गाजा सिटी — गाजाको नागरिक सुरक्षा एजेन्सीले मंगलबार राति अपार्टमेन्ट र आवासीय भवनमा भएको इजरायली हमलामा १३ जनाको मृत्यु भएको जनाएको छ । ‘इजरायली लडाकु विमानहरूले दक्षिण–पश्चिम गाजा सहरको आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ,’ प्रवक्ता महमुद बासलले भने ।
उनका अनुसार इजरायली हेलिकोप्टरहरूले सहरको पश्चिममा रहेको अपार्टमेन्टमा पनि हमला गरेको र त्यहाँ तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो सहरी केन्द्र गाजा सहर कब्जा गर्ने तयारी गर्दै हमला तीव्र बनाएको छ । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार गाजा सहर र वरपर करिब १० लाख मानिस बस्छन्, जहाँ अनिकाल घोषणा गरिएको छ । एएफपीको तथ्यांकअनुसार हमासले २०२३ अक्टोबरमा इजरायलमा गरेको हमलामा सर्वसाधारण गरी १ हजार २ सय १९ जनाको मृत्यु भएको थियो ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायली जवाफी आक्रमणमा अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार ५ सय ५७ प्यालेस्टिनीको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई संयुक्त राष्ट्रसंघले भरपर्दो ठानेको छ ।