नेभिगेसन मेनु

कात्तिकमा मात्रै ७१ हजार बिदेसिए
सम्पादक:南亚网络电视
समय:2024-12-10 11:40

bides

एस् ए टी भी २५ मंसिर, काठमाण्डौंः देशभित्र रोजगारीको सम्भावना नदेखी बिदेसिन चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ। पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या बढ्दै गएको देखिन्छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक) वैदेशिक रोजगारीमा जाने संख्या थप बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को कात्तिकमा श्रम स्वीकृति लिएर विदेश जाने संख्या ४३ हजार मात्रै रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या झन्डै दोब्बरले बढेको छ।

गत कात्तिकमा मात्रै ७० हजार नौ सय ९० जनाले श्रम स्वीकृत लिएका छन्। यसमा ६२ हजार आठ सय ९० पुरुष र आठ हजार एक सय महिला छन्। चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा धेरै श्रमिक कात्तिकमा बिदेसिएका हुन्।

विगत चार महिनामा करिब साढे दुई लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। साउनदेखि कात्तिक सम्ममा दुई लाख ४१ हजार पाँच सय ८३ जना छन्। वैदेशिक रोजगारीका लागि साउनमा ५९ हजार पाँच सय ७५ जनाले श्रम स्वीकृति लिएका थिए भने भदौमा ५७ हजार चार सय ९३ जना र असोजमा ५३ हजार पाँच सय २५  जना थिए।

चालु आर्थिक वर्षको पहिलो चौमासमा वैदेशिक रोजगारीका लागि नेपाली सबैभन्दा धेरै खाडी मुलुक युएई गएका छन्। वैदेशिक रोजगारीका गन्तव्यमा दोस्रो साउदी अरेबिया र तेस्रो कतार रहेका छन्।

विभागको तथ्यांकअनुसार युएई जहिल्यै पहिलो श्रम गन्तव्य मुलुक बन्न पुगेको छ। कात्तिकमा मात्रै २३ हजार जनाले श्रम स्वीकृति लिएर युएई गएका छन्। साउनमा १७ हजार पाँच सय ४१ जना, भदौमा १८ हजार ६ सय पाँच र असोजमा १७ हजार सात सय २४ जना छन्।

विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ। एकपटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोजेको वैदेशिक विभागका अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै युएई जाने पहिलो नम्बरमा रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए। वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको उनी बताउँछन्।

उनका अनुसार युएईमा श्रम स्वीकृति नलिएका महिला तथा पुरुषको गणना तथ्यांकमा छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। अहिलेको सन्दर्भमा महिला र पुरुष दुवैको रोजाइ युएई हो।

‘युएई एसियाली र अफ्रिकी नागरिकका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो’, उनले भने, ‘धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। त्यही विविधताले उनीहरूलाई त्यहाँ पुर्‍याउने गरेको हो।’

युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्यपूर्वको व्यापार केन्द्र पनि हो। त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेका छन्। दुबईमा उच्च जनसंख्या वृद्धिदरका लागि धेरै कारक छन्, तीमध्ये सबैभन्दा महत्वपूर्ण विश्वव्यापी दृष्टिकोण हो, जसका कारण धेरै विदेशी नागरिक यस क्षेत्रमा बसोवास गर्ने क्रम बढ्दै गएको उनले बताए।

उनका अनुसार युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवामा सन्तुष्टि पाइने गरेको देखिन्छ। पर्यटकीय हिसाबले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ। नेपालीले चाहेअनुसारको काम युएईमा पाइन्छ। त्यहाँका कम्पनीहरू श्रमिकले चाहेअनुसारका छन्। युएईबाट प्रायः नेपालीको युरोप छिर्ने ठुलो उद्देश्यसमेत भएकाले नेपाली श्रमिक युएई जाने गरेको उनले बताए।

अघिल्लो आव २०८०/८१ मा सात लाख ४१ हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्यांक अद्यावधिक गर्दै आएकोमा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या बढ्दो देखिएको छ।

पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो रहेको र श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपाली जाने गरेको विभागको तथ्यांक छ। साथै नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ।

यस्तै, वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई दक्ष र सीपयुक्त बनाई विदेश पठाउने व्यवस्था गर्दै गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको छ।

गत कात्तिकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको तथ्यांकमा धनुषा जिल्ला पहिलो स्थानमा छ। धनुषाबाट तीन हजार पाँच सय ५३ जना श्रम स्वीकृति लिएर विदेश गएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृती लिई जाने नेपालीको संख्या धनुषापछिको क्रमशः मोरङ, सिराहा, रूपन्देही, महोत्तरी र सुनसरी रहेको छ।

विभागको तथ्यांकअनुसार गत कात्तिकमा वैदेशिक रोजगारीका लागि बिदेसिएका करिब ७१ हजार जनामा दक्ष कामदार ४६ हजार पाँच सय ५८ जना, अदक्ष १५ हजार नौ सय ७१ जना, अर्धदक्ष सात हजार नौ सय १६ जना, उच्च दक्ष एक सय चार र व्यावसायिक चार सय ४१ जना छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर