नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज र मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि शुक्रबार बिहान करिब साढे १० बजे हेटौँडा–निजगढमाथिको आकाशमा आइपुगेका थिए ।
विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले सुरुमा निगमको एयरबस ३२० लाई १८ हजार र एयर इन्डियाको जहाजलाई १९ हजार फिट उचाइमा होल्ड गर्न अनुमति दिएको थियो । त्यहीँ आकाशको वरिपरि ११ हजार फिटमाथि अरू जहाज पनि अवतरणका लागि होल्डमै राखिएका थिए ।
एटिसीले सबैभन्दा तल होल्डमा रहेको जहाजलाई प्राथमिकता दिएर विमानस्थलमा अवतरण गराउने गर्छ । र, सबैभन्दा माथि होल्डमा रहेका जहाजलाई डिसेन्ट (उचाइ घटाएर) गराउँदै क्रमशः अवतरण गराउन निर्देशन दिने गरिन्छ । तलका जहाज अवतरण गरेर आकाश खाली भएपछिएटिसीले निगमको १८ हजार फिट उचाइमा उडिरहेको जहाजलाई १५ हजार फिट उचाइमा झर्न अनुमति दियो । तर, त्यही समयमै एयर इन्डियाका पाइलटले एटिसीको अनुमतिविनै १९ हजार फिट उचाइमा उडिरहेको जहाजलाई करिब १५ हजार फिटआसपासमा डिसेन्ट गरे ।
निगम र एयर इन्डियाको जहाज करिब–करिब एउटै उचाइ (१५ हजार फिट)मा घुम्न थालेपछि एटिसीहरू अत्तालिए । हवाई सुरक्षा मापदण्डअनुसार आकाशमा उडिरहेका दुईवटा जहाजको भर्टिकल डिस्टेन्स कम्तीमा हजार फिट हुनुपर्छ । एयर इन्डियाको जहाजलाई एक्कासि १५ हजार फिटमा झारेपछि निगमको जहाजको ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम (टिकास) अलर्ट भएको थियो । अर्को जहाजसँगको दूरी हजार फिटभन्दा कम हुनासाथ टिकासले अलर्ट दिन्छ । अलर्ट आउनेबित्तिकै निगमका पाइलटले अर्को जहाज आफूनजिक रहेको एटिसीलाई जानकारी गराएका थिए ।
त्यसपछि एटिसीले १५ हजार फिटमा होल्ड भइरहेका अन्य जहाजलाई झन् तल झारेर निगमलाई साढे १३ हजार फिट उचाइमा उड्न सुझाव दियो र एयर इन्डियाको जहाजलाई १६ हजार फिट उचाइ लिन निर्देशन दिएको थियो । यसरी एटिसीको मद्दतमा दुई ठूला जहाज आकाशमै दुर्घटना हुनबाट जोगिए ।
नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले टिकासमा भएको अलर्टका कारण दुई जहाज दुर्घटना हुनबाट जोगिएको बताए । ‘निगमको जहाज १५ हजार फिटमा होल्ड भइरहेको थियो, एयर इन्डियाको जहाज १६ हजार फिटसम्म झर्दा टिकासमा अलर्ट आएको थिएन,’ उनले भने, ‘जहाज १६ हजार फिटभन्दा पनि तल झारेपछि अलर्ट बज्यो ।’
एडर इन्डियाका चालक दलले हवाई सुरक्षामा गम्भीर लापरबाही गरी जहाज झारेका कारण नियमनकारी निकाय क्यानले तीन सदस्यीय छानबिन थालेको छ । समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउनेछ । त्यस्तै, एटिसीमा रहेका तीन कर्मचारीलाई पनि निलम्बन गरिएको छ भने एयर इन्डियाका पाइलटलाई पनि तत्काल जहाज उडानमा रोक लगाइएको छ ।
‘छानबिन रिपोर्ट नआउँदासम्म एटिसीलाई सक्रिय ड्युटीबाट हटाइएको छ । त्यस्तै, एयर इन्डियाका पाइलटलाई काठमाडौं उडानमा रोक लगाएका छौँ,’ भुलले भने, ‘छानबिनपछि एटिसीको कमजोरी देखिए एटिसीलाई नै कारबाही गर्छौँ, पाइलटको गल्ती देखिएमा थप कारबाही गर्न भारतीय उड्डयन निकायलाई पत्राचार गर्नेछौँ ।’
यसअघि पनि भएको थियो यस्तै घटना
एयर इन्डियाजस्तै कतार एयरवेजको हर्कत
गत १५ फागुनमा पनि नेपाल एयरलाइन्स, बुद्ध एयर र कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरणका लागि होल्ड हुँदा पनि यस्तै घटना भएको थियो । एटिसीले गुराँस डाँडामाथिको प्वाइन्टमा बुद्धलाई साढे ११ हजार, नेपाल एयरलाइन्सलाई साढे १२ हजार र कतार एयरवेजलाई साढे १३ हजार फिटमा होल्ड गर्न अनुमति दिएको थियो ।
सबैभन्दा तल रहेको बुद्ध एयरको जहाजले पहिले अवतरण गर्नुपर्ने थियो । तर, एटिसीको अनुमतिविना नै कतार एयरवेजका पाइलटले जहाजलाई एक्कासि सात सय फिट तल झारे । कतारको जहाज तल झर्नेबित्तिकै नेपाल एयरलाइन्सको जहाजमा रहेको टिकासले अलर्ट दियो । त्यसको जानकारी पाइलटले एटिसीलाई गराए । एटिसीले तत्काल निगमको जहाजलाई पाँच सय मिटर तल र कतार एयरवेजको जहाजलाई पुनः साढे १३ हजार फिटमै लग्न निर्देशन दिएपछि दुर्घटना हुनबाट टरेको थियो । ‘जहाजको भर्टिकल डिस्टेन्स हजार फिटभन्दा कम हुनु सुरक्षाका हिसाबले गम्भीर हो,’ क्यानका एक पूर्वमहानिर्देशकले भने, ‘यस्तै लापरबाही दोहोरिरहे कुनै दिन गम्भीर दुर्घटना नहोला भन्न सकिन्न ।’
ज्ञानेन्द्र भुल, सूचना अधिकारी, नागरिक उड्डयन प्राधिकरण
निगमको जहाज १५ हजार फिटमा होल्ड भइरहेको थियो, एयर इन्डियाको जहाज १६ हजार फिटसम्म झर्दा टिकासमा अलर्ट आएको थिएन । जहाज १६ हजार फिटभन्दा पनि तल झारेपछि अलर्ट बज्यो ।
छानबिन रिपोर्ट नआउँदासम्म एटिसीलाई सक्रिय ड्युटीबाट हटाइएको छ । त्यस्तै, एयर इन्डियाका पाइलटलाई काठमाडौं उडानमा रोक लगाएका छौँ । छानबिनपछि एटिसीको कमजोरी देखिए एटिसीलाई नै कारबाही गर्छौँ, पाइलटको गल्ती देखिएमा थप कारबाही गर्न भारतीय उड्डयन निकायलाई पत्राचार गर्नेछौँ ।