
कोरोना महामारीका बेला सङ्क्रमितको व्यवस्थापन र उपचारका लागि नेपालगन्जमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जिर्ण हुँदै गएको छ ।
महामारीको सङ्कट व्यवस्थापन गर्न निर्माण गरिएका संरचनाको भविष्यबारे सङ्घीय सरकारले समयमै निर्णय नगर्दा २९ करोड ३८ लाख रुपियाँको सार्वजनिक लगानी खेर जाने अवस्थामा पुगेको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१४ मा निर्माण गरिएको एक हजार क्षमताको होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहँदा त्यहाँ रहेका ६० वटा भवन जीर्ण बन्दै गएका छन् । महामारीका बेला सङ्क्रमितलाई सुरक्षित रूपमा राख्न र उपचार व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको सो संरचना अहिले उचित उपयोग र व्यवस्थापनको पर्खाइमा छ ।
नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको चार बिघा १३ धुर सरकारी जग्गामा निर्माण गरिएको होल्डिङ सेन्टरमा आइसोलेसन कक्ष, शौचालय, भण्डार, भान्सा, भोजन कक्षलगायतका आवश्यक संरचना बनाइएका थिए । महामारीको उच्च जोखिमका बेला ठुलो सङ्ख्यामा सङ्क्रमितको व्यवस्थापन गर्न सकिने गरी निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगमा ल्याउनु अघि नै कोरोना सङ्क्रमण नियन्त्रणमा आएको थियो ।
नागरिक समुदायका अगुवाहरुले सो बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै सङ्घीय सरकार मातहतका यी भौतिक संरचनालाई तत्काल प्रयोगमा ल्याउनुपर्ने माग गरेका छन् । नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले महामारी अन्त्य भएको लामो समय बितिसक्दा पनि यसको वैकल्पिक उपयोगबारे ठोस निर्णय हुन नसक्दा ठुलो लगानी खेर जान थालेको बताउनुभयो ।
उहाँका अनुसार नियमित प्रयोग र मर्मतसम्भारको अभावमा भवन तथा अन्य भौतिक संरचनाहरू जीर्ण बन्दै गएका छन् । समयमै संरक्षण र व्यवस्थापन गर्न नसके करोडौँ रुपियाँ खर्चेर निर्माण गरिएका संरचना पूर्ण रूपमा प्रयोगविहीन हुने देखिएको संयोजक श्रेष्ठको भनाइ छ ।
सोही प्रकारले अर्का नागरिक अगुवा हेमन्तराज काफ्लेले महामारीका बेला आपतकालीन आवश्यकताका लागि निर्माण गरिएका संरचना सङ्कट टरेपछि बेवारिसे जस्तै बन्नु सार्वजनिक सम्पत्तिको व्यवस्थापनमा देखिएको कमजोरी भएको बताउनुभयो । उहाँले करोडौँ रुपियाँ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन रहँदा त्यसले राज्यको लगानी र योजनाको प्रभावकारितामाथि गम्भीर प्रश्नसमेत खडा गरेको जनाउनुभयो ।
महामारीपछि होल्डिङ सेन्टरको सुरक्षा तथा रेखदेखको जिम्मेवारी नेपाली सेनाको बज्रदल गण, राँझाले सम्हाल्दै आएको छ । संघीय सरकारले होल्डिङ सेन्टरको भविष्य र उपयोगबारे निर्णय नगरेकाले नेपाली सेनाले यसको संरक्षण गर्दै आएको हो ।
सेनाले होल्डिङ सेन्टर स्थानीय तहलाई हस्तान्तरण गरेर आवश्यकताअनुसार अन्य सार्वजनिक प्रयोजनमा उपयोग गर्न सकिने प्रस्ताव अघि सारेको छ । तर, संघीय सरकारबाट स्वामित्व हस्तान्तरण र व्यवस्थापनसम्बन्धी आवश्यक निर्णय नहुँदा यसको सञ्चालन तथा उपयोगको विषय अन्योलमै रहेको जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पनि होल्डिङ सेन्टरलाई वैकल्पिक प्रयोजनमा उपयोग गर्ने सम्भावनाबारे छलफल भइरहेको बताउनुभयो । उहाँले संरचनालाई लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गर्न सकिने सम्भावना औँल्याउनुभएको छ ।
एक हजार क्षमताको उक्त होल्डिङ सेन्टरलाई स्वास्थ्य सेवा विस्तार, विपद् व्यवस्थापन, उपचार तथा पुनःस्थापना केन्द्र वा अन्य सामाजिक तथा सार्वजनिक प्रयोजनमा उपयोग गर्न सकिने सम्भावना रहेको अधिकांशको भनाइ छ ।


















