नेभिगेसन मेनु

कोभिडपछि पहिलोपटक महिनामै भित्रिए लाख पर्यटक
सम्पादक:南亚网络电视
समय:2023-04-03 12:04

Artha_Main-Chait-202023-04-03-07-48-48

विश्वभर फैलिएको कोभिड महामारीपछि थलिएको पर्यटन व्यवसायमा आशा पलाउन थालेको छ । लकडाउनपछि पहिलोपटक एक महिनामा करिब एक लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२३ को मार्च महिनामा भारत, अमेरिकासहित विभिन्न देशबाट हवाईमार्ग हुँदै ९९ हजार चार सय २६ पर्यटक भित्रिएका हुन् ।

कोभिडअघि सन् २०१९ को मार्च महिनासँग तुलना गर्दा पर्यटक आगमन ७८ प्रतिशत रिकभर भएको पर्यटन बोर्डले जनाएको छ । मार्च २०१९ मा एक लाख २७ हजार तीन सय ५१ पर्यटक नेपाल भ्रमणमा आएका थिए । महामारीपछि खस्किएको पर्यटक आगमन पछिल्ला महिनामा बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । मार्च २०२० मा ४२ हजार सात सय ७६, मार्च २०२१ मा १५ हजार दुई सय ५४, मार्च २०२२ मा ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका थिए । कोभिडपछिको तथ्यांक केलाउँदा पर्यटक आगमन लयमा फर्किने स्पष्ट संकेत देखिइसकेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए ।  

मार्च महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन् । एक महिनाको अवधिमा २५ हजार नौ सय ११ भारतीय पर्यटक भ्रमणमा आएका हुन्, जुन कुल पर्यटक संख्याको २६ प्रतिशत हो । अमेरिकाबाट एक महिनामा नौ हजार पाँच सय ५७ पर्यटक भित्रिएर दोस्रो ठूलो पर्यटन बजार बनेको छ । बेलायतबाट ६ हजार एक सय ३३ पर्यटक भित्रिएका छन् भने जर्मनीबाट चार हजार एक सय ४९ पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ । ‘भारतीयपछि सबैभन्दा बढी पर्यटक भित्रिनेमा अमेरिकन छन्, युरोपबाट आउने पर्यटकको संख्या पनि बढेको देखिन्छ,’ निर्देशक लामिछानेले भने, ‘पश्चिमा मुलुकहरूबाट पर्यटक आगमन बढ्नु सुखद संकेत हो ।’ 

यस्तै, श्रीलंकाबाट तीन हजार आठ सय ९८, थाइल्यान्डबाट तीन हजार आठ सय २९, अस्ट्रेलियाबाट तीन हजार ६ सय ३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार ६ सय ३५, साउथ कोरियाबाट दुई हजार ६ सय ३९ पर्यटक भित्रिएका छन् । कोभिडपछि ठप्प भएको चिनियाँ पर्यटक आगमन पछिल्लो दुई–तीन महिनायता बढ्न थालेको देखिन्छ । चिनियाँ सरकारले आफ्ना नागरिकका लागि भ्रमणमा निस्कने देशको सूचीमा नेपाललाई पनि समेटेको छ । ‘चिनियाँ पर्यटकको आगमन बढ्दै गइरहेको छ । छिट्टै चिनियाँ पर्यटक आगमनले पनि पुरानै लय समात्ने विश्वास छ,’ निर्देशक लामिछानेले भने ।

क्षेत्रगत रूपमा मार्च महिनामा सार्क मुलुकबाट ३३ हजार चार सय ५४, अन्य एसियाली मुलुकबाट १५ हजार ६ सय ४३, युरोपेली मुलुकबाट २३ हजार दुई सय ६५, ओसियानाबाट तीन हजार नौ सय ५८, अमेरिका र क्यानडाबाट ११ हजार पाँच सय ५७, मध्यपूर्वी मुलुकबाट एक हजार चार सय ६७ र अन्य मुलुकबाट १० हजार तीन सय ७५ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांकले देखाउँछ ।

तीन महिनामा सवा दुई लाख पर्यटक

सन् २०२३ को पहिलो तीन महिनामा कुल दुई लाख २७ हजार सात सय ५५ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । जबकि, सन् २०२२ मा वर्षभरि ६ लाख १४ हजार पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका अनुसार यस वर्ष जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५ र मार्चमा ९९ हजार चार सय २६ पर्यटक भित्रिएका छन् ।

सन् २०१९ सँग तुलना गर्दा २०२२ मा पर्यटक आगमन आधाभन्दा बढी रिकभर भइसकेको देखिन्छ । सन् २०१९ मा इतिहासकै सबैभन्दा धेरै करिब १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनले उचाइ समातिरहेको वेलामा एक्कासि फैलिएको कोभिड महामारीले पर्यटन उद्योग थला परेको हो । यही अनुपातमा पर्यटक बढ्दै गइरहे सन् २०२३ मा नौदेखि १० लाख पर्यटक नेपाल भित्रिने अनुमान गर्न सकिन्छ । 

तर, होटेल व्यवसायीमा छैन उत्साह

पर्यटक आगमन बढ्दै गइरहे पनि होटेल व्यवसायी उत्साहित देखिएका छैनन् । अधिकांश होटेलको अकुपेन्सी औसतमा २५ प्रतिशत मात्रै रहेको होटेल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाको जिकिर छ । ‘एउटा होटेल–रिसोर्ट ब्रेकइभनमा सञ्चालन हुन करिब ३५ देखि ४० प्रतिशत अकुपेन्सी चाहिन्छ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने, ‘सिजनमै होटेल खाली हुनु पक्कै पनि सुखद होइन ।’ 

अहिले सञ्चालनमा रहेका होटेलमा आम्दानी नहुँदा टिक्नै नसक्ने अवस्थामा रहेको बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेलले बताए । ‘निर्माणाधीन होटेल पेन्डिङमा राख्नुपरेको छ, सञ्चालनमा आएका होटेल खर्च धान्न नसकेर बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यदि नेपाल राष्ट्र बैंकले होटेल तथा रिसोर्टले लिएको कर्जालाई पुनर्संरचना र पुनर्तालिकिकरण नगरे धेरै होटेल बन्द हुने देखिन्छ ।’ यतिवेला ९० प्रतिशत अकुपेन्सी हुनुपर्ने पोखराका होटेलमा १५–२० प्रतिशत मात्रै अकुपेन्सी रहेको उनको भनाइ छ ।

भैरहवामा पाँचतारे होटेल पवन प्यालेस सञ्चालन गरिरहेका पवनकुमार हलुवाई पनि कोभिडपछि सहज अवस्था नआएको बताउँछन् । ‘भैरहवा एयरपोर्ट बन्ने भएपछि हतार–हतार होटेल बनाएँ, मलाई लाग्यो कि चाँडै होटेल सञ्चालनमा ल्याएँ भने त्यसको फाइदा पनि हुनेछ,’ उनले भने, ‘तर, एयरपोर्ट राम्रोसँग नचल्दा होटेलमा सञ्चालन खर्च पनि निकाल्न मुस्किल परिरहेको छ ।’

पछिल्लो समय होटेल तथा रिसोर्टको आपूर्ति बढेपछि अहिले आइरहेका पर्यटकले धान्न नसकेको पर्यटन बोर्डका निर्देशक लामिछानेको बुझाइ छ । तर, कतिपय पाँचतारे होटेल भने राम्रै अकुपेन्सीमा सञ्चालन भइरहेका छन् । सभा–सम्मेलन, बिहा, भोज बढेका कारण होटेलमा ब्यांक्वेट बिजनेस पनि बढेको उनको भनाइ छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेपछि हस्पिटालिटी उद्योगमा ठूलो लगानी ओइरिएको थियो ।

पर्यटक आगमन बढ्दो ट्रेन्डमा छ : मणि लामिछाने, निर्देशक, नेपाल पर्यटन बोर्ड

तथ्यांकले पर्यटक आगमन बढ्दै गइरहेको देखाउँछ । कोभिडअघि सन् २०१९ सँग तुलना गर्दा रिकभरी पनि बढिरहेको छ । सन् २०२३ कै जनवरीमा रिकभरी रेट करिब ७०–७२ प्रतिशत रहेकोमा फेब्रुअरीमा करिब ७४–७५ प्रतिशत पुग्यो भने पछिल्लो महिना मार्चसम्म आइपुग्दा ७८ प्रतिशत पुगेको छ ।

ट्रेकिङ र एक्स्पिडिसनको सिजन सुरु भएको हुँदा अप्रिलमा रिकभरी दर ८५ प्रतिशतसम्म पुग्न सक्छ । अमेरिकन र युरोपेली देशबाट पर्यटक आगमन बढ्दै गइरहेको छ । चिनियाँ मार्केट पनि सुधार हुँदै छ ।

फेब्रुअरीमा २२ सय ६६ चिनियाँ आएकोमा मार्चमा २६ सय ३५ पुगेका छन् । यसपटक अमेरिकन र युरोपियन पर्यटक धेरै आउँदा थप उत्साह देखिएको छ । भारत र चीनबाट यसै पनि पर्यटक आइहाल्छन् । थाइल्यान्डबाट पनि पर्यटक बढ्न थालेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर