
कात्तिक शुक्ल पूर्णिमाको चिसो रातमा आकाशबाट झरेको जूनको उज्यालोमा गोरखाको ठुलो आँगनमा मकै सुकाउने पर्व धुमधामका साथ मनाइएको छ । ऐतिहासिक ठुलो आँगनमा मंगलबार साँझ गोरखाका नेवार समुदायले लोप हुँदै गएको मकै सुकाउने पर्व मनाएका हुन् ।
सदरमुकामस्थित ऐतिहासिक ठुलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवार समुदायलगायतका स्थानीयबासीले सामूहिक रूपमा जूनको प्रकाशमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
“ठुलो आँगनमा प्लास्टिक ओछ्याएर त्यसैमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न जूनको प्रकाशमा सुकाएर यो पर्व मनाउने गरिन्छ,” उहाँले भन्नुभयो । पर्व मनाउनका लागि स्थानीयबासीले कात्तिक शुक्ल पूर्णिमाका दिन घरघरबाट आफूखुसी मकैसहितका गेडागुडी र अन्नबाली ल्याउने प्रचलन छ ।
सुकाइएको खानेकुरा प्रसादका रूपमा बाँडेर खाने गरिन्छ । नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठका अनुसार झन्डै ४० वर्षदेखि मनाउन छाडिएको यो पर्व गएको चार वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यले सामूहिक रूपमा मनाउन थालिएको बताउनुभयो ।
यो पर्वसँग गहिरो धार्मिक विश्वास जोडिएको छ । कात्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले त्यस रात भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका गेडागुडी, फलफूल, सखरखण्ड र अन्य खाद्यान्न जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वास गरिन्छ ।
शुक्ल पूर्णिमाको दिन जूनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ तथा बलियो हुने मान्यता पनि रहँदै आएको छ । परम्परागत रूपमा नेवार समुदायले आआफ्नै घरमा अन्न सुकाएर मनाउँदै आएको यो पर्व अहिले गोरखामा संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको उहाँले बताउनुभयो ।
“परम्परा र संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यले लामो समयदेखि रोकिएको यो पर्व तीन वर्षअघिदेखि पुनः सुरु गरिएको हो,” श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले लोप हुन लागेको मकै सुकाउने पर्वको जगेर्नाका लागि स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको भन्दै यस्ता सांस्कृतिक अभ्यासले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्वका अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको जनाइएको छ ।


















