नेभिगेसन मेनु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बजेट अभाव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-01 15:26

jumla

सुर्खेत, भदौ १५ गते । डाक्टर उत्पादन गर्ने प्रदेशकै एक मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आर्थिक अभाव झेलिरहेको छ । बजेट अभावका कारण आवश्यक भौतिक संरचना र पूर्वाधार निर्माण हुन सकेको छैन । कतिपय संरचना अलपत्र अवस्थामा छन् ।

पर्याप्त भवन नहुँदा भाडामा भवन प्रयोग गर्नुपरेको छ भने १४ वटा घर भाडामा लिएर प्रतिष्ठान सञ्चालन भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजीव शाहले जानकारी दिनुभयो । भवन निर्माणका लागि करिब पाँच सय रोपनी जग्गा प्रतिष्ठानको नाममा भए पनि आर्थिक अभावकै कारण काम अघि बढेको छैन । भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिएको तीन वर्ष बितिसकेको छ । तर कहिले बन्ने टुङ्गो छैन ।

प्रतिष्ठानलाई आवश्यक अन्य संरचना थप्न पनि बजेट अभाव भएको छ । जुम्लाको चेरे चौरमा शैक्षिक भवन, कलेज, होस्टेल, स्टाफ क्वार्टर, प्रशासनिक भवन, आवासीय भवन, स्पोर्ट अडिटोरियम लगायतका पूर्वाधार निर्माणका निम्ति झण्डै साढे ६ अर्ब बजेट आवश्यक पर्ने देखिएको छ । तर बजेट अभावका कारण उक्त योजना पनि अलपत्र परेको छ । निर्देशक डा. शाहले पूर्वाधार अभावका बीच प्रतिष्ठानले विशेषज्ञ सेवा दिइरहेको बताउनुभयो । सरकारको प्राथमिकता नपर्दा प्रतिष्ठानले अपेक्षित फड्को मार्न नसकेको उहाँको भनाइ छ । जुम्लामै डाक्टर उत्पादन भइरहेको बताउँदै उहाँले बजेट अभावले पूर्वाधार पर्याप्त नभएको जानकारी दिनुभयो । 

शाहले प्रतिष्ठानको औचित्यलाई बुझ्दै सङ्घीय सरकारले लगानी बढाउनुपर्नेमा समेत जोड दिनुभएको छ । सङ्घीय सरकारले उपेक्षा गरेको प्रतिष्ठान कर्णाली प्रदेश सरकारको पनि प्राथमिकतामा पर्न सकेको छैन । “प्रदेशकै जनताले सेवा लिइरहँदा पनि प्रदेश सरकार बेखबरजस्तै बनेको छ”, निर्देशक शाह भन्नुहुन्छ्, “सङ्घीय सरकार अन्तर्गतको अस्पताल भनेर प्रदेश सरकार बजेट नियोजन गर्न पछि हट्ने गरेको छ ।” सङ्घले बजेट घटाएको र प्रदेशले पनि बेवास्ता गरेको उहाँको भनाइ छ । 

विगतमा सङ्घीय सरकारले प्रतिष्ठानका कर्मचारीहरूको पारिश्रमिकका लागि वार्षिक ४४ करोड बजेट पठाउने गरेकोमा चालु वर्षमा घटाएर २८ करोड मात्रै कायम गरेको शाहले जानकारी दिनुभयो। सेवा सुविधा बढाउनुपर्नेमा सरकारले अझै समस्यामा पार्ने काम गरेको भन्दै उहाँले जसले गर्दा प्रतिष्ठानको मनोबल घटेको बताउनुभयो । 

पर्याप्त छ जनशक्ति

भौतिक पूर्वाधार अभाव झेल्दै आएको प्रतिष्ठानमा जनशक्तिको अभाव भने छैन । प्रतिष्ठान आफैंले पनि जनशक्ति उत्पादन गरिरहेको छ । अस्पतालमा चार सय ५० जना जनशक्ति कार्यरत छन् । जसमध्ये ८९ जना विशेषज्ञ डाक्टर छन् । ३२ जना मेडिकल अधिकृत कार्यरत छन् ।

प्रतिष्ठान स्थापनापछि कर्णालीका दुर्गमका बिरामीले विशेषज्ञ सेवा पाइरहेका छन् । सुर्खेत, नेपालगञ्ज र राजधानीका ठुला अस्पतालले दिने विशेषज्ञ सेवा जुम्लामै पाउने हुँदा नागरिकलाई ठुलो राहत मिलेको छ । प्रतिष्ठानले कालीकोट जिल्ला अस्पताल, रास्कोट र तिलागुफा नगर अस्पतालमा समेत डाक्टर खटाइरहेको छ । दैलेखको राकममा स्थापना हुन लागेको ट्रमा सेन्टरका लागि पनि जनशक्ति खटाइएको छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान अन्तर्गत नै दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको काम पनि बजेट अभावमा रोकिएको छ । सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग हुँदा काम अघि बढ्न सकेको छैन।

विकटको स्वास्थ्य सेवाको परिभाषा बद्लेको प्रतिष्ठान यति बेला स्नातक तह र स्नातकोत्तर तहका जनशक्ति उत्पादनमा लागेको छ । प्रतिष्ठानमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । प्रतिष्ठानले हाल एमडी, एमएस, एमबीबीएस, बीएनएस, बीपीएच र बी फर्मालगायतका चिकित्सा शिक्षाका कार्यक्रमहरू चलाइरहेको छ । साविक कर्णालीका सबैजसो अस्पतालमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरसहित अन्य उपकरण सहयोग गरिरहेको छ । तर प्रतिष्ठान आफैं भने भौतिक पूर्वाधारको अभावमा छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर