नेभिगेसन मेनु

‘लगानी प्रोत्साहन गर्न नीतिगत पहल’
समय:2026-11-26 14:24

udhyog-diwas-ss-ss

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योग मन्त्रालयले उद्योगीका गुनासो सुन्ने र स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी नयाँ नीतिगत पहल अगाडि बढाएको बताउनुभएको छ ।

१२ औँ उद्योग दिवसका अवसरमा बुधबार उद्योग विभागमा आयोजित कार्यक्रममा उहाँले उद्योगीका समस्या सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानका लागि व्यावहारिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योग क्षेत्रको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने अभियानमा सरकार तथा निजी क्षेत्रबिच सहकार्यमा जोड दिनुभयो ।  

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले नेपालको औद्योगिक वातावरण सुधार गर्न र निजी क्षेत्रको मनोबल उकास्न सरकारले नीतिगत सुधार तथा संरचनागत सहजीकरणलाई तीव्र बनाएको बताउनुभयो । रुग्ण उद्योगसम्बन्धी एउटा समिति गठन गरेर त्यसको प्रतिवेदन कार्यान्वयन गर्ने चरणमा रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले उद्योग क्षेत्रको योगदान बढाउन प्रतिस्पर्धात्मक क्षमता भएका क्षेत्र पहिचान, नीतिगत सुधार, लगानी विस्तार र उद्यमशीलता प्रवर्धन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री साहले उद्योगी तथा व्यवसायीका समस्या पहिचान, समाधान र लगानी प्रवर्धनमा सहजीकरण गर्ने उद्देश्यले विभागमा स्थापना गरिएको स्वदेशी लगानीकर्ता सहजीकरण कक्ष शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा निर्यात व्यापारमा उल्लेख्य योगदान पुर्‍याउने तथा सफल उद्यमीलाई सम्मान गरिएको थियो ।

यसैबिच उद्योग दिवसकै अवसरमा बागमती प्रदेश सरकार अन्तर्गतको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरले तीन जना सफल उद्यमीलाई बुधबार सम्मान गरेको छ । सम्मानित हुने उद्यमीमा नेवा तानका प्रोप्राइटर कमलकेशरी राजचल, जज्वलपा सेरामिक्स उद्योगका प्रोप्राइटर हरिचन्द्र प्रजापति र नेपाल हेन्ड निटका सञ्चालक विजय सुवाल रहनुभएको छ । 

उद्यमीलाई सम्मान गर्दै बागमती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य धनेश्वरी प्रजापतिले भक्तपुरका उद्योगबाट उत्पादित वस्तुलाई पर्यटन उद्योगसँग जोडेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी