संस्थागत र सामूहिक नेतृत्व प्रणालीबाट पार्टी सञ्चालनमा कमजोरी गरेको भन्दै एमालेमा अध्यक्ष केपी ओलीको संस्थागत आलोचना भएको छ । नेतृत्वले कमजोरी गर्दा ‘विवादास्पद’ दुर्गा प्रसाईंको मनोनयन र बहिर्गमनको घटनाक्रमले पार्टी बदनाम भएको एमालेभित्र बुझाइ छ ।
केन्द्रीय सल्लाहकार परिषद्ले अध्यक्ष ओलीको नाम किटान नगरी नेतृत्वले कमजोरी गरेको भन्दै पहिलोपटक लिखित प्रतिवेदनमार्फत आलोचना गरेको छ । गत ८ र ९ वैशाखमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय सल्लाहकारका अध्यक्ष अमृत बोहराले पेस गरी पारित प्रतिवेदनमा प्रसाईंको मनोनयन र बहिर्गमनको घटनाबाट नेतृत्वले गम्भीर पाठ सिक्नुपर्ने उल्लेख छ ।
शिक्षा लिन नेतृत्वलाई सुझाव दिएका छौँ : अमृत बोहरा, अध्यक्ष, केन्द्रीय सल्लाहकार परिषद्
जे भएको थियो, मनमा चित्त नबुझे पनि धेरै नेता–कार्यकर्ताहरूले भन्न नसकेको अवस्था थियो । तर, बिम्ब र अल्प रूपबाट मात्र भए पनि हामीले नै मुख खोल्यौँ । अध्यक्ष कमरेडले हाम्रो प्रतिवेदन ग्रहण गर्नुभयो । हामीले पनि नेतृत्वलाई शिक्षा लिन सुझाव दिएका हौँ । प्रतिवेदनको सुझावले नेतृत्वलाई अलि गम्भीर बनाएकै हुनुपर्छ ।
‘अधिकांश महाधिवेशन प्रतिनिधिले करिब करिब शतप्रतिशत पार्टीको मर्मअनुसार प्रतिवेदन लेख्नुभो, गलत प्रवृत्तिविरुद्ध बोल्नै पर्थ्यो भनेर धन्यवाद दिनुभएको छ । हामीले ११ वैशाखमा परिषद्को बैठक राख्दा पनि साथीहरूले त्यस्तै ब्रिफिङ गर्नुभो,’ बोहराले भने, ‘जे भएको थियो, मनमा चित्त नबुझे पनि धेरैले भन्न नसकेको अवस्था थियो । तर, बिम्ब र अल्प रूपबाट मात्र भए पनि हामीले नै मुख खोल्यौँ । अध्यक्ष कमरेडले हाम्रो प्रतिवेदन ग्रहण गर्नुभयो । हामीले पनि नेतृत्वलाई शिक्षा लिन सुझाव दिएका हौँ । प्रतिवेदनको सुझावले नेतृत्वलाई अलि गम्भीर बनाएकै हुनुपर्छ ।’
केन्द्रीय सदस्यमा प्रसाईंको पदोन्नति र हटाउने काम दुवै संस्थागत र सामूहिक नेतृत्व प्रणालीलाई बेवास्ता गरेर गरिएको प्रतिवेदनमा छ । प्रसाईंले पार्टी र पार्टी नेतृत्वविरुद्ध गालीगलौजकै शैलीमा छारस्ट गरेको र भ्रम छरेको भन्दै प्रतिवेदनमा त्यस्तो कमजोरीबाट पाठ सिक्नुपर्ने बोहराको प्रतिवेदनमा छ ।
‘केही पहिला झापाका एकजना व्यावसायिक व्यक्ति पार्टीको केन्द्रीय कमिटीमा पदोन्नति गरिए । केही समयपछि उनी केन्द्रीय कमिटीबाट हटे । तर, उनी चुप लागेर नबसी हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध सर्वांग रूपमा छारस्ट बन्न पुगे,’ सल्लाहकार परिषद्ले महाधिवेशन परिषद् बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘त्यसले नपुगेर अहिले पनि उनी हाम्रो पार्टीविरुद्ध सीमाहीन अराजनीतिक गाली गर्दै जनतामा भ्रम छर्दै हिँडेका छन् । अब यस प्रकारका कुराबाट पार्टीले आगामी दिनका लागि गम्भीर पाठ सिक्नुपर्दछ ।’
प्रसाईंको मनोनयन र बहिर्गमनको प्रसंगमा कमजोरी औँल्याउनुअघि बोहराले पार्टी सामूहिक नेतृत्वबाट सञ्चालन हुने र त्यसको जवाफदेहिता र जिम्मेवारी पनि संस्थागत रूपमै हुने प्रसंग स्मरण गराएका छन् । ‘हाम्रो पार्टीको नेतृत्व प्रणाली सामूहिक हो । हाम्रो विधानले यही व्यवस्था गरेको छ । लामै समयदेखि हामी यही प्रणाली अवलम्बन गर्दै आएका छौँ । सामूहिक नेतृत्व प्रणाली भनेको हरेक निर्णयलाई कमिटीगत छलफलद्वारा संस्थागत गर्ने पद्धति हो,’ उनले भनेका छन्, ‘यसले एकातिर निर्णयहरूमा कमिटी सदस्यहरूको अपनत्व स्थापित गर्दछ भने अर्कोतर्फ जिम्मेवारीको भावना पनि बढाउँछ ।’
उनले पार्टीका केही निर्णयहरूमा स्थापित मान्यता भत्किएको उल्लेख गरेका छन् । ‘अहिले हाम्रा संगठनात्मक व्यवहारतर्फ फर्केर हेर्दा हामी कता–कता यो शैलीबाट क्रमशः विमुख हुन थालेको आभाष मिल्दछ । कमिटी संख्या पनि अस्वाभाविक रूपमा ठूला छन् । जसले गर्दा सजिलोका लागि महत्वपूर्ण कुराहरू पनि पदाधिकारीको सानो समूहले टुंगो लगाउने प्रचलन व्यवहारमा देखिन थालेको छ,’ उनले भनेका छन्, ‘यसले गर्दा सामूहिक जवाफदेहिताजस्तो महत्वपूर्ण पाटो कमजोर बन्न पुगेको छ । अत : यस प्रकारका शैली र प्रवृत्तिप्रति हामी समयमै सचेत हुन जरुरी छ ।’
प्रसाईंको एमाले यात्राको सुरुवात र अन्त्य
७ कात्तिक ०७८ मा अध्यक्ष ओलीले झापामा आयोजित कार्यक्रममार्फत प्रसाईंलाई पार्टी प्रवेश गराएका थिए । जब कि त्यसअघि ललितपुरको गोदावरीमा सम्पन्न १५ देखि १७ असोज २०७८ मा सम्पन्न विधान महाधिवेशनमै उनलाई पार्टी प्रवेशअघि नै ओलीकै रुचिमा प्रतिनिधिका रूपमा सहभागी गराइएको थियो । ओलीलाई ‘हजुरबा’ सम्बोधन गर्ने गरेका प्रसाईं विधान महाधिवेशनमा ‘सेलेब्रिटी’ पात्रजस्तो बनेका थिए । तर, उनको सहभागिताबारे विधान महाधिवेशनमा प्रतिनिधिहरूले खुलेर आलोचना गरेनन् ।
नेकपा विभाजनपछि एमाले ब्युँतिएपछि उनी ओलीसँग नजिकिँदै निकट भएका थिए । विधान महाधिवेशनमा सहभागी भएको दुई महिनाकै बीचमा मंसिर पहिलो साता चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा प्रतिनिधि सहभागी भए भने २६ मंसिर ०७८ मा १० प्रतिशत मनोनीत कोटामा प्रसाईं ४३ जनासँगै केन्द्रीय सदस्य मनोनीत भएका थिए । ०७९ को निर्वाचनमा झापा ३ बाट सिफारिस भए पनि उनले टिकट पाएनन् । जहाँ एमालेले राप्रपासँग तालमेल गरेको थियो ।
टिकट नपाएपछि ओलीसँग टाढिएर एमालेलाई चुनावमा असहयोग गरेका प्रसाईंलै ७ फागुन ०७९ मा एमाले परित्याग गरेको घोषणा गरेका थिए । राजालाई लगेर अभिनन्दन कार्यक्रम गरेपछि एमालेले उनलाई साधारण सदस्य नै नरहने गरी कारबाही गरेको थियो । त्यसपछि उनी निरन्तर एमाले र नेतृत्वविरुद्ध उत्रिएका थिए । त्यसयता मूलतः ओलीको आलोचना गर्दै प्रसाईं अहिले पूर्वराजालाई पुन सक्रिय बनाएर राजतन्त्र फर्काउने अभियानमा सक्रिय छन् ।
त्यस्तै, सल्लाहकार परिषद्को प्रतिवेदनमा पार्टीका कतिपय केन्द्रीय सदस्यहरूको आचरणसँग जोडिएको प्रसंग उठाएर अर्का केन्द्रीय सदस्यको राजीनामा र मनोनयनको प्रसंगमाथि पनि गम्भीर प्रश्न उठाइएको छ । तर, नाम किटान गरिएको छैन । यद्यपि, प्रतिवेदनमा पार्टी नेताहरूको आचरणसँग जोडिएको विषयलाई जोडतोडका साथ उठाइएको छ ।
‘नेपाली राजनीतिमा बढिरहेको विकृति र विसंगतिको प्रभाव हाम्रो पार्टी जीवनमा पनि विभिन्न रूपमा प्रकट भइरहेको छ । खासगरी क्रान्तिकारी नैतिकता र आचरणको सवालमा अनेकौँ प्रश्न सार्वजनिक भएका छन् । यो हाम्रा निम्ति गम्भीर चुनौती हो र पार्टीप्रति अनास्था बढाउने अर्को नकारात्मक पाटो पनि हो । यसमा पनि पार्टी समयमा सचेत बन्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘हामी एकातिर संगठनात्मक क्षेत्रमा देखापरेका अराजकता नियन्त्रणको कुरा गरिरहेका छौँ भने अर्कोतिर अनुशासनहीनता बढेको छ । अराजकता भनेको यस्तै ससाना कुराबाट झांगिने कुरा हुन् । तसर्थ, पार्टीले आफ्ना पंक्तिलाई नैतिकवान, आचरणयुक्त, स्वच्छ एवं कम्युनिस्ट आदर्शअनुरूप अघि बढाउन अनुशासनको सवालमा कडाइ गर्दै वैचारिक शिक्षाको माध्यमद्वारा पार्टी सदस्यहरूलाई जगदेखि नै सचेत पारिनुपर्दछ ।’
पार्टीभित्र तडकभडक र पश्चिमा संस्कृतिले प्रश्रय पाएको विषयलाई पनि सल्लाहकार परिषद्ले आलोचनाको विषय बनाएको छ । ‘सामाजिक व्यवहारहरू जस्तै जन्मदिवस, विवाह, व्रतबन्ध, मृत्युसंस्कार या राज्य र पार्टीका कार्यक्रममा ज्यादा तडकभडक देखिन थालेका छन् । चिन्ताको विषय यो घट्नेभन्दा बढ्ने प्रवृत्तितर्फ उन्मुख देखिन्छ । सादा जीवन उच्च विचारका कुरा गर्नेहरू यतिखेर समाजलाई बुझ्न नसक्ने संकीर्ण र उपहासका पात्र बन्न पुगेका छन्,’ उनको प्रतिवेदनमा छ, ‘यो प्रवृत्तिले हामीलाई कम्युनिस्ट आचरणतर्फ अघि बढाउन सक्दैन भन्ने हाम्रो निष्कर्ष रहँदै आएको छ । संस्कृति पाश्चात्यकरण भइरहेकाले जनवादीकरण गर्नुपर्छ । हाम्रो प्रचलित उखानै छ, धाराको पानी सफा राख्न त्यसको मुहानै सफा राख्नुपर्दछ । नेताहरूले सकेसम्म उदाहरण बन्न प्रतिस्पर्धा गर्नुपर्दछ ।’