नेभिगेसन मेनु

गाःहिटीमा सुन्दरीको फन्को
समय:2021-10-30 03:43

मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ हिजोआज धोबीचौरको गाःहिटीतिर भेटिन्छिन् । आउँदो नोभेम्बरको अन्तिमतिर उनी फिलिपिन्समा हुने ‘मिस अर्थ’ मा सहभागी हुँदै छिन् । उक्त स्पर्धामा आफ्नो देशलाई चिनाउने ‘प्रोजेक्ट’ तयार गर्न उनी गाःहिटी धाउन थालेकी हुन् । ‘यो प्रोजेक्टलाई अन्तर्राष्ट्रियस्तरमा लगेर नेपाललाई चिनाउने योजना छ,’ श्रेष्ठले भनिन्, ‘अब धेरै काम सकिइसकेको छ ।’

उनले ‘मिस अर्थ’ प्रतियोगिताकै लागि भनेर ढुंगेधारामा पानी वितरण गर्ने प्राचीन प्रणालीका अभिलेख तयार पारिराखेकी छन् । ‘धारा सफाइ पनि गरें,’ उनले भनिन्, ‘साथमा अभिलेखीकरण गर्ने काम पनि भइरहेको छ ।’ गत वर्षको डिसेम्बरमा मिस नेपाल अर्थको ताज पहिरिएदेखि नै श्रेष्ठलाई सम्पदाको क्षेत्रमा केही गर्ने धोको थियो । यही क्रममा उनले ढुंगेधारा रोजेकी थिइन् ।

आर्थिक कारणले देश पछि परेको अवस्था विश्लेषण गर्दा दुःख लाग्ने भए पनि सम्पदा, संस्कृति र प्रकृतिले धनी हुनु गर्वको कुरा भएको उनले सुनाइन् । ‘हामीसँग सांस्कृतिक वैभव छन् । तिनलाई चिनाउनुपर्छ,’ उनले भनिन्, ‘मिस अर्थ प्रतियोगितामा हामी सम्पदा, संस्कृतिमा धनी छौं है भनेर देखाउने मेरो योजना छ । हाम्रो स्ट्रेन्थ के हो भनेर विश्वलाई चिनाउनुपर्छ ।’

काठमाडौं महानगरपालिका–१७ मा पर्छ सुप्रियाले अध्ययन र अभिलेखीकरण गरिराखेको गाः हिटी । ढुंगेधारामा काम गर्ने योजना त थियो तर कसरी गर्ने भन्नेमा उनी अन्योलमा थिइन् । सम्पदा संरक्षण अभियानकर्मीद्वय आलोकसिद्धि तुलाधर र यादवलाल कायस्थ भेटिए । उनीहरूले प्राचीन हिती तथा पुखु संरक्षण समितिका अध्यक्ष सुशील श्रेष्ठलाई भेट गराइदिए । श्रेष्ठले काठमाडौंका ढुंगेधारामा पानी कसरी वितरण भइरहेको छ भनेर यो प्रणालीबारे जानकारी दिए ।

श्रेष्ठकैसल्लाहमा गाःहिटीको प्राचीन प्रणाली अध्ययन सुरु भयो । यसलाई संरक्षण गरेर पुनः पानी आउने बनाउन काठमाडौं महानगरपालिकाले पनि बजेट दियो । यसको नाममा ७८ लाख रुपैयाँ विनियोजन भएको छ । तर ठेक्का सम्झौता भने भएको छैन । महानगरको प्रक्रियामा जाँदा ढिला हुन्छ भनेर स्थानीय उपभोक्ता समितिले काम सुरु गरिदिएको थियो । ‘मिस नेपाल अर्थको प्रोजेक्टलाई सहयोग पुगोस् भनेर हामीले काम सुरु गरेका हौं,’ गाःहिटी निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तमनारायण मगैयाले भने, ‘हाम्रो ठाउँको सम्पदा विश्वको फोरममा पुग्नु गर्वको कुरा हो नि ।’

उपभोक्ता समितिले काम शुरु गरे पनि बीचमा अवरोध आइलाग्यो । ठेकेदारले काम गर्ने क्रममा पत्ता लागेको पानीको च्यानलमा माटो हालिदिए । ढुंगेधाराको मुहान खोज्ने काम रोकियो । लगत्तै दसैं आएकाले काम अघि बढेन । उपभोक्ता समितिले पनि महानगरसँग सम्झौता भएपछि काम अघि बढाउने भन्न थाल्यो ।

महानगरसँग सम्झौता गर्दा ढिला हुने भएकाले सुप्रियाले वडाध्यक्ष भेटेर काम अघि बढाइदिन आग्रह गरिन् । ठेकेदारले काम नगरिदिएपछि उनले आफ्ना साथी जम्मा गरिन् । उपभोक्ता समितिले पनि टोलवासीलाई खबर गरिदिए । सबै जुटेर धाराको मुहान सफा गर्ने काम गरे । ‘नेपालको प्रशासनिक प्रक्रिया यति झमेलाको छ कि मान्छेलाई काम गर्नै निरुत्साहित गर्छ,’ उनले भनिन्, ‘म पनि धेरैपटक डिमोटिभेटेड भएकी हुँ । तर अघि बढें, टिम पनि बन्दै गयो, सफल भइयो ।’

सुन्दरीलाई समाजले गम्भीर रूपमा नलिने अर्को चुनौती पनि झेल्नुपरेको उनले बताइन् । ‘सुन्दरीले मीठो बोल्ने हो, राम्री हुने हो भन्ने नेपाली समाजको बुझाइ छ,’ उनले भनिन्, ‘फिल्डमा आउँदा विश्वासै गर्दा रहेनछन् ।’ काम गर्दै जाँदा विश्वास पनि बढ्दै गयो । ‘हामीले गर्न खोजेको के हो भनेर बुझाउनै समस्या थियो,’ उनले सुनाइन्, ‘हामीले गर्न खोजेको काम कार्यान्वयन गर्न पनि कठिनाइ थियो ।’

सम्पदाप्रति चासो थियो तर गहिराइ थाहा थिएन उनलाई । काम गर्दै जाँदा गहिराइ बुझ्दै गइन् । काठमाडौंको पानी वितरण गर्ने प्रणाली आफैंमा नमुना भएको पत्ता लाग्यो । सार्वजनिक वा खुला चौरबाट सोसेको पानी कसरी ढुंगेधारामा पुग्दो रहेछ भन्ने थाहा पाइन् । पानीको बहावसमेत बढाउने योजना भएकाले यसको मूल हेर्ने काम भयो । धोबीचौरको पानी मंगालमा जम्मा गरेर कसरी भित्र–भित्र ढुंगेधारामा पठाइएको रहेछ, त्यो पत्ता लाग्यो । ‘ढुंगेधाराको महत्त्व थाहा थियो तर यस्तो गहिराइ थाहा थिएन,’ उनले भनिन्, ‘काम गर्दै जाँदा गहिराइ बुझ्दै गएँ ।’

आफ्नो अभियान पानी वितरणको प्राचीन प्रणाली सुन्दरी प्रतियोगितामा देखाउनु मात्रै नभएको र जीवनभर नै सम्पदा संरक्षणमा लाग्न प्रेरणा मिलेको पनि उनले सुनाइन् । ‘यो सुरुवात हो, आधार हो,’ उनी भन्छिन् । मिस अर्थमा हारजितभन्दा यो प्रोजेक्ट गर्न पाएकोमा गर्व लागेको उनले सुनाइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर