काठमाडौँ — प्रत्येक पटक भन्सारका हाकिमलाई भेट्दा द्रोण केसीले हात जोडेर सोध्ने एउटै प्रश्न हो, ‘मैले छुटकारा कहिले पाउँछु हजुर ?’
रुकुमको आठबिसकोट नगरपालिका–४ गोतामपुरका द्रोण दाङमा ज्याला मजदुरी गर्छन् । तारिख धाउन महिनाको कम्तीमा एक पटक काठमाडौं आउनैपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेर हात जोड्दै उही ‘याचना’ दोहोर्याउँछन्, ‘छिटो गर्न मिल्दैन हजुर ?’
द्रोणले तारिख धाउन थालेको ३४ महिना भएको छ । शुक्रबारको ३७ औं तारिखमा हाजिर हुन उनी फेरि काठमाडौं आइपुगेका छन् । कार्यालय खुल्नासाथ पुग्ने तयारीमा रहेका उनले यसपालि फरक जवाफ पाउलान् ? उनी आफैं धेरै आशावादी छैनन् ।
‘यो देशमा जान बाँकी कहीँ ठाउँ छैन, भन्न बाँकी मान्छे छैन,’ थकित द्रोण भन्छन्, ‘के यो देशमा गरिखान नपाइने हो ? सानाले इलम गर्न नपाइने हो ?’
ज्याला मजदुरीमा जीवनयापन गर्दै आएका ५२ वर्षीय द्रोण कुनै बेला आफैं उद्यमी बन्न खोजेका थिए, यही कोसिस ‘अपराध’ जस्तै भयो । २०७६ साउनमा ऋण गरेर टाटा एस गाडी किनेपछि उनी व्यवसायी बनेका थिए । टाटाले ‘छोटा हाथी’ भनेर ब्रान्डिङ गरेको यो गाडीसँगै द्रोणको निकै ठूलो सपना गुड्न थालेको थियो । हलुका मालसामान ढुवानी गर्न मिल्ने यो गाडी किन्न द्रोणले दुःखले जम्मा गरेको ६ लाख बुझाएका थिए, बाँकी १० लाख सिप्रदी पर्चेजले किस्तामा ऋण दिएको थियो ।
गाडी काठमाडौंका सडकमा गुड्न थालेपछि द्रोण हर्षित थिए । भन्छन्, ‘काम राम्रै मिलिरहेको थियो र म खुस्सी थिएँ, मुख्य कुरा त, आफ्नै व्यवसाय गर्न पाएको थिएँ, यो मेरो ठूलो सपना थियो ।’
चालकका रूपमा आफैं खटिँदै आएका उनी बेलाबखत मोफसलतिर पनि जान्थे, सामान ओसारपसार गर्न । यस्तै एउटा कामका लागि उनलाई मकवानपुर मनहरीका रामहरि लुइँटेलले फोन गरेर बोलाए । ‘नारायणगढबाट कपडा काठमाडौं ल्याउने भनेको थियो, म गाडी लिएर गएँ,’ द्रोण भन्छन्, ‘नारायणगढ पुगेपछि उनले अलिक पर हो भन्दैभन्दै गैंडाकोटसम्म पुर्याए, जहाँ सशस्त्र प्रहरी कार्यालयको ३१ नम्बर गुल्म रहेछ ।’
दिन थियो, २०७६ चैत १ । ‘गुल्ममा राति आठ बजे पुगेका थियौं, चुस्ता लगाएका जवानहरूले सामान भरिएका बोरा लोड गरे । त्यो सामान काठमाडौं पुर्याएबापत १५ हजार भाडा निश्चित भएको थियो,’ उनी सम्झन्छन् ।
गाडीमा सामान हालेपछि लुइँटेल ट्याक्सीमा पछिपछि आएको द्रोण बताउँछन् । भन्छन्, ‘ठाउँठाउँमा रक्सी पिउँदै र खाँदै उनले मलाई पछ्याइरहेका थिए, काठमाडौंसम्म सँगै आउँछु भनेकाले म पनि पर्खिंदै पर्खिंदै अघि बढें ।’
रातभरि गाडी हाँकेर भोलिपल्ट बिहान ४ बजेतिर द्रोण थानकोट पुगे । प्रहरीले सामानको बिल मागे । द्रोणले ट्याक्सीमा पछिपछि आउँदै गरेका लुइँटेललाई फोन गरे । उताबाट जवाफ आयो, ‘पख्नुस् है, दस्सै मिनेट, आइहालें ।’
१० मिनेट होइन, घण्टौं बित्दा पनि लुइँटेल आएनन् । चेकपोस्टका इन्स्पेक्टर हेमन्त थापाको छेवैमा उभिएका एक प्रहरीले द्रोणको फोनबाट लुइँटेलसँग कुरा गरे ।
‘प्रहरीले आधा घण्टा कुरा गरे, लुइँटेलले के भने कुन्नि, प्रहरीले फोनमै जथाभावी गाली गरे, अनि यो चोरीको माल रहेछ, अब जफत हुन्छ भनेर मलाई हप्काउन थाले,’ उनी भन्छन् ।
लगत्तै लुइँटेलको फोन अफ भयो । प्रहरीले तदारुकता देखाएको भए राजमार्गमा फर्कंदै गरेको ट्याक्सीमा रहेका लुइँटेललाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्थ्यो, यो विषयमा गैंडाकोटको गुल्मलाई सोध्न सक्थ्यो । तर, प्रहरीले सजिलो बाटो रोज्यो, चालक द्रोणलाई पक्रिएर गाडी जफत गर्यो ।
प्रहरीले सामान निकालेर हेरे, आठ बोरा कुर्ताका कपडा रहेछन् । बिल नभएकाले द्रोणले ढुवानी गरेको सामान चोरीको मालमा दर्ज भयो । ‘मेरो सामान होइन यो, मैले त ढुवानीसम्म गरेको हो, सामान जेसुकै गर्नोस्, गरिखानेलाई छाडिदिनुस्,’ प्रहरीलाई हात जोडेर उनले बिन्ती गरे ।
‘हामीले त अनुसन्धानसम्म गर्ने हो’ प्रहरीले जवाफ फिराए, ‘यसको निर्णय भन्सारले गर्छ, तपाईं उहीं जानुस् ।’
भन्सारका कर्मचारीलाई केही बुझाउन सकौंला भन्ने उनलाई लागेको थियो । तर कसैलाई केही भन्नै पाएनन् । बरामद भएको सामान र गाडीको मुचुल्कासहितको अभियोगपत्र तयार पारेपछि त्यसै दिन उनलाई कोटेश्वर प्रहरी चौकी लगेर थुनियो । त्यतिन्जेल अपराह्न ५ बजिसकेको थियो । यसरी काठमाडौं–गैंडाकोट–काठमाडौं र हिरासतसम्म पुग्दा उनी ३६ घण्टा अनिँदो थिए । ‘मेरो गल्ती छैन भन्दा पनि कसैले सुनेन, च्याप समातेर थुनामा हुल्ने काम भयो,’ उनी भन्छन् । त्यसपछि आठ दिनसम्म सोधपुछ गर्न कुनै कर्मचारी आएन । उनी चिसोमा पल्टिरहे ।
यही बेला कोभिड महामारी फैलिँदै थियो । ‘अब, हिरासतमा राख्ने अवस्था भएन, तपाईं धरौटी तिरेर निक्लनुपर्ने भयो,’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका हाकिमले उनलाई भने ।
भन्सारले २ लाख ३० हजार बिगो तय गरेको रहेछ । उनी सम्झन्छन्, ‘मेरो साथमा एक रुपैयाँ पनि थिएन, तर दुई/चार ठाउँ फोन गरेर ऋण खोजें, जोडबल गरेर रकम जम्मा गरेपछि मलाई छाडियो ।
उनी धरौटीमा छुटे, तर भन्सारले गाडी लग्न दिएन । ‘मुद्दा मैले जितें भने मात्रै गाडी फिर्ता पाइन्छ, अन्यथा जफत हुन्छ भने हाकिमले’ उनी भन्छन्, ‘मसँग उपाय के रह्यो र ?’
चैत १० मा उनी हिरासतबाट मुक्त भए, त्यही साँझ सरकारले ‘लकडाउन’ घोषणा गर्यो । ‘डेरामा भएको रासन केही दिनमा सकियो, त्यही बेला विभिन्न संस्थाले राहत सामग्री पनि बाँड्न थाले । एभिन्युज टीभीले पनि त्यस्तै कार्यक्रम चलाएको थियो, मैले फोन गरेपछि केही दाल, चामल ल्याएर गुजारा चलाएँ’ उनी भन्छन् । लकडाउन खुलेपछि मात्र द्रोण दाङ गए ।
द्रोणलाई लागेको थियो, अर्धन्यायिक निकाय भन्सारले केही दिनमै निर्णय दिनेछ र गाडी फिर्ता हुनेछ । त्यसैले दाङबाट छिट्टै फर्किए । तर, भनेजस्तो भएन । एकातिर, लकडाउन लम्बिएकाले महिनौंसम्म कार्यालय बन्द थिए । उनको मुद्दा त्यसै थन्कियो । गाडी नियन्त्रणमै रह्यो । उता, किस्ताको बक्यौता बढिरहेको थियो, उनले ज्यालामजदुरी गर्नुपर्ने अवस्था आइहाल्यो ।
अड्डा अदालत सहजरूपमा खुल्न थालेपछि पनि उनले गाडी फिर्ता पाएनन्, बरु तारिखमा धाउनुपर्ने पर्चा पाए । उनले आफू निर्दोष भएकाले सामान ढुवानी गराउने रामहरि लुइँटेल र सशस्त्रका गुल्मपति भानुभक्त लम्साललाई झिकाएर अनुसन्धान गर्नुपर्ने जिकिर दोहोर्याए । तर, भन्सारका हाकिमले उनको कुरा सुनेनन् ।
‘सशस्त्रको ब्यारेकबाट चोरीको सामान आउँछ भनेर मैले त कल्पना पनि गर्ने कुरा भएन, तर हजार पटक भन्दा पनि भन्सारका हाकिमले सुन्दै सुनेनन्, सशस्त्रका गुल्मपतिलाई हामी झिकाउँला, तपाईं तारिखमा आउँदै गर्नुस् भनेर फर्काइरहे’ द्रोण सुस्केरा हाल्छन् ।
होइन, मेरो गाडी जफत नै हुने ठहर्छ भने जफत गरिदिनोस्, म आफ्नो बाटो लागौंला, तर हरेक महिना/१५ दिनमा तारिख धाउन सक्दिनँ भनेर पनि उनले भन्सारका हाकिमलाई भनेका छन् । तर, भन्सारका हाकिमको ‘मुड’ बदलिएको छैन, बरु लगातार हाकिम बदलिएका छन् । सुरुमा मुद्दा लगाउँदा विमानस्थल भन्सारमा शम्भुप्रसाद मरासिनी हाकिम थिए, पछि लक्ष्मीप्रसाद निरौला आए । उनी गए, महेश भट्टराई आए । उनी पनि सरुवा भएपछि अरुण पोखरेल आएका छन् । पोखरेलले पनि तारिख थमाउनेबाहेक अरू केही गरेका छैनन् ।
अनुसन्धान भएर निर्णय आउनु कता हो कता, तारिखमाथि तारिख, तारिखमाथि तारिख । एक वर्ष नाघेपछि द्रोणले २०७७ चैत ३१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिए । आफूमाथि अन्याय भएको भन्दै छिटो मुद्दा टुंग्याएर न्याय दिलाइदिन उनले अख्तियार गुहारेका थिए । यति गर्दा पनि तारिखबाट मुक्ति नमिलेपछि उनी सर्वोच्च अदालत पुगे । गत २०७९ असार ३ मा दर्ता भएको रिटमा उनले न्यायको हकअनुसार छिटो मुद्दा छिनोफानो गराइपाऊँ भनी माग गरेका छन् ।
‘सुनेको थिएँ सर्वोच्चमा रिट हालेपछि तुरुन्तै सुनुवाइ हुन्छ रे’ उनी भन्छन्, ‘तर, मेरो रिटमाथि सुनुवाइको पेसी नै २०८० जेठ २५ का लागि तोकिएको छ ।’
अदालतबाट राहत नपाएपछि उनले आफूमाथि परेको मर्काबारे भिडियोहरू बनाएर सामाजिक सञ्जालमा पनि राख्न थाले । यहीबीचमा उनले मुख्यसचिव शंकरदास बैरागीलाई म्यासेज गरेका थिए । ‘सयौं पटक फोन गर्दा पनि तपाईंको फोन उठ्दैन । आज ३४ महिना हुँदा पनि मेरो केसमा केही निर्णय भएको छैन । किन यति लापरबाही भयो ? यसको जिम्मेवार तपाईं र तपाईं नेतृत्वको निजामती संगठन हो’ उनको यो म्यासेज पाउनासाथ मुख्यसचिव बैरागीले फोन गरे । ‘यो केस सिधै मैले हेर्ने होइन, तर मैले सम्बन्धित निकायलाई भनिदिएको छु, अब तपाईंको काम हुन्छ भन्नुभयो, मलाई केही भरोसा लागेको थियो’ द्रोण भन्छन् ।
मुख्यसचिवको ढाडस पाएपछि भन्सार कार्यालय गएर द्रोणले वर्तमान हाकिम पोखरेलसामु ‘बिन्ती’ बिसाए । तर पनि प्रक्रिया चलिरहेको छ भनेर झुलाउने काम जारी रह्यो । भन्सार प्रमुख पोखरेल भने कानुनी प्रक्रिया भएकाले समय लागेको बताउँछन् । भन्छन्, ‘लुइँटेललाई पक्राउ गर्न प्रहरीलाई पत्र पनि काटेका थियौं, उनी फेला परेनन् भन्ने जवाफ आयो । थप १५ दिनमा पनि उनी पक्राउ नपरे हामी निर्णय गर्छौं, अबचाहिँ ।’ गुल्मपतिको विषयमा उनले केही बोलेनन् ।
उता, द्रोणलाई भने तीन वर्षदेखि भन्सार कार्यालयमा थन्किएको गाडीको के हाल भयो होला भन्ने चिन्ता छ । ‘भन्सारले मलाई जरिवाना नगरी गाडी फिर्ता दियो भने पनि पार्टपुर्जा के भए होलान्, मर्मत गरेर चलाउन नै कति लाख लाग्ने हो !’ कहालिँदै भन्छन्, ‘त्यसमाथि यातायात कर नतिरेको तीन वर्ष भयो, चर्को जरिवानासहित तिर्नुपर्छ, महिनैपिच्छे तिर्नुपर्ने ऋणको किस्ता त छँदै छ ।’
सुरुमा उनी चाहन्थे, उनलाई फसाउनेमाथि अनुसन्धान होस्, दोषीले सजाय पाओस् । अब त्यो आशा पनि बाँकी छैन । आफूले न्याय पाउने कि नपाउने पनि टुंगो छैन । यही अन्योलबीच उनी शुक्रबार ३७ औं तारिखमा भन्सार कार्यालय जाँदै छन् । जहाँ उनले यसो भन्ने ठानेका छन्, ‘सक्नुहुन्छ भने मलाई फसाउने रामहरि लुइँटेल र सशस्त्रका तत्कालीन गुल्मपति भानुभक्त लम्साललाई झिकाएर कारबाही गर्नुस्, सक्नुहुन्न भने मलाई नै दोषी भनेर दण्ड दिनुस् । तर, बिन्ती छ, यो मुद्दा छिनिदिनुस् ।’