नेभिगेसन मेनु

चहलपहल छ, व्यापार छैन
सम्पादक:南亚网络电视
समय:2023-02-02 13:25

cometic-pasal

धनगढी, माघ १९ गते । व्यवसायी गणेश पाण्डेयको पसल अत्तरिया बजारस्थित चोकमै छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका प्रवेशद्वार मानिने चोक जहाँ दिनभरि मान्छेको चहलपहल भइरहन्छ । चहलपहल बढ्दो रहे पनि उहाँको व्यापार भने खासै चलेको छैन । 

भाँडाकुँडा र प्लास्टिक सामानका व्यवसायी पाण्डेयले भन्नुभयो, “कुनै–कुनै दिन त मान्छे हेरेर बसेजस्तो मात्रै हुन्छ ।”

उहाँले आफूजस्ता साना व्यवसायी मात्रै नभई धेरै लगानी गरेका ठूला व्यापारीले पनि यही समस्या भोगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले खोकामै पाँच/छ हजारको बिक्री हुन्थ्यो । अहिले व्यापारी बढे, लगानी बढ्यो तर व्यापार बढेको छैन ।”

अत्तरिया सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको बजार हो । यही बजारको सिरानीमा रहेको वन क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको राजधानी चार वर्षअघि घोषणा गरेको थियो । तर, राजधानी निर्माणको कार्य अहिलेसम्म अघि बढेको छैन । राजधानी नबन्दा व्यापार, व्यवसायले फड्को मार्न नसकेको व्यवसायीको भनाइ छ । 

राजधानी घोषणा भएपछि स्थानीयसहित व्यापारी पनि खुसी थिए । तर, चार वर्षसम्म राजधानीको काम कागजमै सीमित भएपछि उनीहरू निराश छन् । राजधानी निर्माणको कार्य नहुँदा अत्तरियाले विकासमा फड्को मार्न नसकेको स्थानीय धनञ्जय भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “राजधानी निर्माणको काम अगाडि बढेको भए यहाँको आर्थिक क्षेत्र पनि अलि बढी चलायमान हुन्थ्यो । तर, राजधानीको कुरा सुस्ताए जस्तै, आर्थिक क्षेत्र पनि सुस्ताएको छ ।” 

अत्तरिया बजार पहाडी जिल्लाको प्रवेशद्वार मात्रै नभई पूर्व–पश्चिम, उत्तर–दक्षिणको मिलन बिन्दु पनि हो । मिलन बिन्दुका रूपमा रहेका कारण चहलपहल भइरहन्छ । चाडपर्वका बेला मान्छेको चाप अझ बढी हुने गर्छ । तर, चहलपहल देखिएअनुसारको आर्थिक गतिविधि नरहेकाले राजधानी तोकिएको क्षेत्र विकासमा पछाडि नै रहेको व्यापारी पाण्डेयको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ राजधानी बनाएर मात्रै विकास हुँदैन । विकासका लागि रोजगारीको व्यवस्था गर्न पनि आवश्यक छ ।”

रोजगारीको व्यवस्था नरहेका कारण आर्थिक गतिविधि चलायमान र विकास हुन नसकेको पाण्डेयको बुझाइ छ । रोजगारीका लागि भारत जाने जनशक्तिलाई यहीँ नै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “राजधानी बनिहालेमा मन्त्री र नेताको आउजाउ त बढ्ला तर धेरै विकास होला भनेर अपेक्षा गर्न सकिन्न । विकासका लागि राजधानीसँगै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो । 

अब अत्तरियाको भविष्य नेतामाथि निर्भर रहेको स्थानीय बताउँछन् । नजिकै रहेको हरैया विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयन र खुटिया–स्याउले–बीपीनगर द्रुत मार्गलाई चाँडै सञ्चालन गर्न सकिएमा स्थायी राजधानीमा आर्थिक विकासले फड्को मार्ने उनीहरूको भनाइ छ । द्रुत मार्ग सञ्चालन भएमा बन्देगडा, कालुखोलालगायतका सम्भावना बोकेका क्षेत्र अत्तरियासँग जोडिने बताइएको छ । मार्गले सो क्षेत्रको उत्पादन अत्तरिया बजारसम्म पु-याउन सहज हुनेछ । चुनावताका नेताहरूले अत्तरियाको विकासका लागि प्रतिबद्धता जनाएकाले प्रतिबद्धताअनुसार काम गर्न आवश्यक रहेको भट्टले बताउनुभयो ।  

अहिले जनताले अपेक्षा गरेअनुसार अत्तरिया क्षेत्रको विकास नभए पनि यसको भविष्य सुन्दर रहेको कतिपयको बुझाइ छ । अत्तरियामै भेटिनुभएका डडेल्धुराका योगराज पाण्डेयले आफूले अत्तरियाको भविष्य निकै सुन्दर देखेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “राजधानी घोषणा गरिएको ठाउँ हो र यहाँ सम्भावना पनि छ । त्यस कारण यहाँको भविष्य सुन्दर देखिन्छ ।”   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर