नेभिगेसन मेनु

राजविराज नगरका सडकमा फोहोर फाल्नेलाई कडाइ
समय:2026-11-26 17:41

Sadak-ma-Fohor

 राजविराज नगरपालिकाले नगरभित्रका सडक, चोक र सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने क्रम बढेपछि अनुगमन तीव्र बनाउँदै दोषीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनको नेतृत्वमा पछिल्लो तीन–चार दिनदेखि नगर क्षेत्रका विभिन्न स्थानमा अनुगमन भइरहेको छ । अनुगमनका क्रममा वडा नं. ३ स्थित मिलनजिकै सार्वजनिक स्थानमा फोहोर थुपारेर डम्पिङस्थलजस्तै बनाइएको पाइएको उहाँले त्यहाँ फोहोर फाल्दै गरेका एक व्यक्तिलाई रङ्गेहात नियन्त्रणमा लिएर चेतावनी दिई छाडिएको बताउनुभयो । त्यस्तै, अदालत रोडमा एक फलफूल व्यवसायीले आफ्नो पसलअगाडि सडकमा फोहोर थुपारेर राखेको अवस्थामा फेला पारिएको छ । उनलाई पनि तत्कालका लागि चेतावनी दिएर छाडिएको उहाँले जानकारी दिनुभयो ।

कार्यवाहक प्रमुख परविनले सार्वजनिक सडक, चोक तथा अन्य खुला स्थानमा फोहोर फाल्ने कार्य अब सह्य नहुने बताउनुभएको छ । चेतावनीपछि पनि यस्ता गतिविधि दोहोरिए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने उहाँले स्पष्ट पार्नुभएको छ । आफ्नो घर, पसल र व्यवसाय सफा राख्ने नाममा सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नु सरसफाइ नभई आफ्नो जिम्मेवारी अरूमाथि थोपर्ने गैरजिम्मेवार प्रवृत्ति भएको उहाँले बताउनुभयो छ ।

उहाँले नगरवासी तथा व्यवसायीलाई घर, पसल र व्यवसायबाट निस्कने फोहोर तोकिएको स्थानमा व्यवस्थापन गर्न आग्रह गर्नु भएको छ । सार्वजनिक सडक र चोकलाई फोहोर फाल्ने थलो बनाउनेलाई आगामी दिनमा कुनै छुट नदिने उहाँले चेतावनीसमेत दिनु भएको छ ।

नगरपालिकाको अनुगमनसँगै सार्वजनिक स्थानमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न खोजिए पनि प्रभावकारी सरसफाइका लागि नागरिकको व्यवहारमा परिवर्तन र नियमको कार्यान्वयन आवश्यक भएको कानुन व्यवसायी सतिशकुमार दत्तले बताउनुभयो । राजविराजलाई सफा र व्यवस्थित बनाउन नगरपालिका र नगरवासी दुवै जिम्मेवार हुनुपर्ने उहाँले तर्क गर्नुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी