एस् ए टी भी १७ भाद्र २०८२, काठमाडौँः सूडानमा भू–क्षयका कारण कम्तिमा एक हजार जनाको मृत्यु भएको छ । सूडानको विद्रोही संगठन सूडान लिबरेशन मुभमेन्ट/आर्मीले पश्चिमी क्षेत्रमा भू–क्षयका कारण उक्त क्षति भएको जानकारी दिएको हो ।
यो घटना पश्चिमी सूडानको मर्रा पर्वतस्थित ग्रामीण क्षेत्रमा भएको हो । उक्त संगठनका अनुसार लगातार कैयौं दिनसम्म भएको भारी वर्षाका कारण ३१ अगस्टमा यो भू–क्षय गएको थियो ।
तारासिन गाउँको ठूलो क्षेत्र भासिएको र उक्त गाउँमा एक जना मात्र जिवित रहेको विद्रोही संगठनले जनाएको छ । संयुक्त राष्ट्र संघ, अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरुसँग सहयोगको अपिल गरिएको छ ।
भू–क्षय भएको क्षेत्र सुडान लिबरेशन मुभमेन्ट/आर्मीको नियन्त्रणमा रहेको छ । यो संगठन सूडानी सेनासँग मिलेर अर्धशैनिक र्यापिड फोर्सेस (आरएसएफ)विरुद्ध लडाइँ लडिरहेको छ । युद्धका कारण उत्तर दारफूर राज्यका कैयौं स्थानीयले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए ।
सन् २०२३ अप्रिलमा सूडानको सेना र आरएसएफबीच सुरु भएको गृहयुद्धले देशमा भोगमरी निम्त्याएको थियो र पश्चिमी दारफूर क्षेत्रमा जनसंहार भएको आरोप लागेको थियो ।
गृहयुद्धमा मर्नेको संख्या भिन्न भिन्न बताइँदै आएको छ । तर एक अमेरिकी अधिकारीले गतवर्ष सन् २०२३ देखि एक लाख ५० हजारभन्दा धेरै मारिएको दाबी गरेका थिए । उक्त युद्धका कारण एक रोड २ लाख बढीले आफ्नो थातथलो छाडेका छन् ।