नेभिगेसन मेनु

अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारी नेपालमा !
सम्पादक:南亚网络电视
समय:2023-04-10 16:09

1681086419_lal ju-1200x560

केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो। यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ। उनीहरू चैत २० गतेअघि नै नेपाल–भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने। अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली नेपाल आएको सुरक्षा स्रोतले जनाएको छ। भारतीय दूतवासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी र अध्यागमन विभागलाई अमृतपाल नेपालमा लुकेको आशंका गर्दै निगरानी गर्न आग्रह गरेको थियो। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अमृतपालको निगरानीसमेत गर्दै आएको छ। अध्यागमन विभागले पनि निगरानी गरिरहेको जनाइएको छ।

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपालको निगरानी सुरक्षा निकायले गरिरहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए।

‘नेपाल प्रहरीले उनको निगरानी गरिरहेको छ तर हामीलाई अमृतपाल नेपाल आएको भन्ने कुनै जानकारी छैन, उनी नेपालमा छैनन्,’ डिआइजी पोखरेलले भने। भारतीय सुरक्षा अधिकारीहरू नेपाल आएको विषयमा पनि नेपाल प्रहरीलाई औपचारिक-अनौपचारिक रूपमा कुनै जानकारी नभएको उनले बताए। ‘उनीहरू नेपाल आएको जानकारी छैन। अनौपचारिक रूपमा आउँछन्, पशुपतिको दर्शन गर्छन् र जान्छन् तर अमृतपाल सिंहकै खोजतलास गर्नेगरी आएको भन्ने कुनै जानकारी प्राप्त भएको छैन,’ डिआइजी पोखरेलले भने।

भारतले राज्य विप्लव वा विखण्डनकारीको अभियोग लगाएपछि नेपालका सुरक्षा अधिकारीहरूले अमृतपाललाई पनि त्यही दृष्टिले हेर्न थालेका छन्। भारतमा आतंक फैलाएर नेपाल छिर्ने र नेपाल हुँदै तेस्रो मुलुकमा पनि जान खोज्ने भएकाले अन्तर्राष्ट्रिय आतंकवादीका रूपमा नेपाली सुरक्षा अधिकारीहरूले निगरानी गरिरहेका हुन्।

अमृतपालविरुद्ध भारतमा ज्यान मार्ने उद्योग गरेको, अशान्ति मच्चाएको र कानुन कार्यन्वयनमा अवरोध पुर्‍याएको तथा राज्य विप्लव गरेको आरोप छ। ‘वारिस दे पन्जाब’ नामक संगठनका प्रमुखसमेत रहेका अमृतपाल उत्तराखण्ड पुगेको र त्यहीबाट नेपाल छिर्न सक्ने भन्दै भारतीय सुरक्षा स्रोतले नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोलाई खबर गरेको थियो। त्यसयता दुवै प्रहरीका गुप्तचर उनको निगरानीमा परिचालित छन्। भारतीय दूतावासले पनि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर अमृतपालको निगरानी गर्न आग्रह गरेको थियो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले अहिलेको अवस्थामा अमृतपाल नेपाल पसेको कुनै जानकारी नभएको बताए। ‘दुई देशको सम्बन्धको विषय पनि भएकाले यो विषयमा सुरक्षा निकायहरू संवेदनशील हुन्छन् नै, सशस्त्र प्रहरीको जिम्मेवारी सीमा सुरक्षा पनि भएकाले सीमामा निगरानी भइरहेको छ। अमृतपाल नेपाल प्रवेश गरेका छन् भन्ने बारेमा सशस्त्र प्रहरीलाई कुनै जानकारी छैन,’ सहायक प्रवक्ता थापाले भने।

अमृतपाल नेपाल पसेकोमा विश्वस्त हुन नसके पनि नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष रणनीति बनाएर निगरानी भने गरिरहेका छन्। भारतमा उनको खोजी तीव्र भएको अवस्थामा खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने वा गरिसकेको हुन सक्ने दुवै कोणबाट अमृतपालको खोजीमा सुरक्षा अधिकारी खटिएका छन्।

अमृतपालबारे अनुसन्धान र खोजीको नेतृत्व प्रहरीको विशेष ब्युरोले गरेको छ। यसका लागि विशेष ब्युरोको जनशक्तिसँगै अनुसन्धानमा खटिने अन्य युनिटका प्रहरीसमेत परिचालित छन्। उनी नेपाल-भारत सीमामा लुक्न सक्ने भएकाले सीमावर्ती बस्ती र गुरुद्वारामा प्रहरीले निगरानी गरिरहेको छ। उनी खालिस्तानको पक्षधर भएकाले उनले धार्मिक स्थलमा शरण लिन सक्ने प्रहरी अनुमान छ। २९ वर्षीय अमृतपालले पछिल्लोपटक भारतमै आत्मसमर्पण गर्न चाहेको समाचार पनि भारतीय अखबारहरूले सार्वजनिक गरेका थिए। ‘पछिल्ला दिनमा शंका लागेका मुख्यतः सिख समुदायका मानिस र उनीहरूको धार्मिक स्थललाई निगरानीमा राखिएको छ,’ उच्च सुरक्षा स्रोतले भन्यो। भारतमा पनि सिख समुदायका नागरिकलाई त्यहाँका प्रहरीले सोधपुछ गर्ने क्रम बढाइएको छ।

अमृतपाल सम्पर्कविहीन भए पनि खालिस्तान समर्थकहरूलाई भने भारतीय प्रहरीले देशैभरिबाट धमाधम पक्राउ गरिरहेको छ। हिंसा भड्कन सक्ने भन्दै भारत सरकारले पन्जाब राज्य सीमाभित्र केही दिनयता इन्टनेरटसमेत अवरुद्ध गरेको छ।

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरी आफ्ना सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले कारबाही सुरु गरेको थियो। भारतीय प्रहरीले अमृतपालमाथि लुकआउट नोटिस तथा बिनाधरौटीको पक्राउ पुर्जी जारी गरिसकेको छ। अमृतपालमाथि धरपकड हुन थालेपछि पश्चिमा मुलुकमा रहेका खालिस्तान समर्थकहरूले भारतीय नियोगमा राखिएका झन्डाहरू निकालेर खालिस्तानी झन्डासमेत राखेका थिए।

खालिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको अवस्थामा नेपाली सुरक्षा अधिकारीहरू समेत ‘हाई अलर्ट’मा छन्। सन् १९८४ को जुन ६ मा भारतीय राज्य पन्जाबको राजधानी अमृतसरमा रहेको सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा भारतीय सेना बलपूर्वक प्रवेश गरेपछि विवाद चर्किएको थियो। त्यतिबेला भारतमा सिख धर्मावलम्बीका लागि अलग देश खालिस्थान स्थापना गराउने पृथकतावादी आन्दोलन उत्कर्षमा पुगेको भन्दै सेना बलपूर्वक मन्दिरमा पसेको थियो।

सिख अभियन्ताले स्वतन्त्र खालिस्तान हासिल गर्न आतंकवादी गतिविधिको सहारा लिएका थिए।  

भारतीय सुरक्षा फौजले अन्यत्र टिक्न नदिने देखेपछि पृथकतावादीले स्वर्ण मन्दिरलाई किल्ला बनाएर त्यहीँबाट गतिविधि सञ्चालन गर्न थालेका थिए। अन्ततः भारत सरकारले मन्दिरभित्रै पसेर उनीहरूको ‘सफाया’ गर्ने निधो गरेपछि त्यसले उग्र रूप लिएको थियो। भारतीय फौज मन्दिरभित्र प्रवेश गर्दा भएको भिडन्तमा डेढ सय पृथकतावादी, ८३ सुरक्षाकर्मी र करिब ५०० सर्वसाधारणको मृत्यु भएको थियो। त्यस सैन्य कारबाहीलाई ‘अपरेसन ब्लु स्टार’ नामले चिनिन्छ। सो घटनापछि खालिस्तान आन्दोलन सेलाएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर