नेभिगेसन मेनु

दोधारा–चाँदनी सुक्खा बन्दरगाह त्रिदेशीय लाभमा विकास गरिने
सम्पादक:南亚网络电视
समय:2023-02-14 12:35

Untitled-1 (5)

धनगढी/महेन्द्रनगर, फागुन २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधारा–चाँदनी–१ मा निर्माण हुने सुक्खा बन्दरगाह सुदूरपश्चिमको मात्र नभएर देशकै निम्ति गौरवको आयोजना हुने बताउनुभएको छ। दुवै आयोजनाको निरीक्षण क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो। 

दोधारा–चाँदनीमा बन्ने बन्दरगाहलाई त्रिदेशीय नाकालाई फाइदाका रूपमा विकास गरेर भारत र चीनको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आफू छिट्टै भारत भ्रमणमा जाने र त्यस क्रममा सुक्खा बन्दरगाह निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुने बताउनुभयो। उहाँले तीन वर्षभित्र काम सक्ने गरी समझदारीपत्र तयारी भइरहेको पनि बताउनुभयो।

सुक्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात आफूले नै गरेको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणपछि दोधारा–चाँदनी र सुदूरपश्चिमको मात्रै नभई सिङ्गो देशकै विकासमा योगदान पुग्ने धारणा राख्नुभयो। प्रधानमन्त्रीले सुदूरपश्चिममा आफैँले थुप्रै आयोजना अगाडि बढाएको र सबै विकासका कामलाई प्राथमिकतासाथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। 

दशरथचन्द विश्वविद्यालय

यस्तै प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा निर्माणाधीन पक्की पुलबारे पनि जानकारी लिनुभएको थियो। महाकाली पुलको काम सबै सकिएको महाकाली पुल आयोजनाका इन्जिनियर प्रशान्त भट्टले बताउनुभयो। 

कैलालीको गेटा मेडिकल कलेजको सोमबार निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा शहीद दशरथचन्दको नाममा सञ्चालन गर्ने बताउनुभयो। त्यसका लागि दरबन्दीलगायतका काम स्वास्थ्य मन्त्रालयले चाँडै पूरा गर्ने उहाँले जानकारी दिनुभयो।

गेटा  मेडिकल  कलेज  पूर्वाधार  निर्माण  विकास  समितिका  कार्यकारी  निर्देशक हेमराज पुजाराले मेडिकल कलेजको निर्माणमा भएका प्रगति र आगामी लक्ष्यबारे जानकारी गराउँदै बजेटको अभाव भोग्नु नपरेको र कलेज सञ्चालन गर्नका लागि चार÷पाँच वर्ष यसरी नै बजेट उपलब्ध गराइदिन आग्रह गर्नुभयो। चार/पाँच वर्ष सरकारले सहयोग गरे त्यसपछि कलेजले आफैँ कमाउन सक्ने स्थिति आउने उहाँको दाबी छ। 

प्रधानमन्त्रीले यसअघि आइतबार आफ्नो सरकारी निवास बालुवाटारमा सो मेडिकल कलेजबारे सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएको थियो।

सो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास गरिएको छ। नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा सो मेडिकल कलेजलाई विश्वविद्यालय बनाउँदा ठूलो उपलब्धि हुने विश्वास सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले व्यक्त गर्नुभयो। कलेज निर्माणको काम हालसम्म ८५ प्रतिशत पूरा भएको छ भने पाँच अर्ब ४१ करोड रुपियाँ लगानी भइसकेको छ। १३ वटा प्याकेजमा निर्माण सुरु गरिएको सो कलेजको हालसम्म सात प्याकेज पूरा भएका छन्। २०७१ सालमा शिलान्यास भएर २०७४ सालबाट पूर्वाधार निर्माणको काम सुरु भएको सो मेडिकल कलेजमा छ  सय  शय्याको  अस्पताल सञ्चालन हुने बताइएको छ। 

प्रधानमन्त्री प्रचण्डले सोमबार नै कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटन, दैजी औद्योगिक क्षेत्रको काम अगाडि बढाएको, पश्चिम सेती अगाडि बढेको, महाकाली कोरिडोर र त्रिदेशीय नाका बनाउने तयारी रहेको, कैलालीको हरैयामा घोषणा भएको विशेष आर्थिक क्षेत्रलाई अगाडि बढाएको हुनाले देशले विकासमा अब सुदूरपश्चिमबाट फड्को मार्ने उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीको टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र मुख्यसचिव शङ्करदास बैरागीलगायत सुदूरपश्चिम आउनुभएको थियो। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रचण्ड सो पार्टीद्वारा महेन्द्रनगरमा आयोजित ‘जनयुद्ध दिवस’ समारोहमा पनि सहभागी हुनुभएको थियो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर