नेभिगेसन मेनु

भारतीय सीमा ठोरी र चीनको सीमा रोइला जोड्ने व्यापारिक मार्ग बन्दै
सम्पादक:南亚网络电视
समय:2023-04-07 13:36

Artha_Main-Chait-242023-04-07-07-27-02

चितवनको ठोरी (नेपाल–भारत सीमानाका)बाट गोरखाको रोइला भञ्ज्याङ (नेपाल–चीन सीमानाका)सम्म उत्तर–दक्षिण व्यापारिक मार्ग बन्ने भएको छ । यस रुटमा पर्ने हालकै सडकलाई स्तरोन्नति र थप सडक विस्तार गरेर चितवनको ठोरीबाट गोरखाको रोइलासम्म व्यापारिक मार्ग बनाउने योजनामा सडक विभाग पुगेको हो । अहिले चीन र भारतलाई जोड्ने गरी कर्णाली, कालीगण्डकी र कोसी करिडोर लोकमार्ग निर्माणका चरणमा छन् । अब चीन र भारतलाई जोड्ने गरी उत्तर–दक्षिण मार्ग बनाउन लागिएको हो ।

अहिले चितवनको ठोरीसम्म सडक सञ्जाल पुगिसकेको छ । गोरखामा पनि बेनीघाट–आरुघाट–सान्दो बजार–लार्के भञ्ज्याङ खण्डमा सडक निर्माण भइरहेको छ । अन्य खण्ड (चितवनको नारायणगढ–मुग्लिन–बेनीघाट)मा यसअघि नै सडक बनिसकेका छन् । अब गोरखाको सान्दो बजारबाट नेपाल–चीन सीमानाका रोइला भञ्ज्याङसम्म थप सडक विस्तार गर्ने विभागको तयारी छ ।साथै, त्यसलाई दीर्घकालीन रूपमा उत्तर–दक्षिण व्यापारिक राजमार्गका रूपमा अघि बढाइने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । 

‘गोरखाको सान्दो बजारबाट नेपाल–चीन सीमानाका रोइला भञ्ज्याङसम्मको दूरी आठ–नौ किलोमिटर मात्रै छ । साथै, त्यहाँ सडक बनाउन भौगोलिक रूपमा पनि फिजिबल देखिएको छ । सोहीअनुसार तत्काल रोइला भञ्ज्याङसम्म सडक विस्तार गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘साथै, यसलाई दीर्घकालीन रूपमा व्यापारिक राजमार्गकै रूपमा अघि बढाउने हाम्रो योजना छ ।’ कम लागतमा नै यो आयोजना बनाउन सकिने उनको भनाइ छ । 

हाल गोरखामा बेनीघाट–आरुघाट–सान्दो बजार–लार्के भञ्ज्याङ (गोरखा लमजुङ सीमा क्षेत्र) सडक आयोजना निर्माणाधीन अवस्थामा छ । तर, लार्के भञ्ज्याङसम्म सडक पुर्‍याउँदा त्यति फाइदा नहुने विभागको भनाइ छ । त्यसपछि यसलाई संशोधन गरेर बेनीघाट–आरुघाट–सान्दो बजार–रोइला भञ्ज्याङ आयोजनाका रूपमा अघि बढाइने आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए ।

अब सान्दो बजारबाट लार्के भन्ज्याङतर्फ नभई सान्दो बजारबाट रोइला भञ्ज्याङतर्फ सडक निर्माण गरिने उनको भनाइ छ । ‘यो आयोजनालाई यहीअनुसार अघि बढाउने गरी संशोधन प्रस्तावसमेत अघि बढिसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संशोधन प्रस्ताव स्वीकृत गरेपछि थप प्रक्रिया अघि बढ्नेछ,’ नयाँ पत्रिकासँग उनले भने । सान्दो बजारबाट रोइला भञ्ज्याङतर्फ सडक ट्र्याकसमेत खोल्ने तयारी गरिएको उनको भनाइ छ । 

बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक आयोजना ०७६ मा राष्ट्रिय राजमार्गमा सूचीकृत भइसकेको छ । साथै, चालू आवमा यो आयोजना सरकारको रातो किताबमै परेको छ । कुल एक सय ५८ किमि लामो हुने यस सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ । त्यसमा तल्लो भेगमा पर्ने बेनीघाट–हावाडाँडा खण्ड (८५ किमि)को ट्र्याक खुलिसकेको छ । त्यसमा सवारीसाधनसमेत गुड्न थालेको छ ।

हावाडाँडाबाट लार्के भञ्ज्याङसम्मको खण्ड (७३ किमि)मा भने नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । त्यसमा गत आवसम्म सेनाले १८ किमि खण्डको ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरिसकेको छ । अब यो सडक चिनियाँ नाकातर्फ जोड्ने भएपछि निर्माण पनि सोहीअनुसार अघि बढाइने विभागको तयारी छ । 

चीनबाट रोइला भञ्ज्याङ नाकासम्म पक्की सडक आइसकेको छ । त्यो अवस्थामा रोइला भञ्ज्याङसम्म सडक पुर्‍याउन सकेमा नेपाल–चीनबीचको कनेक्टिभिटीमा कोसेढुंगा साबित हुने महानिर्देशक ढकालले बताए । साथै, गोरखा जिल्लाको विकासमा समेत कोसेढुंगा साबित हुने उनको भनाइ छ ।

‘गोरखा जिल्लामा तुलनात्मक रूपमा कनेक्टिभिटी कम छ । फलस्वरूप स्थानीयले दुःख पनि पाइरहेका छन् । साथै, गोरखामा जडीबुटीका स्रोतहरू पनि भएको बताइन्छ । त्यहाँ अन्य व्यावसायिक सम्भावना पनि छ,’ उनले भने, ‘त्यो अवस्थामा यो आयोजना बनाउन सकेमा गोरखाको विकासमा ठूलो सहयोग पुग्छ । साथै, स्थानीयहरूको जीवनयापन सहज बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’

साथै, नेपाल–चीन व्यापारमा पनि महत्वपूर्ण सहयोग पुग्ने उनले बताए । ‘यसले भारत, नेपाल र चीनबीच हुने व्यापारमा समेत महत्वपूर्ण योगदान हुने सम्भावना छ । किनकि, यो सडकमार्फत दक्षिण सीमा क्षेत्र ठोरी र उत्तरी सीमा क्षेत्र रोइलालाई एक–आपसमा जोड्छ, । तसर्थ, यसले भारत, नेपाल र चीनबीचको व्यापारमा समेत सहयोग पुग्छ,’ उनले भने, ‘तसर्थ, यसलाई व्यापारिक मार्गका रूपमै विस्तार गर्ने दीर्घकालीन योजनामा छौँ ।’

साथै, यस सडकलाई बढी उपयोगी बनाउन सरकार नै अग्रसर हुनुपर्ने उनले बताए । ‘हाम्रो काम त सडक बनाउने मात्रै हो । सोहीअनुसार रोइलासम्म सडक पुर्‍याउने योजनामा हामी छौँ,’ उनले भने, ‘तर, यसलाई उपयोगी बनाउन सरकारले चीनसँग पनि आवश्यक समन्वय तथा पहल गर्न आवश्यक छ । आशा छ, सरकारले यसलाई सोहीअनुसार अघि बढाउने गरी काम गर्नेछ ।’ 

हाल नेपाल र चीनबीच रसुवागढी, कोरला, तातोपानी, किमाथांका, लोमाङथाङ, ओलाङचुङगोलालगायतका ठाउँमा नाका सञ्चालनमा छन् । अब गोेरखास्थित रोइला भञ्ज्याङबाट अर्काे नाका सञ्चालनमा आउने सम्भावना देखिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर