सरकारले देशभरका विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या यकिन गर्न अनलाइन प्रणालीमार्फत एकीकृत तथ्यांक अद्यावधिक (आइइएमआइएस) प्रणाली सुरु गरेको छ । तर, ट्रान्सफर भएर विद्यालय छाडेका विद्यार्थीको हकमा तथ्यांक अद्यावधिक नगर्दा समस्या देखिएको छ । तथ्यांक अद्यावधिक नगर्दा विद्यालय छाड्ने, नयाँ भर्ना हुने आउने र विद्यार्थी थपघटबारे सरकारले यकिन डाटा राख्न र कार्यक्रम बनाउन सकेको छैन ।
सरकारले गत ६ जेठमै सबै विद्यालय र स्थानीय तहलाई तथ्यांक अद्यावधिक गर्न सूचना जारी गरेको थियो । केन्द्रले सबै प्रकारका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विवरणसहित सिस्टममा तथ्यांक अद्यावधिक गर्न निर्देशन दिए पनि अधिकांश विद्यालयले अद्यावधिक नै गरेका छैनन् । विद्यालय छाडेर जाने विद्यार्थीको हकमा तथ्यांक अद्यावधिक नगर्दा विद्यार्थी संख्या यकिन गर्न र अनुदान कार्यक्रम प्रदान गर्न समस्या हुने गरेको मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
केन्द्रका महानिर्देशक दीपक शर्माले स्कुल परिवर्तन गरेपछि पनि विद्यालयले डाटा अद्यावधिक नगराउँदा केही विद्यार्थीको तथ्यांक छुट्ने बताए । ‘सबैभन्दा बढी समस्या ट्रान्सफर भएर आउने विद्यार्थीको हकमा हुन्छ, नयाँ विद्यार्थी थपिए भनेर विद्यालयले पठाएको सूचना हत्तपत्त विश्वास गर्न कठिन हुन्छ, तर जुन विद्यालयबाट ट्रान्सफर भएर गएको हो, त्यो विद्यालयले डाटा इन्ट्री नगर्दा केही समस्या हुने गरेको छ,’ उनले भने, ‘त्यसकारण विद्यार्थी ट्रान्सफर भएर आउने र छाड्ने विद्यालय दुवैले तथ्यांक अद्यावधिक गर्न जरुरी छ ।’
सरकारको आर्थिक सर्वेक्षण ०८०/८१ अनुसार हाल देशभर सामुदायिक र परम्परागत विद्यालय २७ हजार ९९० तथा संस्थागत विद्यालय सात हजार ८८६ छन् । शिक्षा मन्त्रालयका अनुसार हाल देशभरका सबै प्रकारका विद्यालयमा ७१ लाख ४३ हजार २६२ विद्यार्थी छन् । तर, ट्रान्सफर भएर आउने र जाने विद्यार्थी संख्या यकिन नहुँदा यो तथ्यांक पनि पूर्ण रूपमा सत्य नभएको बताइन्छ ।
विद्यार्थी संख्या थपिने र केन्द्रको सिस्टममा तथ्यांक अद्यावधिक नहुँदा त्यसको समस्या विद्यार्थी संख्या थपिने विद्यालयलाई भएको छ । नयाँ विद्यार्थीको संख्या पठाउँदा फेक भनेर शंका गरेको, अनुदान रकम र सहयोग नबढाएकोलगायत समस्या विद्यार्थी संख्या सामुदायिक विद्यालयले झेलिरहेका छन् । आफ्नो विद्यालयबाट छाड्ने विद्यार्थी न्यून भएका, तर अन्य विद्यार्थी ट्रान्सफर भएर आउने विद्यालयलाई यस्तो समस्या हुने गरेको हो ।
बुटवलस्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले ट्रान्सफर भएर आएका विद्यार्थीको तथ्यांक सम्बन्धित विद्यालयले अद्यावधिक नगर्दा आफूहरूले नक्कली विद्यार्थी खडा गरेझैँ हुने बताए । ‘हामीकहाँ यसपटक सात सय विद्यार्थी ट्रान्सफर भएर आए, तर कतिपयको तथ्यांक अद्यावधिक भएको छैन, यसो गर्दा हामीलाई सरकारले दिने अनुदानमा समस्या हुन्छ र सरकारलाई पनि वास्तविक तथ्यांक यकिन हुँदैन,’ उनले भने, ‘त्यसकारण यो सिस्टम सबैलाई जानकारी हुन र लागू गर्न आवश्यक छ ।’ उनले कतिपय निजी स्कुलले विद्यार्थीले स्कुल छाड्यो भन्ने प्रतिशोध राखेर पनि तथ्यांक अद्यावधिक नगरिदिएको बताए । हाल बुटवल उपमहानगरपालिकाले नयाँ विद्यार्थी भर्ना भएका विद्यालयलाई आफैँ तथ्यांक अद्यावधिक गर्न निर्देशन पनि दिएको छ ।
भक्तपुर च्यामासिंहमा रहेको बागिश्वरी माविमा यसपटक ७३१ जना नयाँ विद्यार्थी भर्ना हुन आए । यी विद्यार्थी अन्य विद्यालय छाडेर अर्थात् ट्रान्सफर भएर आएका हुन् । तर, यीमध्ये अधिकांश विद्यार्थीको तथ्यांक सम्बन्धित विद्यालयले अद्यावधिक गरिदिएको छैन । यसो हुँदा सरकारले विद्यार्थी संख्याका आधारमा छुट्याउने अनुदानमा समस्या हुने र सरकारको तथ्यांकसमेत यकिन नहुने विद्यालयका कक्षा ११ र १२ का इन्चार्ज ज्ञानसागर प्रजापतिले बताए । ‘यो तथ्यांक सिस्टममा अद्यावधिक गराउनुपर्छ भनेर धेरैलाई थाहा छैन, तर यो निकै महŒवपूर्ण छ, किनभने सरकारलाई पनि सही तथ्यांक थाहा हुन्छ, विद्यार्थीको रेकर्ड एकीकृत सिस्टममा बस्छ,’ उनले भने, ‘विद्यार्थी थपिएको विद्यालयलाई अनुदानमा पनि समस्या हुँदैन ।’