नेभिगेसन मेनु

दुई खर्ब बढ्यो वैदेशिक व्यापार
सम्पादक:南亚网络电视
समय:2025-04-21 12:00

baideshik byapar

एस् ए टी भी ०८ वैशाख, काठमाडौँः पछिल्ला महिना नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आवको नौ महिनामा वैदेशिक व्यापार करिब दुई खर्ब रूपैयाँले बढेको छ।  

विभागको तथ्यांक अनुसार पोहोर नौ महिनामा १२ खर्ब ८१ अर्ब ३१ करोड रूपैयाँको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १४ खर्ब ९७ अर्ब ७२ करोड रूपैयाँको आयात, निर्यात भएको छ। यो गत वर्षको तुलनामा १६.८९ प्रतिशतले  बढी हो।

चैत महिनामा आयात, निर्यात दुवै वृद्धि भएको हो । पोहोरको तुलनामा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले वद्धि भएको छ। नौ महिनामा एक खर्ब ३० अर्ब ९५ करोड रूपैयाँको वस्तु आयात भएको छ। गत आवको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रूपैयाँको वस्तु आयात भएको थियो।

आयातको तुलनामा निर्यात व्यापारमा भने उल्लेखनीय सुधार भएको छ। नौ महिनाको अवधिमा एक खर्ब ८८ अर्ब १९ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। पोहोर सोही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष निर्यात ६५.१६ प्रतिशतले वृद्धि भएको हो।

मुलुकको व्यापार घाटा पनि वृद्धि भएको छ। व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ। पोहोरको तुलनामा सोही अवधिमा व्यापार घाटा ६.४५ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष नौ महिनामा १० खर्ब ५३ अर्ब ४२ करोड रूपैयाँ व्यापार घाटा थियो।

नेपालको एक सय ३० भन्दाबढी मुलुकसँग व्यापार घाटा छ। सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ। भारतसँग ६ खर्ब ३५ अर्ब ७६ करोड ब्यापार घाटा रहेको छ। सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि हुन सकेको छैन। भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग धेरै व्यापार घाटा छ।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ। डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, भटमासको कच्चा तेल, मोबाइल फोन, रेडिमेट गार्मेट, खाद्यान्न तथा तरकारी लगायतका वस्तुहरू विदेशबाट आयात हुन्छन्। सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा भने सुधार आएको छ।

नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा भटमासको तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुस लगायतका वस्तुहरू रहेका छन्। निर्यातलाई प्रोत्साहन गर्न सरकारले सिमेन्ट लगायतका करिब तीन दर्जन वस्तु निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ। निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने व्यवस्था गरेपछि निर्यात बढेको छ तर निर्यातको अंक सानो रहेको छ।

सरकारले निर्यातमा प्रोत्साहन दिने बताए पनि रकम नपाएको निर्यातकर्ता बताउँछन्। उच्च निर्यात गर्ने सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायत वस्तु निर्यात वृद्धि गर्ने सरकारी रणनीति छ।

खाद्यवस्तु निर्यात पनि वृद्धि हुने अपेक्षा गरिएको छ। निर्यात गर्ने वस्तुको परीक्षण गर्न भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। भारत सरकारले नेपालको प्रयोगशालामा गरिएको परीक्षणलाई मान्यता दिने निर्णय गरेको छ। नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशालामा परीक्षणपछि जारी प्रमाणपत्रलाई भारतले मान्यता दिएको छ।

नेपालबाट निर्यात हुने वस्तुको नमुना भारतका लखनउ, कोलकाता, नयाँ दिल्ली पठाइन्थ्यो। त्यहाँका प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्र वस्तु निर्यात हुने गथ्र्यो। यसले झन्झट थियो भने लागत बढेको थियो। नेपालमा उत्पादन हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतले परीक्षणको मान्यता पाएकाले अब यी वस्तुको निर्यात वृद्धि हुने अपेक्षा छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर