भक्तपुर । साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो ।
चाँगुनारायण नगरपालिका-९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो । सेतो धोती बाँधिएको, त्यसमाथि कोही सेतो गन्जी, कोही पहेँलो गन्जी त कोही गुलाबी मखमलको दौरा लगाएका एक हुल मानिस बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए ।
दुई घन्टाभन्दा बढी समय बलेकोे दाउरा सबै आगाका भुङ्ग्रामा परिणत भयो । त्यसपछि सेतो, पहेंलो, रातो वस्त्रधारी पुरुषहरूले तान्त्रिक विधिबाट आगाका भुङ्ग्रामा गाईको घिउ मोलिएको जौ र तीलको चरु हालेर पूजा गरी मूल घरतर्फ लागे । मध्यराति करिब ११ बजे गिरीबस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिलमा बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’ तर्फ हेर्दै अब के हुन्छ, आगोमाथि मान्छे कसरी नाच्छन् भनी हेर्दै थिए ।
केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हुल मानिस काम्दै घरबाट निस्किए । अगाडि बाजा घन्किरहेको, पछिपछि दियो, कलश समातेका पञ्चकन्या र त्यसपछि देवदेवी एवं वायु चढेका सेता, पहेंला गन्जी, रातो दौरा लगाएका, रुद्राक्ष तथा घन्टीको माला शरीरमा छड्के भिरेकाहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुड्ग्रो अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।
हातमा थाल बजाउँदै उफ्रिरहेका लामो कपाल भएका मूलगुरु धर्मराज खड्का एकैछिनमा आगाको भर्भराउँदो भुङ्ग्रामा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै अर्का गुरु साजन थापा आगोमा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगामा होमिन थाले । उनीहरू आगाको भुङ्ग्रामा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौं त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भुङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।
नाङ्गो पैतालाले आगामाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रामाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे आगाको भुङ्ग्रो पूणर्रूपमा निभेर कोइला नबनेसम्म नाचिरहे ।
आगोमा त्यसरी नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्नना छोरा र श्रीमान् आगामा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । शरीरमा वायु धारण गरेर आगामा उफ्रिँदै गरेका रोजिनकी आमा शारदा गिरी डिलमा बसेर भन्दै थिइन्, ‘ओहो, आगाको भुङ्ग्रामा उफ्रिँदा तिनीहरुलाई कति पोल्यो होला, त्यो जिउ कति दुख्यो होला ।’ हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? कार्यक्रमपछि नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा भने उनीहरू चकित परे ।