एस् ए टी भी २१ चैत्र, काठमाडौँः राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार नेपाल छाडेर बिदेसिनेमध्ये ३९ प्रतिशत निरक्षर छन्। २०७८ सालको जनगणनासँग सम्बन्धित ‘नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइ’ प्रतिवेदनको ‘अनुपस्थित र शैक्षिक अवस्था’ शीर्षकमा समग्रमा बिदेसिएका ३९ प्रतिशत नेपाली निरक्षर रहेको उल्लेख छ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले प्रतिवेदनलाई उद्धृत गर्दै विदेश जाँदाको समयमा लगभग ३९ प्रतिश व्यक्ति साक्षर नभएको देखिएको बताए। जनगणनाको समयमा विदेश अनुपस्थित व्यक्तिहरूमध्ये निरक्षर हुने सर्वाधिक सुदूरपश्चिम (५१.१ प्रतिशत) र दोस्रो स्थानमा कर्णााली (४६.४ प्रतिशत) प्रदेश रहेको देखिएको उनले बताए।
लामिछानेका अनुसार उच्च साक्षरताका आधारमा हेर्दा अनुपस्थितमध्ये बागमतीका ७३.६ प्रतिशत र कोसी प्रदेशका ६९.६ प्रतिशत छन्। हिमाली क्षेत्रका करिब ५१ प्रतिशत विदेश अनुपस्थित व्यक्ति निरक्षर रहेका थिए। विदेश अनुपस्थितमध्ये लगभग ४५ प्रतिशतले माध्यमिक शिक्षा पूरा गरेका थिए भने ४१.२ प्रतिशतले आभारभूत शिक्षा मात्र पूरा गरेका थिए। स्नातक तह पूरा गरेर विदेश अनुपस्थित हुनेको हिस्सा सर्वाधिक १४.४ प्रतिशत बागमती प्रदेशमा रहेको थियो।
‘बिदेसिने निरक्षरमध्ये पनि सुदूरपश्चिमबाटै बढी छन्। यसले त्यस क्षेत्रमा बढी गरिबी र बेरोजगारीको समस्या रहेको सरकारी तथ्यांकले नै स्पष्ट पारेको छ,’ लामिछानेले भने, ‘जीविकोपार्जन गर्न तल्लोस्तरको काम गर्न भए पनि नेपालीहरू सिप र साक्षर नभए पनि बिदेसिने गरेको देखियो। विशेषगरी भारत र खाडी मुलुकमा गएको देखिन्छ।
अब राज्यको नीति विगतभन्दा फरक बन्नु पर्छ। शिक्षा र सिप दिएर मात्र विदेश जाने आधार तयार पार्ने कार्यक्रम ल्याउनु पर्छ।’
२१०८ सालसम्म २५ लाख नेपालीले देश छाड्ने राष्ट्रिय तथ्यांक कार्यालयले २१०८ सालसम्म पुग्दा २५ लाख नेपालीले देश छाड्ने आकलन गरेको छ। २०७८ सालको जनगणनाको तथ्यांकअनुसार १८ लाख २० हजार विदेशमा छन्। यही आधारमा कार्यालयले अध्ययन अनुसन्धान गरी अगामी तीस वर्षसम्म बिदेसिने संख्या प्रक्षेपण गरेको हो।
बिदेसिएका नेपालीमध्ये आधाभन्दा बढी राम्रो तलब, ज्याला र नोकरीको खोजीमा गएको देखिन्छ। राष्ट्रिय जनगणनाको बसाइसराइँ प्रतिवेदनमा उल्लेख भएअनुसार स्वदेशमा रोजगारी, तलब र सेवासुविधाको राम्रो अवसर नभएका कारण नेपाली विदेश जाने गरेका छन्। कोही व्यवयायका लागि पनि विदेश गएका छन्।
नेपालको प्रवासन प्रवृतिले २०५८ सालमा ३.३ प्रतिशत र त्यसको दुई दशकपछि अर्थात २०७८ मा ७.५ प्रतिशतको अनुपस्थित दर देखाएको छ। समयको गतिसँगै यसमा पुरुषको अनुपात अत्यधिक रहेको कार्यालयका प्रवक्ता लामिछानेले बताए। बिदेसिएका पुरुष ८२.२ प्रतिशत छन् भने महिलाको अनुपात पुरुषको तुलनामा लगभग पाँच गुणाले न्यून अर्थात १७.८ प्रतिशत मात्र छ।
‘विदेश अनुपस्थित हुनुको मुख्य कारणहरूमा राम्रो तलब, ज्याला, नोकरी, व्यापार तथा व्यवसाय, अध्ययन, तालिम, कामको खोजी र आश्रित रहनु जनगणना अध्ययनले देखायो,’ लामिछानेले भने, ‘कुल विदेश अनुपस्थितमध्ये ५९.८ प्रतिशत राम्रो तलब र ज्यालाको खोजीमा विदेश गएको देखिन्छ।’
उनले अगाडि थपे, ‘त्यसैगरी २०.४ प्रतिशत अभिभावकमाथि आश्रित हुनुको कारणले र १४ प्रतिशत काम खोज्ने उद्देश्यले विदेशमा बसाइँसराइ वा प्रवासन भएको देखिन्छ।’ यसमा पनि युवा जनशक्तिको बाहुल्य छ। यसकारण अब राज्यले नीति निर्माण गर्दा स्वदेशमै अवसर र रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम तय गरी युवा पलायन रोक्नुपर्नेमा उनले जोड दिए।
बिदेसिएका नेपालीमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रेहो जनगणना, २०७८ ले देखाएको छ। यो उमेर समूहका ४९.९ प्रतिशत विदेश गएका छन्। उमेर समूहअनुसार विदेश जाने दोस्रो नम्बरमा ३० देखि ३९ वर्षका छन्। यो उमेर समूहका १९.५ प्रतिशतले देश छाडेको तथ्यांक छ। तेस्रो स्थानमा १० देखि १९ वर्ष उमेर समूहका १७.३ प्रतिशतले देश छाडेका छन्।
‘प्रारम्भिक उमेर खासरी बाल्यवस्थाका महिला (बालिका) को अनुपात भिन्नभिन्न जनगणनामा तुलनात्मक रूपमा उच्च नै रहेको देखिन्छ,’ लामिछानेले भने, ‘२०७८ सालको जनगणनाअनुसार ५ वर्ष र सोभन्दामुनिको उमेर समूहमा ४५ प्रतिशत महिला अनुपस्थितको संख्याभित्र परेका छन्। जबकी २०–२९ वर्ष उमेर समूहमा केवल १८ प्रतिशत महिला विदेशमा अनुपस्थित छन्।’
संयुक्त परिवारबाट बिदेसिने बढी
बिदेसिनेमध्ये संयुक्त परिवारका बढी छन्। परिवारको आकार र प्रकारका आधारमा बिदेसिएको तथ्यांक जनगणनामा संकलन गरिएको थियो। विदेश अनुपस्थितमध्ये लगभग ४२ प्रतिशत जनसंख्याको घरमा ३ देखि ४ जना मात्र सदस्य रहेको देखिन्छ। एकदेखि २ जना मात्र सदस्य भएको परिवारबाट विदेश अनुपस्थित हुनेको अनुपात करिब एक चौथाइ अर्थात् २३.४ प्रतिशत मात्र रहेको तथ्यांक छ।
यो अनुपात ५–६ जना सदस्य भएको परिवारबाट विदेश अनुपस्थित हुने अनुपात २१.९ प्रतिशत सँग लगभग समान छ। विदेश अनुपस्थित जनसंख्यामध्ये लगभग ४३ प्रतिशतको परिवारको प्रकार एकल प्रकृतिको छ, जहाँ परिवारमूलीको रूपमा बाबु वा आमा रहेका थिए। आधाभन्दा बढी ५१ प्रतिशत विदेश अनुपस्थितको परिवारको संरचना संयुक्त प्रकारको रहेको तथ्यांकले देखाएको लामिछानेले जनाए।
विदेश जानेमा क्षेत्री र ब्राह्मण बढी
जनगणना ०७८ अनुसार विदेश जाने नेपालीमध्ये झण्डै २० प्रतिशत क्षेत्री र १३.३ प्रतिशत ब्राह्मण जातिबाट छन्। त्यसैगरी बिदेसिनेमा मगर समुदायय ८.९ प्रतिशत र विश्वकर्मा समुदायको हिस्सा ८.६ प्रतिशत रहेको तथ्यांक छ। बिदेसिनेमध्ये १४ प्रतिशत मध्यपूर्वी देशमा गएको देखिन्छ। त्यस्तै करिब ११ प्रतिशत भारत र ३ प्रतिशत प्रशान्त महासागरीय क्षेत्रका देशमा गएको देखिन्छ।
जन्मेको देश र नागरिक हैसियत
नेपालको कुल जनसंख्यामध्ये २ करोड ८४ लाख २० हजार ३ सय ३३ जना नेपालमै जन्मिएका हुन्। नेपालमै जन्मिएका मध्ये २ करोड ८३ लाख ९६ हजार ८ सय २१ जना नेपाली नागरिक, २३ हजार ३ सय ५२ जना विदेशी नागरिक थिए। कुल जनसंख्यामध्ये ७ लाख ३४ हजार ६ सय ६३ जना विदेशमा जन्मिएका थिए, जसमा ६ लाख २० हजार सात सय ८९ जना नेपाली नागरिक र एक लाख १३ हजार ८ सय ४५ जना विदेशी नागरिक थिए।