नेभिगेसन मेनु

रसुवा हिमबाढीबाट प्रभावित बालबालिकाको पुनःस्थापना सुरू
समय:2026-11-26 16:01

photo-balbalika-

 सरकारले रसुवा, भोटेकोशी हिमबाढीको विपद्बाट प्रभावित बालबालिकाको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नीतिगत एवम् व्यावहारिक कार्यान्वयन सुरू गरेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले भेटेकोशी बाढी प्रभावित क्षेत्रका ३० वटा होल्डिङ सेन्टरमा रहेका एक हजार २३३ बालबालिकामध्ये ५८४ जनाको पुनःस्थापनाका लागि नीतिगत एवम् व्यवहारिक कार्यान्वयन सुरू गरेको हो ।  

अन्तर्राष्ट्रिय बाल दिवस एवम् बालयौन दुव्र्यवहार विरूद्धको विश्व दिवसका अवसरमा बालबालिकाको क्षेत्रमा क्रियाशील ३० भन्दा बढी संस्थाको संयुक्त रूपमा आयोजित “विपद्पछि बालबालिकाको संरक्षणका सवाल र सम्बोधनको अवस्था” विषयक छलफलमा परिषद्ले सो बारेमा जानकारी गराएको हो । 

परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमन गरी तयार गरेको प्रारम्भिक विवरण अनुसार त्यस घटनामा प्रत्यक्ष प्रभावित ५८४ बालबालिकामध्ये बाबुआमा दुवै गुमाएका ४१ जना, बाबु गुमाएका १६१ जना र आमा गुमाएका ६७ जना गरी जम्मा २६९ जना बालबालिका अनाथ तथा एकल अभिभावकका सहारामा रहेका छन् । 

परिषद्का सूचना अधिकारी रामबहादुर चन्द्ले भोटेकोशीको हिमबाढीबाट प्रभावित क्षेत्रका बालबालिका अवस्था अनुगमनको प्रारम्भिक विवरण अनुसार बालबालिकाको प्राथमिकताका आधारमा दीर्घकालीन पुनःस्थापनाको प्रक्रिया अगाडि बढेको जानकारी दिनुुभयो ।

उहाँका अनुसार भोटेकोशीको बाढीबाट अभिभाव गुमाएर जोखिममा रहेका ९८ बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना अनुसार पुनःस्थापनाको काम अगाडि बढिसकेको छ । 

नीतिगत व्यवस्था र संस्थागत सहकार्य

बालबालिकाको हक अधिकारका लागि नेपालको संविधान तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को व्यवस्था बमोजिम अस्थायी तथा दीर्घकालीन संरक्षणको व्यवस्था मिलाइएको छ ।

बाढी प्रभावित बालबालिकाका लागि परिषद्ले “विपद् प्रभावित बालबालिका अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन निर्देशिका, २०८३ तथा विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण हेरचाह तथा स्याहार योजना, २०८३” तर्जुमा गरी कार्यान्वयनमा ल्याएको पनि परिषद्ले जनाएको छ ।  

परिषद्ले बाढी प्रभावित क्षेत्रमा बाल कल्याण अधिकारी तोक्ने र स्थानीय बाल अधिकार संयन्त्रण्लाई थप क्रियाशील बनाउने कार्य अगाडि बढाएको छ ।

संविधानमा भएको व्यवस्था बमोजिम विपद् व्यवस्थापन स्थानीय तहको एकल अधिकार क्षेत्रभित्र पर्ने भएकाले रसुवा भेटेकाशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि बाल कल्याण अधिकारीको नेतृत्वमा विशेष टोली परिचालन गरी विपद् जोखिम न्यूनीकरणका काम अगाडि बढाएको हो ।

परिषद्ले रसुवा र नुवाकोटमा विशेष टोली परिचालन गरी विपद् जोखिम न्यूनीकरण समितिसँग समन्वय गर्नुका साथै काठमाडौँ उपत्यकाका गुम्बाहरूमा रहेका प्रभावित बालबालिकाको तथ्याङ्क संकलन गरेको छ ।

परिषद्का अनुसार बालबालिकाको तत्काल उद्धार तथा खोजतलासका लागि बालबालिका खोजतलास सेवा १०४ र बाल हेल्पलाइन सेवा १०९८ निरन्तर सञ्चालनमा रहेका छन् । 

बाल अधिकारकर्मी मिलन धरेलले भोटेकोशीको प्राकृतिक विपद्ले नयाँ गरिब उत्पादन गरेकाले यसको दीर्घकालीन असर बालबालिकाका पर्ने भएकाले तिनै तहका सरकार र यस क्षेत्रमा कार्यरत सामाजिक संस्थाहरू बालबालिकाको संरक्षणमा थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

यस वर्षको राष्ट्रिय बाल दिवसको नारा “बालापनको रक्षाः भविष्यको सुरक्षा” तथा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२६ को नारा तय गरी बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिएको जनाइएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी