२०७३ सालमा साबिकका सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी गाविसलाई गाभेर चौरपाटी गाउँपालिका निर्माण गरिएको हो। सात वडा रहेको यो गाउँपालिका १८२.१६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। डोटीबाट अछाम र बाजुरा प्रवेशको मुख्य नाका चौखुट्टे यही गाउँपालिका पर्दछ। २०७८ सालको जनगणना अनुसार यस पालिकामा २१ हजार ६२१ जनसङ्ख्या रहेको छ। साक्षरता प्रतिशत ७०.२५ प्रतिशत छ। नेपाली कांग्रेस समर्थक नेपाल विद्यार्थी सङ्घ अछामका पूर्वसभापतिसमेत रहेका ४४ वर्षीय भीमबहादुर साउद दोस्रो कार्यकालका लागि पालिका अध्यक्ष निर्वाचित हुनुभएको हो। अध्यक्ष साउदसँग चौरपाटी गाउँपालिकाको विकास तथा समृद्धिका लागि भएगरेका प्रयास तथा योजनाका बारेमा गोरखापत्रका अछाम समाचारदाता शिवराज ढुङ्गानाले गर्नुभएको कुराकानी :
दोस्रो कार्यकालका लागि चौरपाटी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछिको मूल्याङ्कन कस्तो छ ?
नजिकको सरकार भएकाले धेरैले आशा, अपेक्षा गरेका हुन्छन्। गाउँपालिकाबाट आफ्नो क्षेत्र, समुदायमा केही न केही अनुदान, सहयोग, बजेट र कार्यक्रमका लागि स्थानीय रहेका हुन्छन्। प्राथमिकता र स्रोतसाधनका हिसाबले त्यसलाई पूरा गर्नुपर्ने हुन्छ। गाउँको सरकार भएकाले सानाठुला समस्यालाई हामीले नै पूरा गर्नुपर्ने जस्तो नागरिकलाई लागेको छ। हाम्रो परिधि र प्रक्रियालाई अघि बढाउन कानुन, विधि र प्रक्रियाका अनुभव लिँदै गाउँपालिकालाई समृद्धितिर लैजाने काममा गएका छौँ। गाउँपालिकाको स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सडक, विद्युत्, सुशासनका पक्षमा हामीले एक वर्ष बिताएका छौँ।
करिब डेढ वर्षमा चौरपाटी गाउँपालिकामा सम्पन्न भएका मुख्य कामहरू के के हुन् ?
जनताले निर्वाचित गराइसकेपछि स्वास्थ्य सेवा सुधारमा हाम्रो ध्यान गएको छ। त्यसमा सुत्केरीलाई घरबाट स्वास्थ्य वा थप उपचारका लागि बाहिर लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था छ। चौरमाण्डौ अस्पतालमा सुधार गरेर चौबीसै घण्टा उपाचर सेवा दिएका छौँ। सडकको स्तरोन्नति, विकास र विस्तार गरेका छौँ। दुर्गम टोलमा बिजुलीको विस्तारको काम भइरहेको छ। बाँझो जग्गालाई उब्जनी गराउन माटो परीक्षणसहित फलफूल र तरकारी खेतीका लागि काम गरिरहेका छौँ। विद्यालयका सुविधासम्पन्न भवन निर्माण, विद्यालय, शिक्षक कोटा वितरण र अनुदानका काम गरेका छौँ। लिफ्टिङबाट भए पनि खानेपानीको पहुँच पु¥याएका छौँ।
गाउँपालिकाको वडामा सचिव छैनन्, शिक्षकको चरम अभाव छ, कसरी काम चलाउनुभएको छ ?
अरूको जस्तै हाम्रोमा पनि यो समस्या छ। अहेव, अनमी पूरा भएका छन्। वडा सचिव र अन्य कर्मचारीका लागि लोक सेवालाई पत्राचार गरेर मागेका छौँ। करारका कर्मचारीबाट काम चलाइरहेका छौँ। शिक्षाको कुरा गर्दा केही स्थायी शिक्षकहरू अघिल्लो वर्षमा आइसकेका छन्। अहिले गाउँपालिकाबाट विद्यालयमा कोटा निर्धारण गरेर करार शिक्षकबाट काम गराइराखेका छौँ।
गाउँमा काम पाइँदैन भनेर युवा पलायनको समस्या छ, यसलाई रोक्न गाउँपालिकाले के गरिरहेको छ ?
गाउँपालिकाले युवा लक्षित विभिन्न किसिमका सीपमूलक तालिम दिँदै आएको छ। प्रत्येक वडाका २० जनाभन्दा महिलालाई चुरापोते र धागोको तालिम दिएका छौँ। तालिम लिएका महिलाले महिनामा १०/१५ हजार आम्दानी गरिरहनुभएको छ। केही युवालाई ड्राइभिङ तालिम, कृषि तथा व्यावसायिक काममा लाग्न प्रोत्साहन हुने गरी अनुदान सहयोग भइरहेको छ।
स्थानीय रैथाने बाली संरक्षणमा कोदोलाई ब्रान्डिङ र बजारीकरण गर्न के हुँदै छ ?
चौरपाटीमा उत्पादन भएको कोदो तराईतिर पठाएर चामलसँग साट्ने कार्यक्रम राखेका थियौँ। कोदोलाई विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा अन्तर्गत कोदोको परिकार बनाएर खुवाउने गरेका छौँ। कृषकसँग कोदो किनेर सहकारीले विद्यार्थीलाई दिवा खाजाका रूपमा ‘कोदोको पुवा’ खुवाउँदै आएका छन्। रैथाने बाली कोदो, कागुनो, बेथेलाई प्र्रोमोट गरिएको छ।
प्रदेश र सङ्घका योजना तथा कार्यक्रमसँग गाउँपालिकाको समन्वय के छ ?
प्रदेश र स्थानीय तहको बिचमा अन्तद्र्वन्द्व भएको मिडियामा आएकै छन्। यस पटक स्थानीय सरकारले सिफारिस गरेका योजनाबाहेक अरू योजना हाल्दैनौँ भनियो। आवश्यक योजना मात्र सिफारिस गर्नु भनेर प्रदेश सरकारको निर्देशन थियो। यहाँबाट हामीले प्राथमिकीकरण गरेर योजना पठायौँ। बस्तीमा पहिचान गरेका योजना आएनन्। सिफारिस नै नगरेका योजना आएका छन्। यसअघि प्रदेशबाट आएका योजनाका बारेमा कुनै जानकारी नहुने तर सम्पन्न भयो भनेर सिफारिस गर्नुपर्ने अवस्था छ।
स्थानीय तहमा अपेक्षा धेरै छन्, स्रोतसाधन कम छ। त्यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?
वास्तविक समस्या यही हो। नीति तथा कार्यक्रम बनाउनुअघि नै हामीले छलफल गर्छौं। जनताका समस्या व्यक्तिगत पनि होलान् तर टोलबस्तीको समस्यालाई पहिचान गरेर योजना निर्माण गरेका छौँ। बत्ती, खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौँ। बजेट अनुसारकै योजना प्राथमिकीकरण गरेका छौँ।
सेवा प्रवाहमा सहजता र सुशासनको क्षेत्रमा के के काम हुँदै छन् ?
गाउँपालिकाबाट प्रवाह हुने सेवामा नागरिकको सहज पहुँच र सुशासनमा चौरपाटी गाउँपालिकाले ध्यान दिएको छ। गाउँको सरकार भएकाले नागरिकलाई समयमै सहज सेवा दिनु हाम्रो कर्तव्य हो। सेवा दिन र सेवा लिन सहज होस् भनेर आधुनिक भवन निर्माण गरेका छौँ। नागरिकका हितका लागि समयमै आममाध्यमबाट सूचना प्रवाह गर्ने, वडा, सार्वजनिक स्थानमा सूचना प्रवाह गर्ने, सार्वजनिक सुनुवाइ गर्ने, सूचना अधिकारीको व्यवस्थालगायतका काम गरिरहेका छौँ।
करिब डेढ वर्षको अवधिमा कस्ता कस्ता समस्याको सामना गर्नुपर्यो ?
काम गर्दै जाँदा समस्या त आइहाल्छन्। त्यसमा पनि हरेक नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको सरकार भएकाले समस्या सानादेखि ठुला आउने गर्छन्। ती समस्याबाट भाग्नेभन्दा पनि उपयुक्त निकासको खोजीमा ध्यान दिनुपर्ने हुन्छ भन्ने मलाई लाग्छ । पहुँचको भरमा योजना लैजान खोज्नेको समस्या रहेको थियो । इन्टरनेट नहुँदा टोलमै गएर सामाजिक सुरक्षा भत्ता वितरण अवरोध भएको छ। बजेटको कमी, राजनीतिक दबाब, व्यक्तिगत योजनामा भनसुन आउँछ तर त्यस्तो काम शून्य छ।
गाउँपालिकालाई समृद्ध बनाउन तपाईंका आगामी योजना के के छन् ?
बाह्रै महिना चल्ने सडक निर्माण गर्नुपर्ने अवस्था छ। घर नजिकै प्रभावकारी स्वास्थ्य सेवा दिनुपर्ने आवश्यकता छ। सोकटमा बत्तीको पहुँच, गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने छ। पर्यटकीय क्षेत्रको प्रवर्धनका काम अगाडि बढाउनुपर्ने भएको छ । कुरीति, कुसंस्कार र विभेद अन्त्य गर्न सामाजिक जागरण ल्याउन पर्ने छ।