
घर मानिसका लागि सबैभन्दा सुरक्षित आश्रयस्थल मानिन्छ तर पछिल्लो समय त्यही घरभित्रै हुने पारिवारिक विवाद र आपसी मनमुटावले हिंसात्मक रूप लिन थालेपछि महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । दैलेखमा पछिल्लो समय दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा चार जनाको मृत्यु र पाँच जना घाइते हुनुले परिवारभित्रै महिला तथा बालबालिका असुरक्षित बन्दै गएको देखाएको छ ।
जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित पानीखोलामा सामान्य घरायसी विवादले एउटै परिवारका तीन सदस्यले ज्यान गुमाउनुपर्यो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अम्बर सलामीमगरले घरायसी विवादका क्रममा श्रीमती र तीन जना छोराछोरीमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए । उक्त घटनामा ३५ वर्षीय श्रीमती मनीषा सलामीमगर, १२ वर्षीय छोरा तपेन्द्र सलामीमगर र तीन वर्षीय छोरी करिश्मा सलामीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दैलेखकै ठाटीकाँध गाउँपालिका–४, धनकोटमा स्थानीय बमबहादुरले रावत छिमेकी चन्द्रबहादुर पुनमगरको परिवारका सदस्यमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा परी ४५ वर्षीय बीमा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा ३५ वर्षीय महेसरा पुनमगर, २० वर्षीय लक्ष्मी पुनमगर, २३ वर्षीय तिला पुनमगर र तीन महिनाको शिशु घाइते भएका छन् ।
उहाँले पछिल्लो समय जिल्लामा जघन्य अपराधका घटना बढेको बताउनुभयो । बरोजगारी, मानसिक रोग, मादक पदार्थ सेवनका कारण यस्ता घटना बढेको उहाँको अनुभव छ ।
घरायसी विवाद, आपसी मनमुटाव र असमझदारीले हिंसात्मक रूप लिँदा त्यसको सिकार महिला तथा बालबालिका बन्नुले समाजमा सुरक्षा चुनौती थपिएको गैरसकारी संस्था महासङ्घका दैलेखका अध्यक्ष डिलकुमारीले बताउनुभयो ।
उहाँले समयमै समस्या पहिचान गर्न नसक्दा वा हिंसालाई सामान्य पारिवारिक विवादका रूपमा लिँदा त्यसले भयावह परिणाम निम्त्याउन सक्ने देखिएको जनाउनुभयो । उहाँले सुरक्षित भनिएको घर नै असुरक्षित भएपछि असुरक्षित बन्दै महिला र बालबालिका बचाउन कठिन भएको गुनासो गर्नुभयो ।


















