
अर्घाखाँची, असार २१ गते । जिल्लाको सन्धिखर्क नगरपालिका अन्तर्गत ढुङ्गेदेउराली धार्मिक आस्था, लोकविश्वास र मौलिक सांस्कृतिक परम्पराको अनुपम सङ्गमका रूपमा परिचित छ । अन्य देव स्थलभन्दा फरक पहिचान बोकेको यस स्थलमा पैसा, फूल वा प्रसाद चढाउने प्रचलन छैन । यहाँ श्रद्धालुले एउटा सानो ढुङ्गा चढाएर आफ्नो मनोकामना व्यक्त गर्ने अनौठो परम्परा अहिले पनि जीवित छ ।
यही विशिष्ट परम्पराले ढुङ्गेदेउरालीलाई पछिल्ला वर्षमा स्थानीयवासी मात्र नभई देशका विभिन्न स्थानबाट आउने आगन्तुकको समेत आकर्षणको केन्द्र बनाएको छ । धार्मिक आस्थासँगै यसको मौलिक परम्परा र सांस्कृतिक महत्वले आन्तरिक पर्यटनको सम्भावनासमेत बढाएको छ ।
सन्धिखर्कको करिब दुई किलोमिटरको दुरीमा रहेको चुत्राबेँसी–अर्घा सडकखण्डको बिच भागमा अवस्थित यो देउरालीले आफ्नो मौलिक स्वरूप अहिले पनि जोगाइरहेको छ ।
स्थानीय सन्धिखर्क–१०, धरमपानीका ज्येष्ठ नागरिक तुलसीराम पौडेलका अनुसार पैदलयात्रा गर्ने क्रममा यहाँ आइपुगेर थकान मेट्ने, केहीबेर विश्राम गर्ने र यात्रा सफल तथा सुरक्षित होस् भन्ने कामनासहित एउटा सानो ढुङ्गा चढाउने प्रचलन विगतदेखि नै चल्दै आएको छ । विशेष गरी उकालोओरालो बाटो पार गर्दा दुर्घटनाबाट जोगिने विश्वासका साथ बाटोबाट टिपिएको ढुङ्गा देउरालीमा थुपार्ने परम्परा पुस्तौँदेखि निरन्तर चल्दै आएको छ ।
ढुङ्गा चढाउने परम्पराको पछाडि गहिरो सामाजिक र सांस्कृतिक सन्देश पनि लुकेको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका व्यक्तिले पनि कुनै खर्चबिनै पूजाअर्चना गर्न सकून् भन्ने भावनाबाट यो प्रचलन सुरु भएको विश्वास गरिन्छ । यसले आस्थामा धनसम्पत्तिभन्दा श्रद्धा र विश्वास नै सर्वोपरि हुन्छ भन्ने सन्देश प्रवाह गर्ने गरेको छ । त्यसैले ढुङ्गेदेउराली केवल धार्मिक स्थल मात्र नभई समानता, सरलता र लोकविश्वासको जीवन्त प्रतीकका रूपमा स्थापित भएको छ ।
स्थानीयवासीका अनुसार यस क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा आवश्यक ध्यान दिन सके ढुङ्गेदेउराली अर्घाखाँचीको महìवपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने देखिन्छ । लायन्स क्लबलगायतका विभिन्न सामाजिक सङ्घ संस्थाले यहाँ सामान्य संरचना निर्माण, सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । लायन्स क्लबका कृष्णप्रसाद भुसालले सम्बन्धित निकायले योजनाबद्ध रूपमा संरक्षण र प्रवर्धन गर्न सके यस स्थलले आन्तरिक पर्यटन प्रवर्धनका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पु¥याउने बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पर्यटनको केन्द्रका रूपमा विकास भएको बताउँदै थप व्यवस्थित गर्न नगरलाई आगामी कार्यक्रममा प्राथमिकतामा राखेको बताउनुभयो ।










