राधा कृष्णको पोसाकमा सज्जिएका स-साना कृष्णभक्त। तस्बिर -विशाल श्रेष्ठ/एस ए टि भी
काठमाडौं, भदाै २० गते। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी हिन्दू धर्मालम्बीहरुले देशभर सहित विदेशमा पनि मनाउने प्रचलन रहेको छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
पाटनस्थित कृष्ण मन्दिरमा देखिएको भक्तजनको भिड। तस्बिर -विशाल श्रेष्ठ/एस ए टि भी
कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रही आएको छ । कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिएको छ ।वासुदेव नन्दका घरमा गई कृष्णलाई त्यहीँ छाडी त्यही दिन जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कौरव र पाण्डवका बीच कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए ।
एसोधाको काखमा रमाउँदै कन्हैया। तस्बिर -विशाल श्रेष्ठ/एस ए टि भी
गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिने र पूजा गरिने गरिन्छ । असुरी स्वभावका दुष्टहरूको विनाश गर्नु र साधु सन्तको रक्षा गर्न नै भगवान कृष्णको प्राकट्य भएको कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ। जुन दिन अष्टमी तिथिले मध्यरात छोएको छ, त्यसै दिन कृष्णजन्माष्टमी व्रत गर्नु उत्तम हुन्छ भन्ने कुरा पनि धर्मशास्त्रमा उल्लेख छ। भगवानको अवतारहरूमा अंशावतार, आवेशावतार, कलावतार, पूर्ण अवतार र परिपूर्णतम अवतार हुने कुरा गर्गसंहितामा उल्लेख छ। मत्स्य, कच्छप आदि अवतारलाई कलावतार, परशुराम आदिलाई आवेश अवतार मानिएको छ। परशुराम जन्मदा भगवानका अवतार थिएनन उनी ऋषिकुमार नै थिए। उनी पछि कैलाशधाममा शस्त्रास्त्र विद्या सिक्न शिवजीकहाँ गए। त्यतिबेला शिवले पार्वतीलाई रामगीता सुनाउन लागेका रहेछन् र उनले सान्निध्यमा बसेर रामगीता सुनिसकेपछि उनी नारायण अवतार भएर शिवजीबाट धनुर्विद्या ग्रहण गरी आश्रममा फर्किए पछि एक्काइस पटक पृथ्वी युद्ध गरी असुरी स्वभावका क्षत्रीय राजाहरूलाई नाश गरी धर्म स्थापना गरे।
मन्दिर दर्शन गर्न लाइन बस्नु भएका श्रद्धालु। तस्बिर -विशाल श्रेष्ठ/एस ए टि भी
पछि राम अवतारको पालामा सीतासँगको विवाहमा धनुर्भङ्गमा परशुरामको नारायण अवतार राममा सरेपछि परशुराम ऋषिकै रूपमा रहे। परशुराम चिरञ्जीवी भएकाले आज सम्म पनि जीवित नै मानिन्छन्। भगवान रामलाई पूर्ण अवतार र कृष्णलाई चाहिँ परिपूर्णतम अवतार मानिन्छ। अल्पसमयका निमित्त अल्प जीवहरूका उद्धारका लागि जो अवतार हुन्छ त्यो अंशावतार हो र अनन्त कालका लागि तथा अनन्त जीवका कल्याणका लागि जो अवतार हुन्छ त्यो पूर्ण अवतार हो। कृष्ण अवतारको बाललीलादेखि अनेकौँ अलौकिक र अद्भुत लीला नै कृष्ण अवतारको विशेषता हो। कृष्ण अवतारको मुख्य देन नै श्रीमद्भगवद्गीता हो। श्रीकृष्णले नै महाभारतको लडाईँको आरम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनको त्यो मोह छुटाउनको लागि यो पृथ्वीमा चार वेद अठार पुराणको सार गीता हो जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गर्नुभएको छ। त्यही गीता ग्रन्थ नै हाम्रो हिन्दु समाजको धरोहर हो। भगवान कृष्णले आफ्नो जन्म कर्मका विषयमा यसरी बताउनु भएको छ।