नेभिगेसन मेनु

वनडढेलो व्यवस्थापन रणनीति परिमार्जन गरिँदै
समय:2026-11-25 12:32

Untitled-1 (2)

वनडढेलो व्यवस्थापन रणनीति, २०६७ लाई समयसापेक्ष परिमार्जन गर्न सरोकारवालाबाट सुझाव सङ्कलन थालिएको छ । सङ्घीयता कार्यान्वयनपछि तीन तहका सरकारको भूमिका र जिम्मेवारी स्पष्ट पार्दै डढेलोको रोकथाम, पूर्वतयारी, पूर्वसूचना, प्रतिकार्य तथा पुनर्लाभलाई समेटेर एकीकृत रणनीति तयार गर्न लागिएको हो ।

१६ वर्षदेखि परिमार्जन नभएको रणनीतिलाई आधुनिक प्रविधि, स्थानीय अभ्यास, भौगोलिक अवस्था र डढेलोको जोखिम अनुसार अद्यावधिक गर्न लागिएको हो । यसव्रmममा सोमबार डिभिजन वन कार्यालय चितवनमा आयोजित परामर्श कार्यक्रममा मकवानपुर, चितवन र नवलपरासीका वन कार्यालयका अधिकारी, सामुदायिक तथा कबुलियती वनका प्रतिनिधि, राष्ट्रिय निकुञ्ज, नेपाली सेना र सञ्चारकर्मीलगायत सरोकारवालासँग सुझाव लिइएको थियो ।

कार्यक्रममा सहभागीले डढेलो नियन्त्रणमा खटिने जनशक्तिको सुरक्षा, बिमा, प्रोत्साहन, आवश्यक उपकरण र तालिमको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । डढेलो नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्न तथा सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड थियो । 

मकवानपुरका वरिष्ठ वन अधिकृत विशाल भट्टराईले वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत स्थानीय तहमा जाने व्यवस्था भए पनि डढेलो नियन्त्रणमा स्थानीय तहबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।

भरतपुरस्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले डढेलो नियन्त्रणका लागि सङ्घ र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षसम्म चितवनमा ३० लाख रुपियाँसम्म बजेट उपलब्ध गराउने गरेकोमा चालु आर्थिक वर्षमा तीन लाख रुपियाँ मात्रै प्राप्त भएको बताउनुभयो । उहाँले डढेलो नियन्त्रणमा वन हेरालुको भूमिका महìवपूर्ण हुने उल्लेख गर्दै आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । बजेट अभावसँगै आधुनिक उपकरण सञ्चालनसम्बन्धी तालिमको कमीले पनि डढेलो नियन्त्रणमा चुनौती देखिएको सहभागीले बताएका छन् । मकवानपुरको रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेलले डढेलो नियन्त्रणका लागि खरिद गरिएका उपकरण सञ्चालन गर्ने तालिम आवश्यक रहेको बताउनुभयो । 

गण्डकी प्रदेशका वन सचिव मोहन काफ्लेले डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेका आधुनिक प्रविधि र उपकरण भिœयाउनुपर्ने बताउनुभयो । डढेलोका घटना बढ्दै गए पनि यस विषयमा पर्याप्त अध्ययन तथा अनुसन्धान हुन नसकेको उहाँको भनाइ थियो ।

कार्यव्रmममा वन मन्त्रालयका अवकाशप्राप्त सहसचिव धनञ्जय पौडेलले वनडढेलो व्यवस्थापन रणनीति परामर्शको उद्देश्य र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सन् २००१ देखि २०२० सम्मको तथ्याङ्क अनुसार नेपालमा वार्षिक औसत तीन हजार ९८ वटा डढेलोका घटना हुने गरेका छन् । ती घटनाबाट औसत एक लाख ७२ हजार हेक्टर वनक्षेत्र प्रभावित हुने गरेको छ । उहाँले सन् २०१३ मा एक हजार ७४८, सन् २०२४ मा पाँच हजार २१६ र सन् २०२१ मा सबैभन्दा बढी छ हजार ५३६ वटा डढेलोका घटना भएको जानकारी दिनुभयो । बर्खायाम सुरु हुनुअघि चैत र वैशाखमा मात्रै ८९ प्रतिशत डढेलोका घटना हुने गरेको उहाँले बताउनुभयो ।

वन विभागका उपमहानिर्देशक जीवनाथ पौडेलले वनडढेलोको प्रभाव कुनै निश्चित क्षेत्र वा भूगोलमा मात्र सीमित नरही देशव्यापी तथा अन्तर्राष्ट्रियस्तरसम्म पर्ने बताउनुभयो । डढेलोको चुनौती सामना गर्न समयसापेक्ष नीतिगत व्यवस्था, आधुनिक प्रविधि र दक्ष जनशक्ति आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले जलवायु सङ्कटसँगै डढेलोले वायुको गुणस्तरलगायत वातावरणीय पक्षमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो । सहभागीले वनमा आगो लगाउने व्यक्तिबारे सूचना दिनेको पहिचान गोप्य राख्ने व्यवस्था गर्न पनि सुझाव दिएका छन् । वनसम्बन्धी कानुनी व्यवस्था अनुसार राष्ट्रिय वनमा आगो लगाउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ६० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी