नेभिगेसन मेनु

उडान प्रभावित हुँदा कर्णालीमा कहर
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-18 11:51

Untitled-1 (2)

मुगु, भदौ १ गते । नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागु गरेपछि कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित भएको छ। जिल्लाको विमानस्थलले उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागु भएसँगै दैनिक उडान प्रभावित भएको हो। 

नागरिक उड्डयन प्राधिकरण रारा विमानस्थल कार्यालय प्रमुख सन्तोष गौतमका अनुसार बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण दुई सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको छ। प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागु गर्दा पनि उडान प्रभावित भएको जानकारी दिएको छ।

प्राधिकरणले साउन १४ गते लागु हुने गरी आन्तरिक हवाई उडान तालिकाको समयबाहेक अन्य समयमा उडान भर्न नपाउने नियम लागु गरेको छ। बर्खाको मौसममा बिहान ११/१२ बजेसम्म मौसम बिग्रिने र १२ बजेपछि मौसममा सुधार आउने भए पनि हवाई उडानमा नयाँ नियम लागु भए अनुसार मुगुको रारा र ताल्चा विमानस्थलका लागि १२:३० बजेपछि उडान भर्न नपाउने भएका कारण समस्या देखिएको हो। 

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि यो नियम व्यावहारिक नभएको बताउनुभयो। उहाँले दुर्गम जिल्लाको बाध्यता र अवस्था नबुझेर नयाँ नियमको कार्यतालिका लागु गर्दा मुगाली बासिन्दा मर्कामा परेको बताउनुभयो। 

मुगमकार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाले उपचारका लागि जान ताल्चा विमानस्थलमा दुई सातादेखि जहाज कुरेर बसेको बताउनुभयो। उहाँले उपचारका लागि गाउँपालिकाबाट २० दिन बिदा लिएको तर बिदा जहाज कुर्दाकुर्दै बिदाको समय सकिने अवस्था आएको बताउनुभयो।

नागरिक उड्डयन प्राधिकरणले साउन १४ गतेदेखि देशका ३० वटा विमानस्थलमा दिउँसो १२ बजेपछि उडान गर्न रोक लगाउने निर्णय गरेपछि दुर्गम जिल्लामा रहेका यात्रु मर्कामा परेका छन्। बर्षातका समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले उक्त निर्णय गरेको थियो। सो निर्णयले नेपालगन्जबाट दैनिक उडान हुने डोल्पा, सिमकोट, रारा र बाजुरा जिल्लालगायत पहाडी जिल्लाका यात्रु मारमा परेका छन्।

उडान माग्दै धर्ना 

हुम्ला समाचारदाताका अनुसार नागरिक उड्डयन प्राधिकरणले (क्यान) आन्तरिकतर्फका विमानस्थलका लागि साउन १४ गतेबाट लागु गरेको हवाई उडान तालिकाविरुद्ध हुम्लामा धर्ना सुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणको सिमकोटस्थित कार्यालय अगाडि उडानको माग राख्दै धर्ना सुरु गरिएको हो। दिउँसो १२ बजेपछि उडान रोकको तालिकाले कर्णाली प्रदेशका हिमाली जिल्लाको दैनिक उडान प्रभावित भएको छ। जसका कारण जिल्लावासीले समस्या बेहोर्दै आएका छन्। 

निधारमा कालो पट्टी बाँधेर धर्ना बसेका नेपाली कांग्रेस पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले बाध्यता र आवश्यकताले धर्ना बस्नु परेको बताउनुभयो। बिहानैदेखि ११/१२ बजेसम्म मौसम नखुल्ने र त्यसपछि मौसममा सुधार आउँदा उडान तालिका सकिने भएका कारण साउन १४ गतेपछि फाट्टफुट्ट उडान मात्र हुँदै आएको छ। 

सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले आन्दोलन हुम्लावासीको रहर नभएर बाध्यता भएको बताउनुभयो। उडान प्रभावित हुँदा जिल्ला अस्पतालले उपचारका लागि अन्य अस्पताल लैजान सिफारिस गरेका चार जना बालकको निधन भएको थियो। उडान प्रभावित हुँदा लोक सेवा आयोगको परीक्षा छुटे, स्वास्थ्य उपचारलगायत कामका लागि जिल्लाबाहिर जान समस्या भएको बताइन्छ। 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको ढुवानीसमेत ठप्प भएको बताउनुभयो। धर्नामा राजनीतिक दल, पेसा, व्यवसायीलगायतको सहभागिता रहेको थियो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर