संखुवासभा सदरमुकाम खाँदबारीका साढे तीन हजार घरपरिवारलाई लक्षित गरी ४५ करोड लागतमा बनाइएको खानेपानी आयोजना चार वर्षमै ध्वस्त भएको छ । ०६९ बाट सुरु गरेर ०७४ मा निर्माण सम्पन्न भई ०७७ जेठमा खानेपानी समितिलाई हस्तान्तरण गरिएको खाँदबारी खानेपानी आयोजना एक वर्षदेखि बन्द भएको हो ।
खाँदबारीदेखि एक सय ३७ किलोमिटर दूरीको मकालु गाउँपालिका– ५ माङसिमास्थित सिमाली खोलाबाट पानी ल्याइएको थियो । तर, खाँदबारी–देउराली कच्ची सडकखण्डमा जमिनको माथिल्लो सतहमै बिछ्याइएको पाइप बर्खामा गुड्ने गाडीले थिचिएर क्षतविक्षत भएपछि पानी आउनै बन्द भएको छ ।
सुरुमा ३४ करोड ४३ लाख लागत इस्टिमेट गरिएको आयोजनाबाट सुरुवाती चरणमा खाँदबारीदेखि चिचिलासम्मका दुई हजार पाँच सय परिवारलाई खानेपानी पुर्याइएको थियो । आयोजना बनाउँदा तीन हजार पाँच सय ९९ परिवारलाई पानी खुवाउने भनिएको थियो । तर, आयोजनाको पानी खाँदबारी ल्याउन उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी–देउराली सडकखण्डमा गलत ढंगबाट बिछ्याइएका पाइपलाइन नै आयोजना असफल हुनुको मुख्य कारण बन्यो ।
‘त्यतिखेर सडकको दायाँबायाँभन्दा बाहिर स्थानीयको जग्गाबाट पाइपलाइन बिछ्याउन दिइएन, हामीले मुआब्जासमेत दिन नसक्ने भएकाले सडकबाटै पाइपलाइन ल्याइएको थियो,’ खाँदबारी नगरपालिकाको कार्यपालिका सदस्य एवं खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्रकुमार राईले भने । उनका अनुसार तत्कालीन जिल्ला विकास समिति, खाँदबारी नगरपालिका, खानेपानी संस्था, स्थानीय र राजनीतिक दलबीच सहमतिमा खाँदबारीदेखि देउरालीसम्म ४२ किलोमिटर पाइपलाइन सडकमै बिछ्याइएको थियो ।
तर, सडकले पाइपलाइन लथालिंग बनाएकाले योजना सफल नभएको सबइन्जिनियर गुरुङले बताए । पानी खाँदबारी पुर्याउनुअघि मकालु गाउँपालिका– ५ माङसिमाको सिमाली खोलाबाट भाटभोटेनी डाँडा हुँदै देउराली–कब्दानेमा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । त्यसपछि कब्दानेदेखि चिचिला आसपासका क्षेत्र हुँदै खाँदबारी नगरपालिकाको छ्याङकुटी–सेकाहा–मानेभञ्ज्याङ हुँदै खाँदबारीसम्म खानेपानी वितरण गरिएको थियो । यसबीचमा कब्दाने, छ्याङकुटी, पांमा, झरिथुम्का र खाँदबारी आर्मीक्याम्प डाँडामा गरी पाँच ठाउँमा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । तर, सिमाली खोलाबाट आएको खानेपानीको पाइपलाइन खाँदबारीदेखि देउरालीसम्म ४२ किलोमिटर सडकमा बिछ्याइएको पाइपलाइन गाडीले क्षतविक्षत बनाएपछि आयोजना नै असफल बन्यो । जब कि लागत भने ३४ करोडबाट बढेर ४५ करोड नाघेको छ ।
सिमाली खोलाको पानी ९५ किलोमिटर दूरीको भाटभोटेनी डाँडासम्म आएको छ । तर, त्यहाँ बस्ती नभएकाले प्रयोगविहीन छ । सिमाली खोलाबाट ल्याइएको पानीका लागि चिचिला गाउँपालिकाको कब्दानेमा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । चिचिला बजार र आसपासका क्षेत्रमा समेत वितरण गरेर त्यसपछि खाँदबारी– ४ को सिरान छ्याङकुटीडाँडामा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । त्यसपछि पांमामा रिजर्भ ट्यांकी छ, त्यसले त्यहीँवरिपरि वितरण गर्ने भनिएको थियो भने झरिथुम्कामा रहेको ट्यांकीबाट वरपरका बस्तीमा पानी वितरण गर्ने लक्ष्य रहेको थियो । खाँदबारी आर्मीक्याम्प डाँडामा रहेको ट्यांकीमा त पछिल्लो एक वर्षदेखि सिमालीको पानी आउनै छाडेको छ ।
खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सबइन्जिनियर सलबहादुर गुरुङका अनुसार एसियाली विकास बैंक (एडिबी)को ५० प्रतिशत अनुदान, ४५ प्रतिशत ऋण र पाँच प्रतिशत स्थानीय उपभोक्ताबाट रकम संकलन गरी आयोजनाको सुुरुवात गरिएको थियो ।
सिमालीको पानी आउन छाडेपछि फेरि पुरानै मुहानको भर
सिमाली खोलाको पानी आउन छाडेपछि खाँदबारीका बासिन्दा फेरि पुरानै मुहानमा फर्किएका छन् । अहिले खाँदबारी– ४ सेकाहाको महाभिर, छवया र भ्याङखोला मुहानको पानी उपभोग गर्दै आएका छन् । अहिले सो मुहानको पानी दुई हजार दुई सय घरधुरीले खाइरहेका छन् । यी मुहान खाँदबारीबाट करिब १२ किलोमिटर दूरीमा पर्छन् ।
यसअघि सिमाली खोलाबाट ल्याइएको पानी र सेकाहाको महाभिर, छवया र भ्याङखोला मुहानको पानी एउटै ट्यांकीमा संकलन गरेर वितरण गरिएको थियो । तर, अहिले सिमाली खोलाको पानी आउन छाडेपछि खाँदबारीवासी साबिककै सेकाहा महाभिर, छवया र भ्याङखोला मुहानको पानी उपभोग गर्दैैै आएका छन् । तर, यहाँका धारामा सातामा एकपटक मात्र पानी आउँछ ।
तीन सय परिवारले फिर्ता लगे पैसा
०६९ मा खानेपानी आयोजना बनाउन उपभोक्ताबाट प्रतिघर पाँच हजारदेखि २५ हजारसम्म संकलन गरिएको थियो । पानी आउन छाडेपछि तीन सय परिवारले पैसा फिर्ता लगेका छन् । खाँदबारीका स्थानीय बरुणकुमार गुरुङ महँगो शुल्क तिरेर पनि खानेपानी पाउन नसकिएको बताउँछन् । खाँदबारी खानेपानीको महसुल पाँच युनिटको दुई सय ३० रुपैयाँ, ६ देखि १० युनिटसम्म प्रतियुनिट ७० रुपैयाँ, ११ देखि २० युनिटसम्म प्रतियुनिट एक सय पाँच रुपैयाँ र २१ देखिमाथि प्रतियुनिट एक सय ५५ रुपैयाँ तोकिएको छ ।