नेभिगेसन मेनु

विराटनगर जुट मिल्स : लिजमा दिन आशयपत्र माग
समय:2026-11-26 12:26

Biratnagar-Jute-mill-image-1

सरकारले देशको जेठो उद्योग विराटनगर जुट मिल्स पुनः सञ्चालनमा ल्याउन दीर्घकालीन लिजमा दिने प्रक्रिया सुरु गरेको छ । 

लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक सो उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल्स लिमिटेडले रणनीतिक लगानीकर्ताका लागि आशयपत्र आह्वान गरेको छ ।

सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमार्फत मिल सञ्चालन गर्ने भन्दै जारी गरिएको सूचनामा मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि अनुभवी तथा आर्थिक रूपमा सबल स्वदेशी तथा विदेशी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आह्वान गरिएको छ ।

सरकारले गठन गरेको जुट मिल्स पुनः सञ्चालन अध्ययन कार्यदलले दिएका तीन सुझावमध्ये दीर्घकालीन लिज प्रणालीमार्फत जुट मिल्स पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । 

अध्ययन कार्यदलले सरकार आफैँले सञ्चालन गर्ने, दीर्घकालीन लिज प्रणालीमा जाने वा व्यवसायीमार्फत सञ्चालनमा ल्याउन सकिने विकल्पसहितको सुझाव सिफारिस गरेको थियो । गत साउनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उद्योग मन्त्रालय अन्तर्गतको संस्थान महाशाखाका प्रमुखको संयोजकत्वमा कानुन र अर्थ मन्त्रालयका सहसचिव तथा दुई विषयविज्ञसहितको कार्यदल गठन गरेको थियो ।

विराटनगर जुट मिल्स सञ्चालक समितिका अध्यक्ष नन्दलाल देवकोटाका अनुसार सिफारिस भएका सुझावमध्ये दीर्घकालीन लिजको मोडेलमा जाने गरी सार्वजनिक प्रस्ताव आह्वान गरिएको हो । अध्यक्ष देवकोटाका अनुसार यसमा नेपाल, भारत, बङ्गलादेश वा चीनका कम्पनी सबै सहभागी हुन सक्ने छन् । त्यसबाहेक नेपालमै जुट उद्योग सञ्चालन गर्दै आएको कुनै उद्योगले विदेशी कम्पनीलाई साझेदारीका रूपमा समेत भित्र्याउन पाउने छ । जुट मिल्सलाई ३५ वर्षसम्म सञ्चालन गर्न पाउने गरी लिजमा दिइने छ । 

यसअघि तीन वर्षपहिले तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा भारतको बिड्ला समूहले समेत चासो दिएर जुट मिल्सको अध्ययन गरेको थियो । 

अध्यक्ष देवकोटाले भारतका मात्रै नभई बङ्गलादेशका उद्योगले समेत अहिले जुट मिल्स सञ्चालनका लागि चासो दिएका छन् । भारतको बिड्ला समूह र कोलकाताका जुट उद्योगले समेत इच्छा राखेको अध्यक्ष देवकोटाको भनाइ छ । 

नयाँ व्यवस्थापन समूहले दैनिक १२५ टन क्षमतामा जुट तथा जुटजन्य सामग्री उत्पादन गर्नुपर्ने सर्त राखिएको छ । त्यस्तै नयाँ लगानीकर्ताले विगतका कुनै पनि दायित्व सकार्नुपर्ने वा वहन गर्नुपर्ने सर्त नरहने बताइएको छ । नयाँ रणनीतिक साझेदारका रूपमा आशयपत्र आह्वान गरिसकेपछि नेपाली जुट उद्योगीले समेत यसमा चासो राखिरहेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

विराटनगर जुट मिल्सको दैनिक उत्पादन क्षमता ५० टन रहेको थियो । यसअगाडि मिल पूर्ण सञ्चालनमा रहँदा समेत दैनिक ४७ टनसम्म मात्रै उत्पादन भएको पुरानो अभिलेखमा उल्लेख छ तर जुट उद्योगमा अहिले आधुनिक प्रविधि भित्रिएको छ । त्यसले दैनिक १२५ टन जुट उत्पादन क्षमतामा सञ्चालन गर्ने गरी आशय मागिएको अध्यक्ष देवकोटाको भनाइ छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा पाँच सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरिएको छ ।

त्यस्तै विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइने छ । यसअघि कोलकाताको विनसम इन्टरनेसनलले २०६९ सालमा २५ वर्षको सञ्चालन सम्झौता गरेर उद्योग सञ्चालनमा ल्याए पनि १८ महिनामै फर्किएको थियो । 

औद्योगिक व्यवसाय ऐन तथा विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन अन्तर्गत उपलब्ध सम्पूर्ण वैधानिक सुविधा प्रदान गर्ने गरी नयाँ लगानीकर्ता भित्र्याउने योजना सरकारले राखेको हो । 

१९९३ सालमा नेपालको पहिलो आधुनिक उद्योगका रूपमा स्थापित विराटनगर जुट मिल्स राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीका कारण पटक पटक बन्द हुँदै आएको थियो । उद्योगमन्त्री दीपककुमार साहले मन्त्रालयको नेतृत्व समालेसँगै बन्द उद्योगहरूको पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राख्दै मन्त्रीपरिषद्बाटै नीतिगत निर्णय गराएर आशयपत्र खुलाउने वातावरण तयार पार्नुभएको मन्त्रालयले जनाएको छ ।

आशयपत्र पेस गर्ने म्याद सकिएको एक महिनाभित्रै छनोट भएका योग्य रणनीतिक लगानीकर्तासँग समझदारीपत्रमा हस्ताक्षर गरी मिल सञ्चालनको कामलाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी