
जुम्लाको तिला गाउँपालिका–९, माथिल्लो खोप्रीगाउँमा रहेको नदै गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । गुफासम्म पुग्ने सहज बाटो नहुँदा आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन् । हजारौँ चमेराको वासस्थानसमेत रहेको करिब दुई सय मिटर लामो गुफामा पर्यटकीय सम्भावना भए पनि आवश्यक संरक्षण र प्रचारप्रसार हुन नसकेको वडाध्यक्ष धनबहादुर रावतले बताउनुभयो ।
गुफा तथा मन्दिर संरक्षण र निर्माणका लागि सङ्घीय सरकारको ९० लाख बजेटबाट गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दृष्टिकोणले नदै गुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायात अभावले यो क्षेत्र ओझेलमा परेको छ ।
गुफामा प्रवेश गर्दा प्रवेशद्वारबाटै विभिन्न किसिमका आकृति देखिन्छन् । गुफाभित्र रहेका मुख्य आकर्षणमा गाईका जस्तै थुन देखिन्छन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुफालाई जुन रूपमा प्रचारप्रसार गर्नुपर्ने हो, त्यो रूपमा भएको पाइँदैन । त्यसैले राज्यस्तर र अन्य विभिन्न निकायबाट प्रचारप्रसारको पहल गरियो भने अझै बढी रूपमा आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने र पर्यटनको विकासमा टेवा पुग्ने देखिन्छ । गाउँसम्म भरपर्दो सडक निर्माणका लागि यो वर्ष सङ्घीय सरकारको समपूरक बजेटबाट सात करोडको बहुवर्षीय योजनाको बोलपत्र आह्वानको काम अघि बढेको छ । सडक विस्तारसँगै धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेको र स्थानीय पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ वडापालिकाले काम गरिरहेको वडाध्यक्ष रावतको भनाइ छ । यहाँको सबैभन्दा अग्लो चुचुरो र गुफा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ । नदै गुफाका डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ ।
हिमशृङ्खलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन जरुरी छ । नदैबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको वडाध्यक्ष रावतले बताउनुभयो । परम्परागत रूपमा गाईका दुधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने गरेको छ । ऐतिहासिक नदै गुफालाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न पालिकादेखि सबै सरोकारवालाको जिम्मेवारी रहेको यहाँका स्थानीयको धारणा रहेको छ ।
नदै गुफा क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण नदै गुफा पर्यटकको रोजाइमा पर्न सकेको छैन । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके उक्त गुफा जिल्लाकै महत्वपूर्ण धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुने यहाँका स्थानीयवासीको भनाइ छ । नदै गुफालाई थप पहिचान गर्न होर्डिङ बोर्ड, नक्सा निर्माणको काम यस वर्षदेखि गरिने वडा कार्यालयले जनाएको छ ।
उक्त वडाका पाँच गाउँमध्ये माथिल्लो खोप्री र तल्लो खोप्रीगाउँसम्म सडक सञ्जाल जोडिन नसकेको स्थानीयवासी आमकला थापाको भनाइ छ । प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नदै गुफालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन गाउँपालिकाले गुरुयोजना बनाएर काम अघि बढाउने गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।


















