ठूला आर्थिक अपराधमा संलग्न संगठित गिरोहले कारोबारको गोपनीयता र विश्वसनीयताका लागि पाँच रुपैयाँको नोटलाई टोकनका रूपमा प्रयोग गर्न थालेका छन् । सुन तस्करी, हुन्डी तथा क्रिप्टोजस्ता अवैध कारोबारमा संलग्नले एक–अर्काे व्यक्तिबीच गोप्यता कायम राखी विश्वसनीय तवरले कारोबार गर्न यस्तो शैली अपनाउने गरेको प्रहरीले जनाएको छ ।
बिहीबार दरबारमार्गमा स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका मिलन विक र समीर सुनार आबद्ध समूहले पनि यही शैली अपनाएको थियो । प्रहरीका अनुसार मिलनको मोबाइलमा पाँच रुपैयाँका दुईवटा नोटको फोटो भेटिएको थियो । विदेशमा रहेका गिरोहका नाइकेले नोटको फोटो उनलाई ह्वाट्सएपमा पठाएका थिए । ९८ लाख रुपैयाँ उनले रुपन्देही लगेर अर्का एक व्यक्तिलाई दिँदै थिए । त्यसरी पैसा दिने व्यक्तिसँग उनीहरूको चिनजान नभएकाले सोही नोटको फोटोलाई टोकन बनाएर लेनदेन हुन लागेको थियो ।
एसएसपी सानुराम भट्टराई, प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
हुन्डी तथा सुनको कारोबारमा गिरोहका नाइकेले कारोबारीबीच पहिचान गर्नका लागि पाँच रुपैयाँको नोटलाई टोकनका रूपमा प्रयोग गरेको देखिन्छ । यसबाट एक व्यक्ति र अर्काे व्यक्तिबीच सम्पर्कसमेत नदेखिने भएकाले अनुसन्धानमा पनि चुनौती थपिएको छ ।
यो गिरोहका नाइके भारतीय व्यक्ति हुन् । ‘गिरोहका नाइकेले एक समूह र अर्काे समूहबीच पहिचान होस्, तर चिनजान नहोस् भनेर पाँच रुपैयाँको नोटलाई टोकनका रूपमा प्रयोग गरेको देखियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई भन्छन्, ‘सायद त्यो नोट रुपन्देहीमा रहेका व्यक्तिसँग थियो, पैसा दिनुअघि सो नोट मागेर नम्बर भिडाएर हेर्दथे ।’ पक्राउ परेकाले सोधपुछमा सोही कुरा बताएका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई एक अपरिचित व्यक्तिले काठमाडौंको कालिकास्थानमा फलफूल राख्ने कार्टुनमा प्याक गरेर सो रकम दिएका थिए । बा.१३च ४८५८ नम्बरको गाडीमा ल्याएर रकम रहेको कार्टुन राखिदिएका थिए । गाडी नम्बर र ठेगाना दिएकै आधारमा यसरी पैसा हालिदिएका थिए ।
पैसा लिने व्यक्तिसँग पनि उनीहरूको फोनमा समेत कुनै सम्पर्क नहुने गरी संगठित शैलीमा लेनदेनको योजना बनाइएको थियो । विदेशमा रहेका व्यक्तिले दिएको लोकेसनमा पैसा लिएर जाने र पैसा लिने व्यक्ति सो टोकनका रूपमा प्रयोग गरिएको नोट लिएर जान्थे । पैसा लिने व्यक्तिले दिएको नोटको नम्बर र दिने व्यक्तिलाई पठाइएको फोटोमा रहेको नोटको नम्बर एउटै भएको पुष्टि भएपछि मात्र उनीहरूबीच लेनदेन हुन्थ्यो ।
पक्राउ परेकाले अन्य कारोबारमा पनि आफूहरूले यही शैली अपनाउने बताएका छन् । प्रारम्भिक अनुसन्धानमा सो रकम सुन तस्करीबापतको हुन सक्ने देखिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी बताउँछन् । पक्राउ परेका मिलन दोलखामा बरामद भएको करिब साढे ११ किलो सुन तस्करीका फरार अभियुक्त हुन् । सुन पसलसमेत चलाउने उनले केही दिनअघि मात्र चाबहिलनजिकैबाट तस्करीको केही सुन रुपन्देही लगेर एक व्यक्तिलाई बुझाएको खुलेको छ । त्यसरी सुनको अवैध लेनदेनमा पनि उनीहरूले नोटलाई नै टोकनका रूपमा प्रयोग गरेको प्रहरीले पत्ता लगाएको छ ।
नोटलाई टोकन बनाउँदा संगठित गिरोह पत्ता लगाउन प्रहरीलाई कठिन हुने गरेको छ । मुख्य व्यक्ति विदेशमा हुने र उसले नोटलाई नै टोकन बनाएर एक व्यक्तिबाट अर्काे व्यक्तिबीच सम्पर्क गराउने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । कतिपय अवस्थामा नोटको अर्धकट्टी तथा केहीमा नोटको फोटोलाई प्रमुख कोडका रूपमा मानेर आधारमा कारोबार हुने गरेको छ ।
ब्रेक सुमा लुकाएर सुन तस्करी गर्ने चिनियाँ गिरोहले पनि अपराधमा यही तरिका अपनाएको थियो । पक्राउ परेका गिरोहका नाइके चिनियाँ नागरिक याओ पुचेन (एलेक्स)ले बयानमा नोटलाई नै आधार बनाएर आफूले सुन दिने गरेको बताएका छन् । ‘टोखामा उत्पादन भएको सुन मैले चाइना वा हङकङमा रहेका मेनेजर लिनको आदेशबमोजिम ५ र १० रुपैयाँको नोटको फोटो मेरो मोबाइलमा ह्वाट्सएपमार्फत सुन लिन आउने मानिसको हुलियासहित यस्तो हुन्छ भनी बताई टोखाको सुन पगाल्ने कारखानादेखि केही तल ग्रान्डी अस्पतालतर्फ सडकछेउको लोकेसन मलाई दिई उक्त लोकेसनमा मलाई पठाई गई हेर्दा निजले भनेको हुलिया भएको एकजना मानिस कुुरेर बसेकोमा निजलाई भेटी निजले मलाई ५ र १० रुपैयाँको नोट दिने गरेकोमा उक्त नोट मेरो मोबाइलमा भएको नोटको फोटोसँग भिडाई हेर्दा नोटको नम्बर मिलेपछि सुन लिन आएको मान्छेलाई सुन दिई पठाउँथेँ,’ उनले भनेका छन् ।
यसरी तस्करी भएको धेरै सुन भारत जाने गर्दथ्यो । चिनियाँ, नेपाली र भारतीयबीच यसरी नोटलाई नै टोकन मानेर कारोबार गरेको प्रहरीले दायर गरेको अभियोजनपत्रमा उल्लेख छ ।
सो समूहले भित्र्याएको ६० केजी सात सय १६ ग्राम सुन बरामद भएकोमा पटक–पटक गरेर दुई हजार आठ सय ३१ केजी सुन तस्करी गरेको निष्कर्ष सिआइबीले निकालेको छ । यसरी कारोबारमा नोटको कोड प्रयोग भएका गिरोहका कतिपय व्यक्ति जोगिएको हुन सक्ने अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी बताउँछन् ।
हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा यसरी नोटलाई टोकन बनाएर कारोबार गर्ने प्रवृत्ति रहेको प्रहरीका पछिल्ला अनुसन्धानले देखाउँछ । हुन्डी कारोबारकै आरोपमा गत पुसमा पक्राउ परेका विश्वास राई र युवराज प्रसाईंमाथि अनुसन्धान गर्ने क्रममा पनि उनीहरूले टोकनका रूपमा पाँच रुपैयाँको नोट प्रयोग गर्दै आएको खुलेको थियो ।
बिपिकेके रेमिटेन्स प्रालिको आवरणमा राईले समूह बनाएर हुन्डीको कारोबार गर्दै आएकोमा प्रहरीले स्रोत नखुलेको ३० लाख १८ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । सिआइबीले गरेको अनुसन्धानमा आठ करोड ४५ लाख रुपैयाँबराबरको हुन्डी कारोबार गरेको पुष्टि भएको थियो । बयानका क्रममा प्रसाईंले पाँच रुपैयाँको नोटलाई आधार बनाएर हुन्डी रकम सम्बन्धित व्यक्तिलाई दिइने बताएका थिए ।
गत मंसिरमा पक्राउ परेका धीरज जैसवाल, अकबर अन्सारी र अमर शर्माको समूहले पनि यही शैली अपनाएको थियो । हुन्डी र क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका उनीहरूले पाँचको नोटलाई नै टोकन मानेर कारोबार गर्दै आएका थिए ।
जैसवालले बयानमा भनेका थिए, ‘बाइनान्स खातामा भएको क्रिप्टोकरेन्सीबाहेक अन्य माध्यमबाट एक देशबाट अर्काे देशमा रकम पठाउँदा विदेशमा भएको एजेन्टसँग ह्वाटसएपमा सम्पर्क गरी रकम पठाउने र प्राप्त गर्ने व्यक्तिहरू सबैलाई नेपाली पाँच रुपैयाँको विभिन्न नोटलाई टोकनका रूपमा प्रयोग गरी उक्त टोकनमा भएको विशेष अंकलाई कोड मानी सोही कोड नम्बरका आधारमा विदेशमा भएको एजेन्टले भनेअनुसारको रकम कोड प्राप्त गरी लिने दिने गरेको छु ।’ ९ लाख १० हजार स्रोत नखुलेको रकमसहित पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले यसरी करोडौँको कारोबार गर्दै आएको खुलेको हो ।
आर्थिक अपराधको अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारीहरू प्रहरीले अनुसन्धान गरे पनि गिरोहका अन्य व्यक्तिलाई जोगाउन आपराधिक समूहले यस्तो शैली अपनाएको बताउँछन् । ‘आर्थिक अपराधमा संगठित गिरोहहरूले निकै चतुर शैली अपनाउने गरेका छन्,’ ती अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा प्राविधिक अनुसन्धान महत्वपूर्ण, तर प्रहरीसँग त्यस्तो सूक्ष्म रूपमा अनुसन्धान गर्न दक्ष नजशक्ति र स्रोत साधन अभाव छ ।’
पहिलोपटक हुन्डीको अनुसन्धान प्रहरीबाटै हुँदै
हुन्डीसम्बन्धी कसुरमा अब प्रहरी आफैँले अनुसन्धान थालेको छ । बिहीबार ९८ लाख रुपैयाँसहित पक्राउ परेका मिलन विक र समीर सुनारमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान अघि बढाएको छ । यसअघि कानुन अभावमा राजस्व अनुसन्धान विभाग बुझाउने गरिएको थियो ।
गत चैतमा भएको कानुन संशोधनमा यस्ता अपराधमा अब प्रहरीले अनुसन्धान गर्न पाउने व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा हुन्डीसम्बन्धी अपराध थप गरिएको छ । सोहीअनुसार अब प्रहरीले आफैँ अनुसन्धान गर्न थालेको एसएसपी सानुराम भट्टराई बताउँछन् ।
साथै, उनीहरूले सम्पत्ति शुद्धीकरणसमेत गरेको प्रारम्भिक छानबिनमा देखिएको प्रहरीले जनाएको छ । सम्बद्ध कसुरमा सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले आफैँ अनुसन्धान गरी अभियोजन गर्न सक्ने अधिकार थप भएको छ ।