नेभिगेसन मेनु

उत्पादन वृद्धिका लागि लगानी केन्द्रित
सम्पादक:南亚网络电视
समय:2024-05-28 12:06

Yadav-Chandra-Sharma

जेठ १५ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बागमती सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यव्रmम प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रदेशभित्र उत्पादन र उत्पादकत्व वृद्धिका लागि आगामी आवमा लगानी केन्द्रित गर्ने नीति लिइने उहाँले बताउनुभयो । उहाँले वित्तीय सुशासन कायम गर्ने, राजस्व चुवाहट नियन्त्रण गरिने र प्रदेश गौरवका आयोजना तय गर्न मापदण्ड बनाइने बताउँदै ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

यस्तै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने, आर्थिक रूपमा कमजोर रहेका स्थानीय तहमा थप वित्तीय हस्तान्तरण गरिने, महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानको सम्मान गर्दै प्रोत्साहन भत्तालाई निरन्तरता दिइने भएको छ ।

चेपाङ र सीमान्तकृत समुदायलक्षित कार्यक्रम सञ्चालन गरी राष्ट्रिय मूलप्रवाहमा ल्याइने, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सहलगानीमा निर्माण गरिने, खेलकुद पूर्वाधार निर्माणका कार्यलाई निरन्तरता दिइने र खेल पर्यटनको विकास गरिने उल्लेख छ । त्यसै गरी उहाँले आगामी आवमा ‘सिप विकास तालिम वर्ष’ सञ्चालन गरिने बताउनुभयो । बाँझो जमिन सदुपयोग गर्न सामुदायिक खेतीका लागि पहल गरिने र मौसम पूर्वानुमान सूचना प्रणाली स्थापना गरी मोबाइल एपबाट सूचना उपलब्ध गराउने बताउँदै प्रदेश प्रमुख शर्माले भन्नुभयो, “हेटौँडामा रहेको बागमती धुलो दुध उद्योगलाई निजी, सहकारी र सरकारबाट संयुक्त रूपमा सञ्चालन गरिने छ ।”

कृषिमा प्रविधि प्रयोगमा जोड

कृषि उत्पादनमा लागत कम गर्न प्रविधिकोे प्रयोगमा जोड दिने, प्रदेशमातहतका कृषि तथा पशुपालन फार्महरूको विशिष्टीकरण गर्ने र कृषिमा आधुनिकीकरण गर्न स्मार्ट एग्रिकल्चरको अवधारणालाई नमुनाका रूपमा सञ्चालन गर्ने नीति तथा कार्यव्रmममा उल्लेख गरिएको छ ।

चालु आवमा कार्यान्वयनमा नआएको ‘एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना’ स्थापनालाई आगामी आवमा पनि राखिएको छ । मल कारखाना स्थानीय तहसँगको साझेदारीमा स्थापना गरिने उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रमको कार्यान्वयनबाट उत्पादन तथा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना भई बागमती प्रदेशको आर्थिक समृद्धि र जीवनस्तरमा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ । यस्तै स्वदेशी काठ उपयोगको नीति लिने, सहज रूपमा काठ उपलब्ध गराउने, वन क्षेत्रको पुनस्र्थापन कार्यव्रmम सञ्चालन गरिने, वनजन्तुबाट हुने कृषि बाली क्षति न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने, ‘हाम्रो वन समुदायको वन’ भन्ने नारामा कृषि वनको विकास गरिने भएको छ ।

प्रदेश सरकारले आगामी आवमा ‘बागमती प्रदेश शून्य प्लास्टिक’ नाराका साथ सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भन्दै प्रदेशभित्रका तालतलैयाको संरक्षण गर्ने, डढेलोमुक्त वन क्षेत्र बनाउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, वातावरण संरक्षण गर्न वातावरणीय परिषद् गठन गर्ने, मौलिक पहिचानसहितको सहर बनाउन प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । यस्तै प्रदेश प्रमुख शर्माले हेटौँडालाई बृहत् हेटौँडा सहरका रूपमा विकास गर्दै लैजाने बताउनुभएको छ । नीति तथा कार्यक्रममा विगतका वर्षहरूमा जस्तै आगामी आवमा पनि हेटौँडामा प्रदेश सरकारका प्रशासनिक भवनको निर्माण सुरु गर्ने उल्लेख गरिएको छ । 

प्रदेश बैङ्क स्थापना कार्य अगाडि बढाइने

उत्पादन तथा उत्पादकत्व अभिवृद्धिको माध्यमबाट आर्थिक एवं सामाजिक रूपान्तरणका लागि प्रदेश सरकारको लगानी केन्द्रित गरिने भएको छ । यसका लागि आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने भन्दै नीति तथा कार्यक्रममा प्रदेशमा वित्तीय पहुँच र व्यवस्थापन लागि प्रदेश बैङ्क स्थापना कार्य अगाडि बढाइने भएको छ । साथै प्रदेशको सन्तुलित विकास एवं समृद्धिमा योगदान गर्न सक्ने रूपान्तरणकारी तथा उच्च प्रतिफलयुक्त ठुला आयोजनाको पहिचान र विकास गरी कार्यान्वयनमा लैजाने नीति लिइने जनाइएको छ ।

विनियोजन कुशलता र स्रोतसाधन परिचालनमा दक्षता अभिवृद्धि गरी कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने, प्रदेश सरकारको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, वित्तीय सङ्घीयताको सबलीकरण गर्न प्रदेशको आयस्रोत वृद्धि गर्ने र आन्तरिक आयस्रोत कम भएका तथा मानव विकास सूचकाङ्कमा कमजोर रहेका स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत थप कार्यक्रम तथा बजेट उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । 

उहाँले प्रदेश सडकलाई बाह्रै महिना चल्ने बनाउन प्रदेश सडक जोड्ने पुलहरूको निर्माण र प्रदेश सडकको स्तरोन्नति प्राथमिकताका साथ अगाडि बढाइने र प्रदेश सडक स्तरोन्नति गरिने बताउनुभयो । प्रदेशभित्र वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनको प्रवर्धन गरी प्रविधिको विकास र प्रसारमा जोड दिइने भन्दै प्रदेश प्रमुख शर्माले आगामी आवमा उपलब्ध भएसम्म स्वदेशी उत्पादनको प्रयोग गर्ने र उद्योग वाणिज्य कार्यालयलाई नमुना कार्यालयका रूपमा विकास गरिने बताउनुभयो ।

प्रदेश प्रमुख शर्माले कृषि उत्पादन वृद्धिलाई केन्द्रमा राखी बृहत् सिँचाइ आयोजनाको पहिचान र निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभयो । सार्वजनिकस्तरमा खानेपानी तथा शौचालयको व्यवस्था स्थानीय तहसँगको साझेदारीमा गरिने बताउँदै उहाँले सबै प्रदेशवासीको घरमा उज्यालो पु-याइने नीति लिइने बताउनुभयो । 

त्यसै गरी दोलखाको जिरीमा बहुउद्देश्यीय ताल र हेटौँडा उपमहानगरपालिकाको गँगटेमा बहुउद्देश्यीय पोखरी निर्माण गरिने छ । पेट्रोलियम पदार्थमा रहेको अत्यधिक निर्भरता कम गर्न विद्युतीय सवारीसाधन प्रयोगलाई थप प्रोत्साहन गरिने, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न प्रोत्साहन गर्ने नीतिगत व्यवस्था मिलाइने भएको छ । मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । 

सङ्घीय सरकारसँगको समन्वयमा प्रहरी समायोजन कार्य सम्पन्न गरी प्रदेश प्रहरी गठन र प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सुरक्षा संवेदनशील क्षेत्रलगायतका स्थानमा आधुनिक प्रविधियुक्त सुरक्षा सामग्रीको जडानलाई निरन्तरता दिइने, प्रविधिमैत्री सुरक्षा जाँच चौकी निर्माण गरिने उहाँले बताउनुभयो । प्रदेश र स्थानीय तहमा कार्यरत र नवप्रवेशी कर्मचारीको क्षमता वृद्धिका लागि सेवाकालीन तथा सेवा प्रवेश तालिमलाई समसामयिक र व्यावहारिक बनाउँदै लगिने भएको छ । 

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

सङ्घ, प्रदेश र स्थानीय तहसम्मको सम्बन्ध मजबुत बनाई सङ्घीय शासन प्रणालीको सबलीकरणका लागि शासकीय सुधारसम्बन्धी कार्यव्रmम स्थानीय तहसम्म सञ्चालन गरिने भएको छ । प्रदेश सरकारले यसअघिका नीति तथा कार्यक्रममा जस्तै आगामी आवको नीति तथा कार्यव्रmममा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिइने नीति तथा कार्यव्रmममा उल्लेख गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर