नेभिगेसन मेनु

ठमेलमा सडक महोत्सव हुने
सम्पादक:南亚网络电视
समय:2023-04-12 13:18

Untitled-2 (1)

ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष–२०८० को पूर्वसन्ध्यामा ‘न्यु इयर इभ’ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । 

परिषद्ले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीलाई ध्यानमा राखेर ठमेलको पर्यटन प्रवद्र्धनका  लागि सडक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । उहाँले महोत्सवमार्फत ठमेल विदेशी पर्यटकमा निर्भर रहेको भ्रम चिर्दै आन्तरिक पर्यटकको आवागमन बढाउन, बस्न र घुम्नका लागि ठमेल जानुपर्छ भनेर पारिवारिक वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो । चैत ३० गते साँझ सुरु हुने महोत्सव नयाँ वर्षलाई स्वागत गरेर वैशाख १ गते राति १२ बजे सकिनेछ । सडक महोत्सव नगरीकन आमसर्वसाधारणलाई ठमेल लैजान नसकिने भनाइ उहाँको छ । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक साङ्गीतिक कार्यक्रमदेखि सांस्कृतिक साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने बताउनुभयो ।

यसअघि अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा एक लाख दर्शक सडक महोत्सवमा सहभागी रहेको जनाउँदै उहाँले यस पटक पनि एक लाखकै हाराहारीमा दर्शकले सहभागिता जनाउने बताउनुभयो । महोत्सव व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको जनाउँदै उहाँले नयाँ वर्षका अवसरमा ठमेल क्षेत्रका होटलमा अत्यधिक कोठा बुकिङ भइरहेकोसमेत बताउनुभयो । 

सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता जनाउँदै उहाँले सडकमै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाइने बताउनुभयो । महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, साङ्गीतिक कार्यक्रम र ठमेलका व्यवसायीले उत्पादन गरेका विभिन्न सामग्रीको प्रदर्शन हुनेछ । सडक महोत्सवलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीसँग र यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग छलफल भइसकेको छ । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सवले ठमेलभित्रका व्यवसायीका वस्तु तथा सेवाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर