नेभिगेसन मेनु

बढ्यो वैदेशिक व्यापार
समय:2026-11-26 14:22

Bhansar-Bibhag

चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा वैदेशिक व्यापार बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि कात्तिकसम्म आयातनिर्यात दुवै बढेको हो । 

सो अवधिमा आयात ३१.७७ प्रतिशतले बढेर आठ खर्ब तीन अर्ब नौ करोड रुपियाँ पुगेको छ । गत आवको सो अवधिमा छ खर्ब नौ अर्ब ४५ करोड बराबर भएको आयात भएको थियो । चालु आवको चार महिनामा निर्यात ४३.४८ प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब १४ करोड पुगेको छ । गत वर्ष सो अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपियाँ बराबरको निर्यात भएको थियो । 

आयातनिर्यात दुवैमा आएको उछालका कारण समग्र वैदेशिक व्यापार नौ खर्ब ३७ अर्ब २४ करोड बराबर पुगेको तथ्याङ्कले देखाएको छ । व्यापार घाटासमेत २९.६५ प्रतिशतले बढेर छ खर्ब ६८ अर्ब ९५ करोड रुपियाँ पुगेको छ । 

विभागका अनुसार चार महिनामा सबैभन्दा धेरै एक खर्ब ५७ अर्ब ५५ करोड रुपियाँ बराबरको इन्धन आयात भएको छ । यस्तै ८० अर्ब ८२ करोड रुपियाँ बराबरको वनस्पति तथा अन्य घिउ तेल आयात भएको छ । ६७ अर्ब २८ करोड बराबरको सवारीसाधन र त्यसका पार्टपुर्जा आयात भएको छ । 

यस्तै ६२ अर्ब ८१ करोड रुपियाँ बराबरको सोयाबिनको कच्चा पदार्थ आयात भएको विभागको तथ्याङ्कमा छ ।  यस्तै ४९ अर्ब ३३ करोड बराबरको आइरन तथा स्टिल र २० अर्ब ६८ करोड बराबरको स्मार्ट फोन आयात भएको छ । 

चार महिनाको अवधिमा नेपालबाट ६१ अर्ब ३४ करोड ९१ लाख बराबरको सोयाबिनको तेल निर्यात भएको छ । विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुनः सोयाबिनको तेल निर्यात हुने गर्छ । 

यस्तै तीन अर्ब ८९ करोड रुपियाँ बराबरको कार्पेट निर्यात भएको छ । तीन अर्ब ४४ करोडको अलैँची र तीन अर्ब ३१ करोडको जुट निर्यात भएको विभागको तथ्याङ्क छ । यस्तै सूर्यमुखी तेल दुई अर्ब ७८ करोड र पाम तेल दुई अर्ब ६९ करोड बराबरको निर्यात भएको छ । 

सो अवधिमा भारतबाट नेपालमा चार खर्ब ६२ अर्ब बराबरका वस्तु भित्रिएका छन् । नेपालबाट एक खर्ब १२ अर्ब बराबरको वस्तु भारतमा निर्यात भएको छ । भारतबाट उच्च आयात हुँदा तीन खर्ब ४९ अर्ब ४९ करोड व्यापार घाटा रहेको छ । चीनबाट एक खर्ब ६४ अर्ब २७ करोड रुपियाँ बराबरको आयात हुँदा नेपालबाट एक अर्ब बराबरको निर्यात भएको छ । चीनसँग एक खर्ब ६३ अर्ब २५ करोड रुपियाँ व्यापार घाटा रहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी