
तत्कालीन सरकारले विसं २०७७ मङ्सिर १५ गते निकै तामझामसाथ ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माणको महत्वाकाङ्क्षी अभियान सुरु गरेको थियो तर शिलान्यास भएको छ वर्ष बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा ती अस्पताल कतै कागज र शिलालेखमै सीमित छन् भने कतै अलपत्र संरचना बनेर ठडिएका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीको पछिल्लो समीक्षा र आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको आधिकारिक विवरणले आधारभूत अस्पतालको सुस्त गतिलाई छर्लङ्ग पारेको छ । पहिलो चरणमा प्रदेशका ५४ वटा स्थानीय तहमा १० शय्याका ३१ र १५ शय्याका २३ वटा पालिका अस्पताल एकैसाथ शिलान्यास गरिएको थियो । दोस्रो चरणसमेत गरी प्रदेशका ८८ मध्ये ८१ स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल बनाउने योजना अघि सारिए पनि हालसम्म जम्मा ३३ वटा मात्र सञ्चालनमा आउन सकेका छन् । अन्य ४८ वटा भवनको निर्माणको काम बजेट भएर पनि छ वर्षसम्म पूरा हुन सकेको छैन ।
बैतडीका नौ वटै स्थानीय तहमा अस्पताल बनाउने निर्णय भए पनि प्रगति निराशाजनक छ । जिल्लाकै सबैभन्दा दुर्गम सिगास गाउँपालिका–८, भुणमा १६ करोड रुपियाँ लागतमा बन्ने भनिएको अस्पताल बजेट नआउँदा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मै सीमित रहेको स्वास्थ्य संयोजक घनश्याम बोहराले बताउनुभयो । पाटन नगरपालिकामा १४ करोड ४७ लाख रुपियाँ लागतमा १५ शय्याको अस्पताल आर्थिक वर्ष २०७७/७८ देखि ठेक्कामा दिइएको छ तर ठेकेदारको लापर्बाहीले पहिलो तलासमेत नबनेको स्वास्थ्य शाखा संयोजक मदन महराको गुनासो छ । भवन निर्माणको काम २०८३ जेठमा सक्नुपर्ने सम्झौता थियो ।
पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा विसं २०७७ मै नौ करोड रुपियाँको ठेक्का सम्झौता भएको थियो । अहिले ठेकेदारको अत्तोपत्तो नभएको स्वास्थ्य संयोजक विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । शिवनाथ–६, सुल्लेखानमा पुनः शिलान्यास गरी सात करोड तीन लाख ७४ हजार रुपियाँको लागतमा निर्माण सुरुको छ । यद्यपि कामले गति लिएको छैन भने सुर्नया, डिलासैनी–७, धामीगाउँ र पञ्चेश्वरमा निर्माण ठप्पप्रायः छ । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार प्रदेशका अन्य जिल्लाको अवस्था पनि उस्तै छ । अछामको चौरपाटी, बान्नीगढी जयगढ र तुर्माखाँद, दार्चुलाको ब्याँस, दुहुँ, अपिहिमाल र लेकम, डडेल्धुराको आलीताल, भागेश्वर र नवदुर्गामा निर्माणको काम अधुरै रहेको छ ।
त्यसै गरी कञ्चनपुरको बेलौरी र बेलडाँडी, बझाङको सुर्मा, छबिसपाथीभेरा, केदारस्युँ र वित्थडचिर, बाजुराको खप्तड छेडेदह र हिमाली, कैलालीको मोहन्याल र गौरीगङ्गा तथा डोटीको बोगटान फुडसिल र केआइसिंह गाउँपालिकामा अस्पताल निर्माण अझै अधुरो छ । धनगढी उपमहानगरपालिका, टीकापुर, लम्कीचुहा, भीमदत्त र कृष्णपुरमा भने आधारभूत अस्पतालको विवरण खाली छ ।
एक्काइस पालिकामा सञ्चालन
प्रदेशका ८८ वटा पालिकामध्ये २१ वटा पालिका सेवा सञ्चालन गरेका छन् । केहीले नयाँ भवन र केहीले साबिककै स्वास्थ्यचौकीको भवनबाट सेवा सञ्चालन गरेका हुन् । सञ्चालनमा आएका दार्चुलाको नौगाड, मार्मा र मालिकार्जुन, डडेलधुराको परशुराम, अजयमेरु र गन्यापधुरा, कञ्चनपुरको लालझाडी र दोधाराचाँदनी, बझाङको खप्तडछान्ना, बाजुराको बुढीनन्दा, गौमुल, जगन्नाथ र बुढीगङ्गा रहेका छन् । त्यसै गरी कैलालीको कैलारी, भजनी, बर्दगोरिया र घोडाघोडी; बैतडीको डिलासैनी तथा डोटीको आदर्श, पूर्वीचौकी र बडीकेदारमा पनि सेवा सञ्चालनमा छ ।
करोडौँको भवन, छैन सेवा
कतिपय भवन बनेका पालिकामा जनशक्ति र उपकरण नहुँदा स्वास्थ्य सेवा सुरु हुन सकेको छैन । करोडौँ रुपियाँ खर्चेर निर्माण सम्पन्न भइसकेका संरचना पालिकालाई हस्तान्तरण नहुनु, उपकरण, जनशक्ति र खानेपानी जस्ता न्यूनतम पूर्वाधार नहुँदा यी भवन प्रयोगविहीन बनेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तडमा आठ करोड ५१ लाख ४६ हजार रुपियाँको लागतमा १० शय्याको भवन तयारको छ तर सेवा सुरु हुन सकेको छैन । यस्तै नियति बझाङको बुङ्गल (खिरातडी) र तलकोट (मेलबिसौना), कञ्चनपुरको शुक्लाफाँटा (पिपलाडी) तथा डोटीको शिखर नगरपालिकाले पनि भोगिरहेका छन् ।
प्रणालीगत समस्या
प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक योगेशप्रसाद भट्टका अनुसार जनप्रतिनिधि र स्थलगत अवस्थाको विश्लेषण गर्दा अस्पताल निर्माण र सञ्चालनमा विभिन्न प्रणालीगत समस्या बाधक देखिएका छन् । आवश्यक मापदण्ड अनुसार जग्गा सुनिश्चित नगरी राजनीतिक जस लिन हतारमा शिलान्यास गर्दा कतिपय ठाउँमा कामै सुरु नै भएको छैन । अछामको रामारोशनमा राजनीतिक विवाद, बैतडीको डिलासैनी र मेलौलीमा स्थान विवाद तथा बाजुराको बुढीनन्दा र डोटीको जोरायलमा जग्गा अभावले भवन निर्माण अवरुद्ध रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


















