रोड्युसर सविन बस्नेतले बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस विषयमा बोर्डमा पनि गुनासो आएको र सुधारका लागि आवश्यक छलफल तथा पहल भइरहेको बताए । ‘पर्यटक घुमाउने जिम्मा लिएकाहरूलाई विदेशी फिल्मको प्रोडक्सन अधिकार पनि दिइएको रहेछ । स्वाभाविक रूपमा फिल्म मेकिङ नबुझेकाहरू संलग्न हुँदा व्यावसायिक हिसाबले काम हुन सक्दैन । फिचर फिल्म र डकुमेन्ट्री फिल्मको चरित्र र त्यसको प्रोडक्सन कसरी हुन्छ भन्ने थाहा नहुँदा समस्या हुन्छ नै,’ उनले भने, ‘त्यसैले सुधारका लागि हामी सञ्चार मन्त्रालयसँग समन्वय र पहल गर्ने तयारीमा छौँ ।’
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ट्राभल एन्ड टुर्सलाई फिल्म प्रोडक्सनको अधिकार दिनु राज्यको कमजोरी भएको बताए । ‘राज्यले यसलाई सच्याए विदेशी फिल्मकर्मीमाझ फैलिरहेको नेगेटिभ इम्प्रेसन घट्न सक्छ,’ उनले भने ।
अर्का लाइन प्रोड्युसर सुरज आचार्यले नेपालमा विदेशी फिल्म छायांकनको आकर्षण बढाउन राज्यले कुनै पहल नगरेको गुनासो गरे । विदेशी फिल्मकर्मीलाई अनुदान र कर प्रोत्साहनको व्यवस्था नगर्दा छायांकन गर्न आउने विदेशीहरू दुःखी भएर फर्कने गरेको उनले बताए । ‘अस्ति भर्खर एक सय ५० जना चिनियाँ पर्यटक नेपाल आउँदा हाम्रो पर्यटनमन्त्री भयंकर पर्यटन प्रवद्र्धन भयो भनेर उहाँहरूलाई खादा लगाउन एयरपोर्टमै पुग्नुभयो,’ उनले भने, ‘तर, यही वेला बलिउडका चर्चित निर्देशक अनुभव सिन्हाको नेतृत्वमा एक सय ३७ जनाको टोली नेटफ्लिक्सका लागि सिरिज बनाउन नेपाल आएको थियो । हरेक दिन दुई सय नेपालीलाई रोजगारी दिइरहेको थियो । २०–२५ वटा नेपालका गाडी प्रयोग भइरहेका थिए । तर, राज्यलाई यसबारे मतलब नै भएन । उल्टै राज्य संयन्त्रबाट सुटिङका क्रममा अनेक बखेडा खेप्नुपर्यो ।’
सरकारी निकायको भवनमा फिल्म सुटिङ गर्न निकै अप्ठ्यारो र अवरोध हुने गरेको आचार्यले बताए । ‘छायांकन गर्न मिल्ने ठाउँमा पनि हाकिमलाई चित्त बुझेन भने यहाँ मिल्दैन भनेर पठाइदिन्छन् । बकाइदा राजस्व तिरेर, ठाउँ उल्लेख गरेर निवेदन दिएका हुन्छौँ, अनुमति दिने सहमति हुन्छ । तर, पछि खोइ के मुड चल्छ, छायांकन गर्न दिँदैनन् । अहिले पनि यस्तै अनुभव भोगियो । फिल्म सुटिङ भइरहेकाले यसबारे विस्तृत पछि भनौँला ।’
भ्याट रिटन्र्स नपाउँदा विदेशी फिल्मकर्मीका लागि नेपाल महँगो सुटिङस्थल बनिरहेकाले यसबारे राज्यले सोच्नुपर्ने आचार्यको सुझाव छ । ‘तेरो देशमा हामीले सुटिङको राजस्व बुझायौँ, अब भ्याट रिटन्र्स पाउनुपर्यो भन्छन् । तर, राज्यले हामीलाई नै दिँदैन, हामीले कसरी दिने ?’ उनले भने । ‘उचाइ’ सुटिङ गर्दा हायात होटेलमा मात्रै भ्याटसहिट करिब एक करोड ५७ लाख भुक्तान गरिएको, तर एक पैसा भ्याट रिटर्न नपाएको उनले बताए ।
निर्देशक नवीन सुब्बाले अरू देशहरूमा झैँ कर प्रोत्साहन या निश्चित लाभ दिने हो भने सुटिङका लागि विदेशीहरूलाई आकर्षित गर्न सकिने बताए । ‘कर प्रोत्साहन दिएर स्विट्जरल्यान्ड र मलेसियाले विदेशी फिल्मकर्मीहरू आकर्षित गरिरहेका छन्,’ उनले भने, ‘अहिले जहाँ कर प्रोत्साहन पाइन्छ, त्यहाँ फिल्म सुटिङ गर्न जान्छ बलिउड । तर, विश्वमाझ काठमाडौं त महँगो सहरमा पर्छ । विदेशीहरू यहाँ फिल्म सुटिङ गर्न आउन झन्झटिलो मान्छन् । मुम्बईमा प्रतिव्यक्ति १० रुपैयाँ (भारु)मा एक छाक खान पाइन्छ, यहाँ के पाइन्छ ? अहिले निर्देशक मीन भाम डोल्पामा सुटिङ गरिरहेका छन् । बाहिरबाट जनशक्ति ल्याउने कोसिस गरिरहेका छन्, तर त्यहाँ सरकारले दिनको प्रतिव्यक्ति करिब ७० डलर कर लगाउँछ रे । उल्टै कर प्रोत्साहन पाउनुपर्नेमा नेपाली फिल्ममेकरले नेपाली फिल्म बनाउँदा त यसरी रकम तिर्नुपरेपछि विदेशी फिल्ममेकर यहाँ किन र कसरी आउँछन् ?’
पछिल्लो ६ वर्षमा कुन देशका कति फिल्म सुटिङ
अमेरिका : ४२, युके : ३५, भारत : २५, जापान : ३०, नेदरल्यान्ड : १०, फ्रान्स : १०, जर्मनी : ११, क्यानडा : ५, चीन : ५, स्विडेन : ५, युएई : ५, अस्ट्रेलिया : ४, डेनमार्क : ४, पोल्यान्ड : ४, मलेसिया : ३, आयरल्यान्ड : ३, स्पेन : ३, फिनल्यान्ड : ३, अस्ट्रिया : २, थाइल्यान्ड : २, बेल्जियम : २, कोलम्बिया : २, ग्रिस : २, इटाली : २, कोरिया : २, ताइवान : ३, ब्राजिल : १, हङकङ : १, इजरायल : १, आइसल्यान्ड : १, इन्डोनेसिया : १, कुवेत/क्यानेडियन : १, लेबनान : १, न्युजिल्यान्ड : १, रुस : १, सिंगापुर : १, दक्षिण अफ्रिका : १, श्रीलंका : १ र युए बिबिसी स्टुडियो : ४
विदेशी फिल्मकर्मी आकर्षित गर्न राज्यले जति गर्नुपर्ने हो, त्यो सकिएको छैन : भुवन केसी, अध्यक्ष, चलचित्र विकास बोर्ड
प्राकृतिक सौन्दर्य, सुन्दर हिमशृंखला, सांस्कृतिक र ऐतिहासिक सम्पदालगायतले नेपाल आफैँमा फिल्म स्टुडियो हो । त्यसैले यहाँ विदेशी फिल्मकर्मी सुटिङका लागि आकर्षित हुने क्रम बढेको छ ।
यो आकर्षण बढाउन राज्यले जति गर्नुपर्ने हो, त्यो सकिएको छैन । पर्यटक घुमाउने ट्राभल एन्ड टुर्सहरूले विदेशी फिल्मको प्रोडक्सन हेर्न अनुमति लिने गरेका गुनासा बोर्डमा आएका छन् । यसमा सुधार गर्न हामी सञ्चार मन्त्रालयसँग समन्वय र छलफलको तयारीमा छौँ ।
सुटिङ गर्न आउँदा ‘टिपिकल नेपाल’ खोज्छन् विदेशी सिनेकर्मीहरू : सुरज आचार्य, लाइन प्रोड्युसर, थ्री विलर्स फिल्म प्रालि
विदेशी सिनेकर्मीहरू सुटिङ गर्न आउँदा ‘टिपिकल नेपाल’ खोज्छन् । पोखराको लेकसाइड, दरबारमार्गजस्ता ठाउँहरू त जुनसुकै देशमा पनि भेटिन्छन् । तर, हामीकहाँ तराईका सहरहरूबाट हिमाल देखिन्छन् ।
यो विविधता कमै देशमा पाइन्छ । आठ हजार मिटरमाथिका अग्ला हिमाल हामीसँग प्रशस्तै छन् । यस्तै लाइभ लोकेसन विदेशी फिल्मकर्मीहरू मन पराउँछन् । पछिल्लो समय हिमाली भेगसँगै जंगल र जनावर खिच्न धेरैजसो विदेशी फिल्मकर्मी नेपाल आइरहेका छन् । बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज उनीहरूको रोजाइमा परेको छ ।
विदेशीको आकर्षणले नेपाल सुटिङका लागि सम्भावनाको भूमि हो भन्ने देखाएको छ : नेत्रप्रसाद सुवेदी प्रवक्ता, सञ्चार मन्त्रालय अध्यक्ष, चलचित्र सेन्सर बोर्ड
नेपालको प्राकृतिक सौन्दर्य, अग्ला हिमाल, सांस्कृतिक स्थल र ऐतिहासिक सम्पदाका कारण पछिल्लो समय यहाँ फिल्म खिच्नका लागि अनुमति लिने विदेशी सिनेकर्मीको संख्या बढेको छ । यसले नेपाल सुटिङका लागि सम्भावनाको भूमि हो भन्ने देखाएको छ ।
चलचित्र विकास बोर्डमार्फत दोलखामा सुटिङ स्टुडियो बनाउन जग्गा प्राप्तिलगायत काम पनि अघि बढेका छन् । प्रदेशहरूले पनि यसले सहयोग गर्छौँ भनेर रुचि देखाएका छन् । हिमाली दृश्य भएको ठाउँमा स्टुडियो भयो भने त्यसको फाइदा लिन सकिन्छ भनेर पनि विदेशीहरू आउँछन् भन्ने अपेक्षाले दोलखामा फिल्म सिटी बनाउन खोजिएको हो ।