नेभिगेसन मेनु

वर्षौं भन्सार शून्य, तर छ्यापछ्याप्ती गुट्खा
सम्पादक:南亚网络电视
समय:2023-04-27 13:17

gutka_oeMSsJF8It

राजस्व तिरेर भारतीय गुट्खाजन्य पदार्थ भित्रिएको कुनै अभिलेख जनकपुर र जलेश्वर भन्सार कार्यालयमा छैन। तर, बजारमा व्यापक मात्रामा भारतमा निर्मित गुट्खाजन्य पदार्थको बिक्री वितरण भइरहेको भेटिन्छ।

नेपाली बजारभन्दा भारतीय बजारमा रजनीगन्धा, तुलसी, राजनीवास, राजश्रीजस्ता गुट्खाजन्य पदार्थ सस्तोमा पाइने भएकाले व्यापक मात्रामा तस्करी भई जनकपुरधाम, जलेश्वर, गौशालासहितका बजारमा

भित्रिने गरेको छ।

सीमावर्ती भारतको जयनगर, सीतामढी, सुरसन्ड, कन्हवाँलगायत बजारबाट रातको समयमा तस्करले त्यस्ता महँगो गुट्खा भन्सार नाका हुँदै ग्रामीण क्षेत्रका नाकाबाट दैनिक करिब २५–३० लाख मूल्य बराबरको गुट्खाजन्य पदार्थ भित्र्याउने गरेको विभिन्न समयमा प्रहरीले बरामत गरेको तथ्यांकले देखाउँछ। सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिम्मेवार व्यक्तिलाई आफ्नो पक्षमा पारेर रातको समयमा व्यापक मात्रामा रजनीगन्धा, तुलसी, राजनिवास, राजश्रीलगायतका गुट्खा भित्र्याउने गरेको व्यापारीहरू नै बताउँछन्।

१० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा बिक्री हुने गुट्खाको आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैयाँ अन्तःशुल्क लाग्छ। तर, भारतबाट आउने यस्ता सुर्तीजन्य पदार्थको २०७१/७२ यता भन्सारमा राजस्व तिरेको कुनै अभिलेख छैन।

जलेश्वर भन्सार कार्यालयका भन्सार प्रमुख अमित पौडेलले अनुगमन गर्ने निकायको उदासीनताको कारण सरकारले बर्सेनि लाखौं रुपैयाँ राजस्व गुमाउँदै आएको बताए। भने, ‘हामीसँग ७–८ वर्षको अवधिमा भन्सारबाट भित्र्याएको कुनै तथ्यांक छैन। पक्राउ परेर मुद्दामा आएको भन्ने हो र लिलाममा गएको हो भने एउटा पसल बराबरको पनि लिलामी भएको छैन।’

अहिले नेपाली बजारमा रजनीगन्धा तुलसी प्रतिएक सेट ५० रुपैयाँसम्ममा पाइन्छ। तर, भन्सार काट्यो भने त्यसको दाम डेढगुणा हुने जनकपुरधामका एक थोक व्यापारी दाबी गर्छन्। उनले भने, ‘त्यसकारण हामीले तस्करी गर्ने कुरियरमार्फत सामान मगाउने गरेका छौं।’

यस्ता सामान बिक्री गर्ने जनकपुर आसपास क्षेत्रमा करिब हजारभन्दा बढी किराना, चिया पसल, ससाना होटलहरू छन्। वार्षिक करिब करोड माथिको अवैध व्यापार हुने यस्ता सुर्तीजन्य पदार्थ खासगरी सम्सी, जटही, जलेश्वरलगायतका नाकाको चोर बाटो तथा ग्रामीण नाकाको बाटो हुँदै प्रहरीकै सेटिंगमा आउने गरेको छ।

विशेषतः धनुषाको इनर्वा, जटही, दुहबी, मैनाथपुर र महोत्तरीको मटिहानी, रघुनाथपुर, बथनाहा, पोखरभिण्डा, सम्सीलगायतका चेकपोस्टबाट सशस्त्र र नेपाल प्रहरीको संलग्नतामा थोक व्यापारीहरूले भित्र्याउने र पोका पारेर पसल–पसलहरूमा पुर्‍याउने गरेको छ। जनकपुरको पेठिया बजार, भानुचोक, रामानन्द चोकलगायतका ठाउँमा कुरियरवालाले भारतको सीमावर्ती क्षेत्रबाट चोरी–पैठारी गरी ल्याई पुर्‍याउने गर्छ।

कुरियरवाला, गरिब मजदुरजस्ता देखिने तथा लगातार आउजाउ गर्नेहरूले भारतबाट यस्ता गुट्खा ल्याउने गरेको र यहाँबाट त्यस्ता गुट्खा सरकारी नम्बर प्लेटको गाडीमा तथा अन्य माध्यमबाट तस्करी भई काठमाडौंसम्म जाने गरेको एक व्यापारीले नाम नबताउने सर्तमा भने। तस्करी भई आउने यस्ता गुट्खा बेच्ने व्यापारी कहाँ आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग तथा सम्बन्धित निकायले छापा नमार्दा तस्कर र व्यापारीको मनोबल बढ्न गएको छ। यस्ता हानिकारक तत्वको प्रयोगलाई निरुत्साह गर्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्ने र अन्ततः बिक्री–वितरणमा समेत प्रतिबन्ध लगाउनुपर्ने जनकपुरधामका शिक्षक सञ्जीव महरा बताउँछन्।

सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले भने, ‘हामी दिन रात नभनी डियुटी गछौं। सामान नआओस् आएपनि भन्सार कटाएर लगोस् भन्ने चाहनामा डियुटी गर्छौं। एसपी सा‘पको मान्छे आएपछि माथिको निर्देशन भन्दै समान लैजान्छ। त्यतिबेला हामी निरिह बन्छौं।’

महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालले सीमावर्ती क्षेत्रहरूमा बीओपीमा कडाईपछि भन्सार बढेको र तस्करी कम भएको दाबी गर्छन्। तर, उनैको जिल्लामा पर्ने प्रमुख व्यापारी केन्द्र जलेश्वर, सम्सी, गौशाला, बर्दिबास, रामगोपालपुर, औरही, बर्दिबासलगायतका क्षेत्रहरूमा प्रतिबन्धित रजनीगन्धा भारतीय बजारबाट तस्करी भई नेपालमा भित्रिरहेको छ। खनालले भने, ‘रजनीगन्धाको सूचना हामी कहाँ पनि आएको छ। हामीले फलोअप पनि गरिरहेका छौं। सानो पोकामा पनि धेरै मात्रामा आउने भएकाले मूल्यवान नै भन्नुपर्‍यो। लुकाएर ल्याउने गरेको सूचना छ। केही पक्राउ पनि परेको छ। तर, रोक्न सकिएको छैन।’

उनले बजारमा बिक्री वितरण भएको देखेको भए पनि कहाँ, कहिले र कसरी आएको अथवा पुरानै स्टक चलिरहेको छ भन्ने कुरामा खोजिरहेको बताए। भने, ‘प्रहरीको संलग्नता छ भने थाहा छैन। प्रहरीको संलग्नता भए सबै सामान हुन्थ्यो। गुट्खा वा सुर्तीजन्य सामानमा मात्र हुन्छ भने होइन। कहीँकति नजानी भएको छ भने, त्यो भगवान जानुन्। मोटरसाइकल, साइकल वा अन्य पोकामा पनि लुकाएर ल्याउने भएको हुन सक्ने अनुमान छ। तर, ठ्याक्कै यही हो भन्न फेरि मुस्किल छ। यसमा जवाफ दिन मुस्किल छ। जवाफ दिन सकिन।’

‘बोर्डरमा त हामीले रोक्ने भयौं,’ उनले भने, ‘तर, बजारमा बिक्री वितरण स्थानीय निकायदेखि आन्तरिक राजस्व कार्यालयसम्मले हेर्ने कुरा हो। उनीहरू पनि त सचेत हुनुपर्‍यो नि,’ सशस्त्र प्रहरी उपरीक्षक खनालले भने।’

सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले रजनीगन्धा कसरी आउँछ भने कुरा ठ्याक्कै म पनि बुझौला भनेर पन्छिन् खोजे। उनले भने, ‘म रजनीगन्धा वा गुट्खाजन्य पदार्थको चोरी तस्करीमा सीमा युनिटहरूलाई विशेष ध्यान दिन निर्देशन दिन्छु।’ प्रहरी संलग्नतामा सुर्तीजन्य पदार्थहरूको चोरी पैठारी हुने गरेको व्यापारीहरूले नै भनिरहेको प्रश्नमा डीआईजी मगरले भने, ‘त्यस्तो हो भने त ठाडै कारबाही हुन्छ।’

जिल्ला प्रहरी कार्यालयकै केही कर्मचारीले जिल्लाभरिको तस्करी र सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ। ‘माथिकै प्रहरी हाकिमका विश्वास पात्रले यहाँ सेटिङ मिलाउँछन्,’ एक प्रहरीले भने। गाँजा तस्करीमा पक्राउ परेको गाडी बा ११ च ३६०६ नम्बरको सिभिल गाडी प्रयोग गरेर प्रायः रात्रिकालीन समयमा सीमावर्ती क्षेत्रमा जाने र नामुद तस्करहरूसँग मिलेर बार्गेनिङमा खाद्यान्न, लत्ताकपडादेखि सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा सहजता दिने गरेको सीमावर्ती प्रहरी चौकीका इन्चार्जहरूको गुनासो छ।

नाम नछाप्ने शर्तमा सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले भने, ‘हामी दिन रात नभनी डियुटी गछौं। सामान नआओस् आएपनि भन्सार कटाएर लगोस् भन्ने चाहनामा डियुटी गर्छौं। एसपी सा‘पको मान्छे आएपछि माथिको निर्देशन भन्दै समान लैजान्छ। त्यतिबेला हामी निरिह बन्छौं।’

सिभिलमा खटिएका घुमन्ते प्रहरीहरूले समेत प्रतिमहिना १० देखि २० हजार रुपैयाँसम्म लिने गरेको धनुषा सबैलाका एक व्यापारीले बताए। तर, यी आरोपलाई मिथ्या भएको बताउँदै धनुषाका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले भने, ‘प्रहरीको सेटिङ नभनौं। हामीले सकेजति समातेका छौं। प्रहरीलाई छलेर पनि लैजाने गरेको छ। मलाई विश्वास लाग्दैन कि प्रहरीको मिलोमतो छ।’ उनले थपे, ‘भारतबाट रजनीगन्धालगायतका गुट्खा आउन त आउँछन् तर कुन बाटोबाट आउँछन् थाहा हुँदैन। फेला पर्दा हामीले समातेका छौं नै।’

मधेस प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादवले अन्नपूर्णसँगको प्रतिक्रियामा सीमा सुरक्षाको विषयमा नेपाल प्रहरीको नभएको बताए। उनले भने, ‘सीमा सुरक्षाको विषयमा नेपाल प्रहरीको जिम्मेवारीमा छैन। तर, म यो बाट पन्छिन् पनि सक्दिनँ। लत्ताकपडादेखि बोइलर कुखुरासहित गुट्खाजन्य र सुर्तीजन्य पदार्थ रोक्न परिपत्र गर्छु।’ निमित्त डीआईजी जिम्मेवारीमा समेत रहेका यादवले एक साताभित्र गुट्खाजन्य र सुर्तीजन्य पदार्थको रिजल्ट दखिने बताए।

यस्ता घटनामा प्रहरीको संलग्नता हुन सक्नेतर्फ बोल्दै उनले भने, ‘प्रहरीको संलग्नता भनेको मेरो पनि संलग्नता हुनसक्छ। तपाईंलाई बचन दिँदैछु। अबदेखि जतिबेलासम्म निमित्त डीआईजी हुन्छु। त्यतिबेलासम्म तपाईंले रिजल्ट हेर्न सक्नुहुन्छ। यदि त्यस्तो हँुदैछ भने हामीलाई सूचना सेयर गर्नुहोस्। कहाँ छापा हान्नुपर्छ, कहाँ के गर्नुपर्छ, म त्यो गर्छु।’

बजारमा भेटिन्छ छ्यापछ्याप्ती

जनकपुरधाम, जलेश्वरसहित आसपासका क्षेत्रमा भारतीय गुट्खा अवैध रूपमा भित्रिने गरेको पाइएको छ। आर्थिक वर्ष २०७१/७२ मा जलेश्वर भन्सार कार्यालय र जनकपुरधाम भन्सार कार्यालयबाट सञ्चालित नाकाहरूमध्ये कुनै पनि नाकाबाट राजस्व दाखिला गरी रजनीगन्धा, पानपराग, राजनीवास, भेला, कमला पसन्दलगायतका भारतीय गुट्खाजन्य तथा सुर्तीजन्य पदार्थ गुट्खा भित्रिएको विवरण छैन।

भन्सार कार्यालयका जलेश्वरका प्रमुख अमित पौडेलका अनुसार कुनै पनि भारतीय गुट्खा राजस्व तिरेर जलेश्वरबाट भित्रिएको छैन। तर, जनकपुरधाम, जलेश्वरसहित मधेस प्रदेशको अधिकांश जिल्लाका प्रत्येक पान, किराना, चिया, होटललगायतका अन्य पसलमा भारतीय गुट्खा निर्वाध रूपमा बिक्री भइरहेका छन्। १० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा बिक्री हुने गुट्खाको आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेको भन्सार कार्यालयले जनाएको छ।

यस नाकाबाट वैधरूपमा नभित्रिए पनि विरगञ्ज, सर्लाही, विराटनगरलगायतका अन्य नाकाहरूबाट पनि भित्रिएको हुन सक्ने उनले प्रतिक्रिया दिए। ‘सीमावर्ती भारतीय बजारमा भारतीय गुट्खाका ठूला कारोबारी बस्छन्,’ जनकपुरधाम एक गुट्खा व्यापारी अख्तर साह भन्छन्, ‘भन्सारबाट नआए पनि प्रहरीकै सेटिङमा ल्याएर नेपाली बजारमा खुल्ला बिक्री वितरण हुँदै आएको छ।’

गुट्खाजन्य पदार्थहरूमा गोवा, पराग, पान पसंद, जाफरी, कोलहापुरी, दिलबाले, विमल, मधु, हीरा, सागर, बाम्बे, अमृत प्लसलगायत नेपाली ग्राहकको पहिलो रोजाइ पनि भारतीय गुट्खा नै रहेको बिक्रेताहरू बताउँछन। भन्सार राजस्व छली बजारमा निर्वाध गुट्खा बिक्री भइरहे पनि सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन।

गुट्खा कारोबारीले ग्रामीण नाकाबाट मात्र नभई जलेश्वर, जनकपुरधामको मुख्य नाकाबाटै गुट्खा तस्करी गर्छन्। स्रोतका अनुसार महोत्तरीको मटिहानी, सम्सी, यसैगरी धनुषाको इनर्वा, लग्मा जटही, भडरिया नाकाबाट साइकल, मोटरसाइकल र पिकअप जिप भ्यानमा भारतीय गुट्खा भित्र्याउने गरेका छन। ‘ग्रामीण नाकामा तैनाथ सुरक्षाकर्मीलाई खुद्रा व्यापारीले पटके रूपमा नजराना बुझाउँछन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘ठूला कारोबारीले मासिक रूपमै जिल्ला प्रहरी कार्यालयदेखि चौकी इन्चार्जसम्मलाई पैसा बुझाउँछन। अनि गुट्खाजन्य पदार्थ ल्याउँछन्।’

महँगो कर छल्न व्यापारीले भारतीय गुट्खा अवैध तरिकाले मुलुक भित्र्याउने गरेका छन्। आन्तरिक राजस्व कार्यालयका प्रमुख अधिकृत किशोर बर्तौलाका अनुसार हालसम्म भारतीय गट्खाको अनुगमन गरिएको छैन। ‘भन्सार राजस्व छली गरी भित्रिने गरेको र बेच्ने पनि गरेको पाइएको छ,’ उनले भने, ‘राजस्व कार्यालयको करदाताहरूले अनुगमनको क्रममा अन्नःशुल्कमा दर्ता गरेर नियमित अस्थायी लेखा नम्बर लिएर कारोबार गरे मात्र कानुनी रूपमा वैधता मानिने छ। अझ जनकपुरधाम उपमहानगरपालिका भित्र वार्षिक ७ हजार आयकर र २ हजार अन्तःशुल्क नवीकरण गरी वार्षिक ९ हजार तिर्नुपर्ने हुन्छ, तर बजारमा जाँदा केहीबाहेक कारादाताले नियमानुसार चलेको पाइँदैन। हाम्रो मन्त्रालय र विभागबाट कडाईका साथ नियम पालना गर्न/गराउन पत्र आएकाले यसै महिनाबाट निर्णय कार्यान्वयन गराउन पहल गछौं।’

गुट्खाजन्य सेवनले क्यान्सर

पान मसलासँगै विभिन्न किसिमका आकर्षक प्याकिङ भएका विभिन्न नामका गुट्खा तस्करीको बाटो भई अवैध रूपमा भित्रिनाले यसको सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको चिकित्सकहरू बताउँछन्।

‘अत्यधिक गुट्खा र सुर्तीजन्य पर्दाथको सेवनले शारीरिक तौल कम हुने, पेट, फोक्सो, घाँटी र मुखमा प्रत्यक्ष असर पर्ने विभिन्न परीक्षणबाट समेत प्रमाणित भइसकेकाले यसबाट टाढा नै बस्नुपर्छ,’ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादवले भने, ‘अहिले स्थानीय बजारमा रजनीगन्धा, तुलसी, राजनीवास, भोला, राजश्री, शिखर, पराग, मधुलगायतका विभिन्न नाम गरेका गुट्खा प्रचलनमा छन्। सुर्तीजन्य पदार्थ र जर्दाको मिश्रण गरी बनाइने हुँदा यसका सेवनकर्तालाई क्यान्सर हुने बढी सम्भवना रहन्छ।’

यसमा अति सुगन्धित र विषादी तत्वहरू हाइड्रोकार्बन नाइट्रोजेमिन र विभिन्न किसिमका नशालु रासायनिक पदार्थको सम्मिश्रण गरी यस्ता उत्पादनलाई उपभोक्तासम्म पुर्‍याइने हुँदा यसलाई प्राणघातक तत्व भने पनि हुने विज्ञहरू बताउँछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर