नेभिगेसन मेनु

मधेस सरकारबाट बाहिरियो एमाले
सम्पादक:南亚网络电视
समय:2023-04-05 12:58

uml2022-11-24-09-18-18

राष्ट्रपतीय निर्वाचनमा समीकरण फेरिएसँगै केन्द्र, सुदूरपश्चिम र बागमती सरकार गुमाएको एमाले मंगलबार मधेसबाट पनि बाहिरिएको छ । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा उम्मेदवार खडा गरेसँगै एमालेका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले मधेस सरकारबाट राजीनामा दिएका छन् ।

बारा २ मा सत्तागठबन्धनबाट उम्मेदवार बनेसँगै जसपा अध्यक्ष उपेन्द्र यादवलाई फेरिएको समीकरणमा जान सहज भएको हो । बारामा कांग्रेस, माओवादी, एकीकृत समाजवादीले यादवलाई सघाएका छन् । उपनिर्वाचनपछि मधेस सरकारमा कांग्रेसलाई पनि भित्र्याउने तयारी भइरहेका वेला एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधारमन्त्री सरोज यादव, कानुनमन्त्री राजकुमार लेखी, गृहमन्त्री शत्रुधनप्रसाद सिंह, युवा तथा खेलकुदमन्त्री मो. जैद आलम र गृहराज्यमन्त्री केशव रायले राजीनामा दिएका हुन् । 

मंगलबार नै राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले संघमा भएको समीकरणअनुसार नै प्रदेशमा पनि सरकार विस्तार हुने बताए । ‘उपनिर्वाचनपछि कांग्रेस, लोसपा, एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुन्छन् । अहिले निर्वाचन आचारसंहिता भएकाले सरकार विस्तार हुन नसकेको हो,’ उनले भने । संघ सरकारबाट बाहिरिएको जनमत पार्टी भने मधेस सरकारमा छ । यसबारे पार्टी (जसपा)मा कुनै छलफल नभएको मुख्यमन्त्री यादवले बताए । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले तत्काल प्रदेश सरकार छोड्ने सम्भावना नरहेको बताए ।

मुख्यमन्त्रीले फोन गरेर सरकार छोड्न भनेका थिए

केन्द्रमा समीकरण फेरिएसँगै मधेसमा पनि समीकरण फेर्नुपर्ने भन्दै कांग्रेसले जसपालाई दबाब दिँदै आएको थियो । जसपाले बारा २ मा उपनिर्वाचनको उम्मेदवारमा गठबन्धनको साथ रहने सुनिश्चितता खोजेको थियो । उपनिर्वाचनमा गठबन्धनबाट यादव साझा उम्मेदवार बन्ने स्थिति नभए एमालेको सहयोग लिने रणनीतिमा जसपा थियो । तर, गठबन्धनले सघाउनुका साथै एमालेले उम्मेदवार खडा गरेको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री यादवले सोमबार साँझ मात्र एमाले संसदीय दलका नेता यादवलाई फोन गरेर सरकार छोडेर सहयोग गर्न आग्रह गरेका थिए । ‘गठबन्धनको निर्णयअनुसार एमालेलाई सरकार छोड्न आग्रह गरेका थियौँ । सोहीअनुसार एमालेका साथीहरूले राजीनामा बुझाएका हुन्,’ उनले भने ।

एमाले मधेस संसदीय दलका नेता सरोज यादव पनि आफूहरूले सुरुदेखि नै उपनिर्वाचनमा बाराबाट जसपालाई सहयोग गर्ने आवश्वासन दिएको बताउँछन् । ‘जसपा गठबन्धनसँग पनि नजिक थियो र हामीसँग पनि । अन्तिम समयमा जसपालाई गठबन्धनले सघाएपछि हामीले उम्मेदवार खडा गरेका हौँ,’ उनले भने । एमालेले बारा २ मा पुरुषोत्तम पौडेललाई अघि सारेको छ । यद्यपि, यहाँ गठबन्धनमा रहेका जनमत र नागरिक उन्मुक्तिले उम्मेदवारी दिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर