
वीर अस्पतालका पुरानो र नयाँ भवनलाई जोड्ने गरी लिफ्टसहितको आकासे पुल निर्माण गरिने भएको छ । अस्पतालका दुई भवनबीच बिरामी तथा शय्या आवतजावतमा सहजता ल्याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाको सहयोगमा पुल निर्माण गर्न लागिएको हो ।
पुलको बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । पुल निर्माणका लागि चार करोड ७१ लाख ३४ हजार ७२७ रुपियाँ लागत निर्धारण गरिएको छ ।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालले अस्पतालका दुई भवनलाई सुरक्षित र सहज रूपमा जोड्न आकासे पुल निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्यासमेत सहज रूपमा आवतजावत गराउन सक्ने क्षमताका लिफ्ट जडान गरिने छन् ।
हाल अस्पतालका पुरानो र नयाँ भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले एउटा भवनबाट अर्को भवनमा बिरामी लैजान सडक पार गर्नुपर्ने बाध्यता छ । विशेषगरी मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा बिरामी स्थानान्तरण गर्दा बिरामी र स्वास्थ्यकर्मीले सडक पार गर्नुपर्ने अवस्था छ ।
आकासे पुल निर्माण भएपछि सडक पार गरेर बिरामी लैजानुपर्ने बाध्यता हट्ने र अस्पतालका दुई भवनबीचको आवतजावत सहज हुने निर्देशक डा. नेपालले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङ निर्माण गरिने छ । लिफ्टबाट बिरामी, शय्या तथा अस्पतालका आवश्यक सामग्री एक भवनबाट अर्को भवनमा सहज रूपमा ओसारपसार गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
आकासे पुल निर्माणले अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै उपचार सेवा व्यवस्थापन र बिरामीको आवागमन थप सहज हुने अस्पतालका निर्देशक डा. नेपालले बताउनुभयो ।


















