नेभिगेसन मेनु

सुनको मूल्यमा उतारचढाव, बजार सधैं सुनसान
सम्पादक:南亚网络电视
समय:2024-08-23 11:58

屏幕截图 2024-08-23 094041

काठमाडौँ — पहेंलो धातुका रूपमा चिनिएको सुन बजारमा अस्थिरता छाएको छ । बुधबार सुनको मूल्य बढेर ‘रेकर्ड’ बनेकामा बिहीबार भने तोलामै ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला मूल्य १ लाख ५३ हजार रुपैयाँ तोकेको थियो । उक्त मूल्य अहिलेसम्मकै उच्च थियो । बिहीबार भने मूल्य घटेको छ ।

‘सन् २०२४ सुरुताका प्रतिऔंस (२८.३५ ग्राम) २३ सय अमेरिकी डलरमा कारोबार भएको सुन बढेर प्रतिऔंस २५ सय डलर नाघेको छ । बुधबारकै कुरा गर्दा नयाँ रेकर्ड बन्यो, बिहीबार फेरि मूल्य घटेको छ,’ महासंघअन्तर्गत मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले नेपाली बजार पूरै प्रभावित बनेको छ ।’

मूल्यमा भएको उत्तारचढावले सुन बजार तताए पनि बिक्री भने ठप्प रहेको व्यवसायी बताउँछन् । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २४ सय ५२ अमेरिकी डलर थियो । यस दिन नेपाली बजारमा भने प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन बढेर प्रतिऔंस २५ सय ८ डलर पुग्यो । नेपाली बजारमा प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुग्यो । यो नयाँ रेकर्ड थियो । सोमबार भने अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आयो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २५ सय ३ डलरमा कारोबार भयो । नेपाली बजारमा पनि मूल्य घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भयो ।

त्यसमा पनि थप गिरावट आएर मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २५ सय १ डलरमा कारोबार भएको थियो । नेपाली बजारमा पनि सोहीअनुसार घटाएर प्रतितोला सुनको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ तोकियो । बुधबार भने मूल्यले फेरि नयाँ रेकर्ड बनायो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २५ सय १६ डलरमा कारोबार भयो ।

महासंघले नेपाली बजारमा प्रतितोला १ लाख ५३ हजार रुपैयाँ तोक्यो । यो मूल्य अहिलेसम्मकै उच्च थियो । सुनको भाउले नयाँ रेकर्ड ब्रेक गरेको थियो । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढे पनि अन्य मुद्राको तुलनामा डलर कमजोर भयो, त्यही कारण अन्तर्राष्ट्रिय बजारमा बढेको हिसाबले मूल्य धेरै बढेन,’ शाक्यले भने, ‘त्यसको प्रभाव मूल्यमा पर्‍यो । प्रतितोला ८ सय रुपैयाँ मात्रै बढ्यो । तर नेपाली बजारमा मूल्यले कीर्तिमान बनायो ।’ बिहीबार भने मूल्य फेरि घट्यो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस २५ सय १ डलरमा कारोबार भएको छ । नेपाली बजारमा भने प्रतितोला १ लाख ५१ हजार ९ सयमा किनबेच भयो । यसरी सुन बजारमा देखिएको अन्योल र अनिश्चितताले बजार प्रभावित बन्दै गएको महासंघको दाबी छ ।

‘सुनको मूल्यले गहना बजार तातेको छ । तर चाडबाड नजिकिँदै गर्दा बिक्री छैन,’ महासंघका पूर्वअध्यक्षसमेत रहेका शाक्यले भने, ‘अब तीज आउँदै छ, गहनाको अर्डर आउनुपर्ने हो । मूल्यमा देखिएको अस्थिरताले गहना बिक्री ठप्प छ ।’ अनिश्चितताको बाबजुद अन्तर्राष्ट्रिय बजारमा भाउ ३ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । तर मूल्य एकै पटक नभएर घटबढ हुँदै सन् २०२७ सम्म ३ हजार डलर पुग्ने अन्तर्राष्ट्रिय विश्लेषकको अनुमान छ । यसले नेपाली बजारलाई थप प्रभावित बनाउने शाक्यले बताए ।

महासंघले अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर सुनको मूल्य निर्धारण गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर महासंघले मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, २० प्रतिशत भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण हुने गरेको छ । त्यसमा व्यवसायीले ज्याला–जर्ती थपेर मूल्य निर्धारण गर्छन् । त्यही कारण महासंघले तोकेको मूल्यमा सर्वसाधारणले गहना किन्न पाउँदैनन् ।

सर्वसाधारणले गहना किन्दा महासंघले तोकेको मूल्यभन्दा बढी तिर्नुपर्छ । महासंघकै अनुसार ज्याला र जर्तीका नाममा १२ देखि १८ प्रतिशत जोडिन्छ । औसत १२ प्रतिशतकै कुरा गर्दा बिहीबारको मूल्यमा गहनाको उपभोक्ता १ लाख ७० हजार रुपैयाँभन्दा बढी पर्छ ।

किन बढ्दै छ मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य बढ्नुको मुख्य कारण डलर कमजोर हुनु रहेको महासंघको दाबी छ । अन्य मुद्राको तुलनामा डलर कमजोर भएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएको र मूल्यले कीर्तिमान बनाएको महासंघको भनाइ छ । यसबाहेक अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले सेप्टेम्बरमा ब्याजदर घटाउने चर्चा पनि मूल्य बढ्नुको कारण हो ।

विभिन्न मुलुकबीच देखिएको युद्धका कारण पनि मूल्य बढेको बताइएको छ । यही कारण ठूला लगानीकर्ताले सुनमा लगानी गरेको शाक्यले बताए । यीबाहेक पछिल्लो समय चीनले पनि सुनको सञ्चय बढाएको छ । चीनमा घरजग्गाको कारोबार घटेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएको महासंघका वरिष्ठ उपाध्यक्ष दियश शाक्यले जनाए ।

‘सुनको मूल्यमा मुख्य प्रभाव अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) को ब्याजदर भए पनि चीनले सुनको खरिद र मौज्दात बढाएपछि केही प्रभाव परेको छ,’ उनले भने । यीबाहेक केही आन्तरिक कारणले पनि मूल्य बढ्न सघाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट भन्सार दर थप ५ प्रतिशत बढाएपछि केही महँगो भएको छ । यसअघि सुन आयातमा १५ प्रतिशत भन्सार लाग्थ्यो । अब २० प्रतिशत बनाइदिएको छ । ५ प्रतिशत बढ्दा प्रतितोला करिब ६ हजार रुपैयाँ बढेको महासंघले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर